नेपाली खेलकुद परिवर्तनको अभियानमा छु-उपाध्यक्ष कोइराला

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) नेपालको सातौँ महाधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपाली खेलकुदमा आइटिएफले आफ्नो प्रभाव पार्न सफल भएकोमा प्रशंसा गर्दै उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदलाई परिवर्तनको अभियानमा अघि बढाउन परिषद् अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको छ । राखेपले धेरै चुनौतीका बाबजुद परिवर्तनको अभियान अघि बढाउने प्रयासमा छौँ । नेपाली राजनीतिले जबसम्म खेलकुदका समस्या पहिल्याउन सक्दैन तबसम्म हामीले सोचे जस्तो गरी परिवर्तन सम्भव छैन ।’

नेपाली खेलकुदको परिवर्तनका लागि परिषद्ले आफ्नो जिम्मेवारी गहन रूपमा अघि बढाएको बताउँदै एक देश एक तेक्वान्दो अभियानमा अघि बढ्नुपर्ने कुरामा जोड दिँदै उपाध्यक्ष कोइरालाले योजनासहित अघि बढ्नसमेत आग्रह गर्नुभयो ।

उपाध्यक्ष कोइरालाले राखेपका कर्मचारीहरूको पदपूर्तिका लागि ओएनएम सर्भेसमेत बुझाउने गरी तयार गरिरहेको बताउँदै भन्नुभयो, ‘ओएनएम सर्भेको प्रतिवेदन आइसकेपछि नेपाली खेलकुदमा आवश्यकताअनुसार कर्मचारीहरूको पदपूर्ति हुने मात्रै छैन नेपाली खेलकुदलाई सकारात्मक परिवर्तनको अभियानमा अघि बढाउन भूमिका खेल्नेछ ।’

आइटिएफमार्फत् नेपाली युवाहरूलाई मार्गदर्शनका लागि भूमिका खेल्न आग्रह गर्दै उपाध्यक्ष कोइरालाले त्यो अभियानका लागि नयाँ नेतृत्वले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सो अवसरमा आफ्ना भनाइ राख्दै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव अञ्जन धमलाले तेक्वान्दो जीवनको अभिन्न अंगका रूपमा रहेको उल्लेख गर्दै आइटिएफले खेलकुदसँगै विभिन्न सामाजिक अभियानमा आफूलाई अग्रपंक्तिमा उभ्याएको दाबी गर्नुभयो ।

अधिवेशनमा ५५ जिल्ला र सात प्रदेशका गरी १६० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । अधिवेशनले आइटिएफ नेपालको नयाँ नेतृत्व चयनसमेत गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?