बीपीको साहित्यमा नारीको गरिमा

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ चन्द्रकान्त आचार्य

‘नरेन्द्र दाइ’ का मुनरिया र गौरी
मुनरिया मलाई आफ्नो साख्य बनाएर दिनप्रतिदिन मसँग एकान्तमा उघ्रिँदै गई, घाउको पाप्रो केट्याएको जस्तै पहिलेका कुरा सम्झिँंदै मलाई भन्न थाली-मुटुमा अड्न नसकेर पोखिएका कुरा, सम्झनाका राशिबाट झरेका आफ्ना व्यक्तिगत गोपनीय अनुभवका कुराहरू ।
उसले भन्न थाली-‘म गाउँको एउटा अकिञ्चन परिवारकी नारी, जुन परिवारमा एउटा चिरकालका रोगी पितामात्र थिए । सानी केटी नै छँदा, जसको राम्रो सम्झना पनि मलाई छैन, मेरो चुमौन भएको थियो । तर त्यतिका वर्षसम्म मेरो द्विरागमन भएको थिएन । त्यस दरिद्र वातावरणमा हुर्किदै गएको मेरो शरीरमा यौवन पनि आयो, उसको मलाई अभ्याससम्म थिएन । तपाईंहरूकै त दासी भएर दुई छाक खान पाउँथेँ र रोगी बाबुको मुखमा पनि माड लाउन पाउँथेँ, सानो बाबू ! नरेन्द्रको प्रेम आग्रहलाई मैले टारिनँ, त्यही मेरो दोष हो । तर कसले सक्थ्यो त्यसलाई टार्न मेरो स्थितिमा ? जमिनदार कुमारको एकनासको प्रणयहठले गरिब दासीमाथि सम्पूर्णरूपले विजय प्राप्त गर्न सक्थ्यो भने आश्चर्य के ? म आफूभन्दा बलियो हुन सकिन भनेर तिमी मलाई दोष किन दिन्छौं ?

तर एक दिन मैले उसलाई सोधी नै हालेँ । मेरो पनि एकदम अप्रासंगिक प्रश्न थियो-उसको जीवनमा घटेका साना साना कुराहरूको वर्णनजस्तो । मैले सोधें-‘मुनरिया, तिमीले गौरीको कहिल्यै पनि विचार गरिनौं ?’

मुनरियाले आँसु पुछेर भनी-‘आएन बाबू ! आएन । आओस् पनि किन ? तिनताका म केवल दुई स्थितिमा रहन्थेँ । सबै कुरा बिर्सेर या त नरेन्द्रसँग एकान्त खोज्दै झ्याम्म परेको अध्यारो बगैँचा, गाउँको टाढा नदीको एक्लो तीर अथवा कुनै त्यस्तै निर्जनस्थलमा विवाहर गरी हिँड्थेँ वा घर काजमा लाग्नुपर्दा ती सुखका घडीको सम्झनामा डुबेर अथवा भोलिको रमाइलो हिँड्डुल गर्ने कल्पनामा रंगमगिएर काम गरिरहन्थेँ,.... ।’

रुग्ण अवस्थामा गौरीसँग बस्न आएको नरेन्द्रले उसको मनको सुन्दरता भेटायो । यस अवस्थामा मुनरियाले गौरीको कुनै वस्तु आफूले नखोसेको दाबी गर्न उपयुक्त हुन्छ र ? आफ्नो पति उसलाई लिन आएको बेलामा ऊसँग मुनरिया घर गएकी भए नरेन्द्रले घर छाड्ने थिएन ।

उसले कुराको सिलसिला कायम राख्दै भनी-‘तिमी पनि आफ्नो निर्दोषतामा मसँग गौरीको पक्ष लिएर सोध्छौ, गौरीलाई मैले किन सोंचिन ? तिमीजस्तै सारा समाजले उसको पक्ष लिएको छ । सबै भन्छन्-हाई गौरी ! के कसैले मलाई पनि सम्झेको छ ? के कसैले मेराप्रति पनि करुणाको आँसु झिक्ला र भन्ला ‘हाई मुनरिया !’ गौरीको कुन वस्तु मबाट खोसियो र ? प्रेम ? नरेन्द्रको ? त्यो त उसले कहिल्यै पनि पाइन । मैले पाएको नरेन्द्रको प्रेम त मेरो स्वत्त हो, मेरो निजको सम्पत्ति, स्त्रीधन । ..... गौरी त कति भाग्यमानी, साराका सारा सहानुभूति, समवेदना कुनै महिमामण्डित महिषीजस्ती उनको चरणमा न्यौछावर भइरहृयो ।

उनी देवी भएर बसिन् समाजको उच्च स्थानमा फोस्सामा पाएको अपुतालीजस्तो । मैले भने जंगलकी हरिणीजस्ती ब्याधाको वाणबाट जोगिदै अँध्यारोमा लुकी लुकी हिँड्नुपर्ने । नरेन्द्र र मेरो प्रेमले उनलाई मानवीबाट देवी बनायो, मलाई चाहिँ मानवीबाट पशु । प्रेमको कुरा तिमी बुझ्दैँनौ बाबू, तिमी साना छौं । मेरो मर्मले तिमीलाई छुँदैन ...।’
यता गौरीले लामो चिठी लेखिन् सानो बाबूलाईः
... तिम्रो पत्र पाउँदा मलाई बडो खुशी लाग्यो । तिमीसँगै भेट भएजस्तो भयो । तीन वर्षजति भयो तिमीले हामीलाई छाडेर गएको । गाउँको के हालखबर लेखूँ ? यसपालि कोशीको बाढीले धेरै घर बगाएर लग्यो, खेतहरूमा बालुवा थुपारेर गयो । धेरैले गाउँबाट बसाइँ सारे । तिम्रा पिताजी र आमा पनि बेतिया जानुभयो, तिमीलाई उहाँहरूले लेखेकै होला । कप्तान्नी आमा पोहोर स्वर्गे हुनुभयो । यो घरमा म एक्लै भएँ । कतै जान मन लागेन, गइन । गाउँमा तिमीले चिनेको कोही छैन । फगुनी आफ्नो घर गई, उसको बाबु लेलहा आफ्नो घरमा एक्लै छ । मुनरियाको बाबु म¥यो । भटना, छुतहरू बजारमा काम पाइन्छ भनेर गएका उतै हराए, गाउँ आउँदैनन् । सान्नानीको चिठी मलाई आउँदैन । उसलाई घरमा सञ्चै होला । आँपका बगैंचाहरू सबै सुके । कति त कोशीको भासमा बगेर गए । चिलौनीधारको ठूलो रूख ढल्यो र धारमा धेरै टाढासम्म बगेर गयो ।”

त्यसपछि उनले नरेन्द्रका कुरा लेखेकी थिइन् बडो विस्तारपूर्वक-उहाँ आजकल यहीँ हुनुहुन्छ मसँगै, सोंच्दै नसोंचेको सुखलाई मैले भेठ्ठाएँ, एक साँझ ।....
ढोका उघारेर हेर्दा आगनमा एउटा बयलगाडी उभ्भिरहेको थियो, गोरुहरू गाडीमा जोत्तिएकै थिए । बयलवान बोलाइरहेको थियो–माल्किनी !
मैले भनेँ-को ?
उसले भन्यो-बाबु आएका छन् ।
मैले सोधेँ-को बाबू ?
बयलवानले उत्तर दिनुभन्दा पहिले नै बयलगाडीबाट एउटा मानिस बडो सावधानीसँग उœयो । एउटा बर्कोले उसको सारा शरीर ढाकेको थियो । बयलगाडीमा उसको एउटा छालाको बाकस र गुन्टा थियो ।

मनिर आएर उभ्भिँदा पो त मैले झल्याँस्स चिनेँ, उहाँ हुनुहुँदो रहेछ-तिम्रो नरेन्द्र दाइ ।... उहाँले भन्नुभयो-गौरी, म आएँ, चिनिनौ मलाई ? मैले हड्बडाएर सारीको आँचल शिरमा राखेर घुँडा टेक्दै उहाँको पाउमा शिर राखिदिएँ उहाँले हत्पताएर भन्नुभयो-यो के गरेकी ?
मैले उठेर मनमनै आफूलाई भनेँ-अहो, मेरो भाग्य ! त्यसपछि वहाँलाई सम्बोधन गर्दै भनें-आफ्नो घरमा प्रवेश गरिबक्सियोस् । उहाँ कोठाभित्र आउनुभयो । मैले भनें-‘कस्तो अनुहार भएको, कति दुब्लाएको ?’ उहाँले भन्नुभयो-‘गौरी, म रोगी छु, क्षयले पीडित’
हाय ! कस्तो कडा रोग लागेछ ! उहाँलाई मेले भनेँ-‘आराम गरिबक्स्योस् । लामो यात्राले शरीर त्यसै गल्छ । म छिटै पानी तताएर आङ र पाउ पुछिदिन्छु र दूध उमालेर ल्याइदिन्छु ।

...गाडीवानलाई बिदा गर्दा कबुलेको आठ आनाको सट्टा मैले पाँच रुपियाँ दिएँ र भनेँ–‘म धनी भए अझ धेरै दिने थिएँ, बुढाबा, तिमीलाई थाहा छैन कत्रो श्रीसम्पत्ति मकहाँ ल्याइदियौं तिमीले !’

रातभरि उहाँलाई खोकी लागिरहृयो । विवाहनपख भने राम्ररी सुत्नुभयो । विवाहन उठेपछि उहाँले कोठाको चारैतिर हेर्नुभयो र भन्नुभयो–‘गौरी, यो कोठामा म कहिल्यै पनि आएको थिइनँ, हगि ? थाहा नै थिएन यस्तो राम्रो, सिनित्त परेको यो एउटा कोठामात्र छ हाम्रो घरमा भनेर मलाई ! कति राम्रो, कति सुग्घर ! छानामा चँदुवा पनि टाँगेको रहेछ, बिछ््यौना पनि कति सफा !’ एक-एक गरेर जहाँ-जहाँ वहाँका आँखा परे, ती सबैलाई राम्रो र सुग्घर भन्नुभयो । फेरि एकैछिनपछि भन्नुभयो–‘गौरी, म बडो आरामसँग सुतेँ, यसरी भुसुक्क भएर धेरै भयो म नसुतेको । धीत पुगुन्ज्याल सुतेँ । तिमी कहाँ सुत्यौ नि गौरी ?’
मैले भनेँ-त्यहीँ बाहिरपट्टि भान्साघरमा ।

उहाँले भन्नुभयो-किन त्यहाँ गएकी ? यहीँ कोठामा किन नसुतेकी गौरी ?
सानो बाबु भन्छन्-चिठी लामा लामा हुन्थे र धेरै चिठी लेखिन् उनले । यौटा चिठीको कुरा यस्तो छ :
...उहाँले भन्नुभयो-‘गौरी, मेरो नजिकै बस न ।’ नजिक नै त म बस्थेँ नि तर त्यसरी आग्रह गरेर बोलाउँदा मलाई अप्ठ्यारो लाग्यो । उहाँले भन्नुभयो मलाई आफूसँग नजिकै टाँसेर-‘गौरी !’ मैले बिस्तारै भनेँ- ‘हजुर !’ उहाँले भन्नुभयो-‘तिमी मलाई ‘तिमी’ किन भन्दिनौ ? हजुर त टाढाको सम्बोधन हो ।

सानो बाबु, साना-साना कुरामा जीवनका कत्रा–कत्रा सुख अडेर बसेका हुँदा रहेछन् । लाजले मुख छोपेर केवल मैले सानो स्वरमा दुई अक्षर भनेकी थिएँ -‘ति मी’ । त्यत्तिमा लाग्यो, मैले स्वर्गको सुख पाएँ । लाग्यो, हठात् म प्रेयसी भएँ पुरुषको प्रेमस्पर्शले कम्पित भएकी एउटी युवती नारी...।

अब हामी पाठकहरू गौरीका यी भावनासँग मुनरियाले भनेको कुराको विश्लेषण गरौं :
‘गौरीको कुन वस्तु मबाट खोसियो र ? प्रेम ? नरेन्द्रको ? त्यो त उसले कहिल्यै पनि पाइन । मैले पाएको नरेन्द्रको प्रेम त मेरो स्वत्त हो, मेरो निजको सम्पत्ति, स्त्रीधन ।’

नरेन्द्र आफ्नी पत्नीको शारीरिक बनोटप्रति असन्तुष्ट भएर कामवासना तृप्तिको लागि यौवनले सुसज्जित मुनरियाको तन्दुरुस्त शरीरप्रति आकर्षित भएको मात्र थियो, त्यसैमा ऊ रंगमगिएकी हो । अन्यथा दिगो प्रेम भए अन्तिम बेलासम्म नरेन्द्रले उसलाई छाड्ने थिएन र उसले पनि नरेन्द्रलाई गौरीकहाँ पठाउने थिइन । त्यसैले ‘नरेन्द्रको प्रेम त मेरो स्वत्त हो, मेरो निजको सम्पत्ति’ भनेर मुनरियाले गर्व गर्नु र यस कुरालाई साहित्यकारहरूले ठाउँ ठाउँमा उद्धृत गर्नु सही विश्लेषण होइन । प्रेमको लागि तनको सुन्दरताले मात्र पुग्दैन मनको सुन्दरता झन् अपरिहार्य छ ।

रुग्ण अवस्थामा गौरीसँग बस्न आएको नरेन्द्रले उसको मनको सुन्दरता भेटायो । यस अवस्थामा मुनरियाले गौरीको कुनै वस्तु आपूmले नखोसेको दाबी गर्न उपयुक्त हुन्छ र ? आफ्नो पति उसलाई लिन आएको बेलामा ऊसँग मुनरिया घर गएकी भए नरेन्द्रले घर छाड्ने थिएन र पत्नीको मनको सुन्दरता समयमा नै देख्न सक्थ्यो होला । तर सबै कुरा बिर्सेर नरेन्द्रसँग एकान्त खोज्दै हिँड्ने धुनमा ऊ घरबाट भागेर हिँडी । ‘त्यसैले सबै भन्छन्-हाइ गौरी ! के कसैले मलाई पनि सम्झेको छ ? के कसैले मेराप्रति पनि करुणाको आँसु झिक्ला र भन्ला ‘हाइ मुनरिया !’ भनेर उसले सहानुभूतिको आशा राख्नु उल्टो परिकल्पना हो ।

कथानकको अन्तमा सानो बाबु युवक भएर गाउँ पुग्दछ र गाउँको सबै दृश्य परिवर्तित भएकोमा अचम्म पर्दछ ।
गाडीवानले भन्यो-‘कोशीको उत्पात दुई वर्षदेखि यसै ठाउँमा मच्चिइरहेको छ । गाउँका गाउँ उजाड भए, औलो र अरू महामारीले धेरै मानिस सखाप भए ।’

मैले देखेँ बडो उदास दृश्य चारैतिर । कहाँ छन् ती ठाउँ जहाँ सान्नानीसँग म दिनदिनभरि चहार्दै हिड्थेँ-काँचो फल टिप्दै, नांगो भएर नुहाउँदै, गोठालाहरूसँग डण्डी-बियो खेल्दै । खोइ गोसाइथान ? खोइ नजरियाको पसल ? खोइ पोखरी ? खोइ आँपका बगैँचाहरू ? खोइ गाउँ ?
गाडीवानले भन्यो-‘गाउँ अब कहाँ बँचेको छ र यहाँ ? त्यहीँ दुई तीन छाप्रा त हुन् नि !’

त्यस घरबाट जुन नारी हाम्रो पुकारमा निस्किन्, तिनलाई देख्दा म एकाएक स्तब्ध भएँ । त्यत्रो विश्वव्यापी विराट् क्षयको मध्यमा एउटा अदुभूत रूप र तेज लिएर उभिएकी थिइन् मेरा अगाडि गौरी । उनको उही पुरानो तेजोमय अनुहार झन् बढी आभायुक्त भएको, तेजले टलक्क टल्केको । प्रशस्त ललाटमा एउटा ठूलो टीका र सिउँदोमा एउटा सिन्दुरको रेखा ।....उनले मेरो अगाडि आएर भनिन्-को सानो बाबू ?
मैले सोध्ने आवश्यकता नै परेन । त्यो सानो घरमा प्रवेश गर्दा नगर्दै मैले थाहा पाइहालें-नरेन्द्र दाइ छैनन् अब ।

गौरीले भनिन्-‘उनी सदाका लागि मलाई प्रेम दिएर गए, हो सानो बाबू, मरेनन् । ममा आएर बसे सदा सदाका लागि मलाई सौभाग्यवती बनाएर । त्यसैले त हो नि अरूले कतिभन्दा पनि मैले चुरा फोरिनँ, सिउँदोको सिन्दूर पुछिनँ । ’

भोलिपल्टै जुन बयलगाडीमा गुन्टा राखेर म आएको थिएँ त्यसैमा उनको एउटा पोको थपेर हामी फेरि स्टेशन आयौं । उनले गाउँतिर फर्केर हात जोड्दै भनिन्-‘हे पुण्यभूमि कौशिकादेश, म तिमीसँग बिदा लिन्छु । स्वामीलाई म आफैंसँग लिएर जाँदैछु । तिम्रो आश्रयमा यति दिनसम्म बसें आज विदा देउ, कोशी नदी, हे जननी माता !’

उनलाई माइतीमा पुर्‍याएर म काशी फर्कें । एक दिन खबर आयो, ९० सालको भुइँचालोमा गौरी घरभित्रै थिइन् रे, त्यही किचिइन् रे ....
यता बनारसमा भने यौटा भाँडा पसले जौहारीकी पत्नीा धनी महिलाको रूपमा देखिई मुनरिया, तर उसले आफू चिनिन खोजिन ।
म निसास्सिएको जस्तो भएँ । खुला हावामा सास लिन पाइएला भनेर पन्चगङ्गा घाटमा आएँ । दिउँसोको बेला थियो । फागुनकी गंगा क्षीण धारामा बगिरहेकी थिइन्...... सारा कुरा कस्ता निस्सार ! पारिको बालुवालाई बीचबीचमा भुमरी हावाले उठाउँदै त्यसलाई केही माथिसम्म पु¥याएर फेरि झाथ्र्यो । जीवन कस्तो अर्थहीन ?

लाग्थ्यो कोशीको तटमा बालुवाको राशीमाथि नरेन्द्र, गौरी र मुनरियाले एउटा खेलाँचीमा त्रिभुजको आकार अंगित गरे । नियतिको एउटा सानो प्फुमा त्रिभुज विलीन भयो । बालुवाको निर्दोष राशि निद्र्वन्द्वतामा शून्यलाई चियाएर बसिरहेको छ आजसम्म पनि बसिरहेको छ ..। क्रमशः ।

https://ehimalayatimes.com/2023/09/155083/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?