लघुकथासंग्रह ‘एक मुठी माटो’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । कवि एवं कथाकार सुरेन्द्रलाल भुजूको लघुकथासंग्रह ‘एक मुठी माटो’ सार्वजनिक लोकार्पण गरिएको छ । भक्तपुरमा आयोजित एक विशेष समारोहमा कथाकार किशोर पहाडीले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार पहाडीले लघुकथा आजको स्थितिमा आइपुग्नुमा त्यति बेलामा बान्की, आँखीझ्याल जस्ता साना पत्रिकाको भूमिका रहेको बताउनुभयो ।

कथाकार ध्रुव मधिकर्मीले समाजकै विषयलाई स्रष्टा भुजूले कथाको विषय बनाएको जिकिर गर्नुभयो । यस्तै, कृतिबारे बोल्दै डा.शेखरकुमार श्रेष्ठले संग्रहमा भएका स्रष्टा भुजूका कतिपय लघुकथाहरू तार्किक र मर्मस्पर्शी रहेको बताउँदै भाइरल र यो शहरको कथाजस्ता लघुकथाले हाम्रो समाजको यथार्थ चित्रलाई राम्रोसित प्रस्तुत गरेको धारणा राख्नुभयो ।

अर्का समीक्षक डा.हिमलाल श्रेष्ठले स्रष्टा सुरेन्द्रलालका लघुकथाहरूलाई सामाजिक, आर्थिक, राजनीतिक र नारी विषयमा अध्ययन गर्न सकिने बताउनुभयो । कृतिका स्रष्टा सुरेन्द्रलाल भुजूले आफूले देखेको समाजलाई लघुकथामा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।

सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला, कवि रामगोपाल आशुतोष र कथाकार महेन्द्रगोपाल कर्माचार्य लगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । सिर्जना अभियान समाजले प्रकाशित गरेको लोकार्पित कृतिमा समसामयिक विषयमा लेखिएका ४२ वटा लघुकथा संग्रहित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?