बीपी साहित्य महोत्सव

हिमालय टाइम्स
Read Time = 9 mins

नेपाली कांग्रेसको बीपी कोइरालाको जन्मजयन्तीलाई फरक प्रकारले स्मरण गरिरहेको छ । बीपीको परिचय राजनीतिमा बढी छ भने उहाँको साहित्यिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाका रूपमा स्थापित छ । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवलाई द्विअर्थी बनाउँदै तीन दिनसम्म केन्द्रीय कार्यालयमा आरम्भ भएको छ । नेपाली राजनीति र साहित्यका धरोहर विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्ती भव्यतापूर्वक मनाउनु निश्चय पनि सुन्दर पक्ष हो । त्यसमा पनि यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बीपीको राष्ट्रिय मेलमिलापको विषय राखेर जन्मजयन्ती मनाउनु सुनमा सुगन्ध नै हो । बीपी जस्तो प्रतिभा सम्पूर्ण नेपालीको धरोहर हो भन्ने बुझाउन समय लाग्ला तर उहाँका विचार र कृति दीर्घकालसम्म सबैका लागि विचारणीय हुनेमा सन्देह छैन ।

विसं १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला नेपाली राजनीतिको मियो बनेर रहनुभएको छ । २००१ सालदेखि सक्रिय बीपीको राजनीतिक जीवन प्रथम चरणमा कठोर जेलमा बित्यो, दोस्रो चरणमा क्रान्ति सफल भयो भने बीचको केही समय संगठनमा र डेढ वर्ष शासकीय स्थानमा उहाँको योगदान रहृयो । तर, २०१७ पछि पहिलो चरणमा कठोर जेल, दोस्रो चरण निर्वासन र सशस्त्र आन्दोलन, तेस्रो चरण राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादनसहित स्वदेश आगमन । अर्थात् उहाँले राष्ट्रका लागि नीतिगत निर्णय गर्ने अवसर र कार्यान्वयन गर्ने अवसर अत्यन्त कम पाउनु भए पनि राष्ट्रियता, लोकतन्त्र र समाजवादको प्रथम नेपाली भाष्यकारका रूपमा बीपीको योगदान सदा स्मरणीय बनेको छ । पार्थिव अवसानको ४१ वर्ष बितिसक्दा पनि उहाँको विचार, सिद्धान्त र उहाँले छोड्नुभएका राजनीतिक तथा साहित्यिक लेखनले कुनै न कुनै रूपमा नेपाली समाज प्रभावित भइरहेको छ । राजनीतिको कुरालाई एक छिन् एकातिर राखेर हेर्ने हो भने उहाँका साहित्यले पनि नेपाली समाजमा राम्ररी प्रभाव छोड्न सकेको छ ।

सामान्यतया साहित्यले बौद्धिक वर्गमात्र प्रभावित र लाभान्वित बन्छ । तर, जसरी आदिकवि भानुभक्त आचार्यको रामायण, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी, पण्डित जगन्नाथ गुरागाईको गुणरत्नमालाले नेपाली समाजलाई प्रभावित पारी मार्गदर्शन गरेको छ त्यसरी नै बीपीले आफ्नो सशक्तः साहित्यि सिर्जनाले नेपाली समाजलाई डोहोर्‍याउन सक्नुभएको छ । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने सन्देश उहाँको मोदिआइन उपन्यासको भावार्थ हो । यो उपन्यास सबैले पढेका नहोलान् तर यसको सन्देशबाट नेपाली समाज राम्ररी प्रभावित छ । जन्मदिन मनाउँदा आफ्ना प्रियजन विशेषगरी छोराछोरीलाई बाबुआमाले ठूलो मानिस होइन असल मानिस बन्नू भनेर आशीर्वाद दिएको सामाजिक सञ्जालहरूमा प्रसस्त देख्न पाइन्छ । यो बीपी कोइरालाको साहित्यको प्रभाव हो ।

बीपीले विशेषगरी आख्यानमा कलम चलाउनुभयो । कथा र उपन्यासहरू नै उहाँको लेखनको अग्रस्थानमा छन् । ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’ दुई कथासंग्रह र ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘मोदिआइन’ र ‘बाबु, आमा र छोरा’ छ वटा उपन्यास लेख्नुभएका उहाँका यी आठवटा आख्यानका पुस्तक नेपाली साहित्यका महान् उपलब्धि हुन् । विश्वप्रसिद्ध यौनमनोवैज्ञानिक लेखक सिग्मन्ड फ्रायड, एडलर र युङबाट प्रभावित उहाँ म साहित्यमा अराजकतावादी हुँ भन्ने गर्नुहुन्थ्यो । उहाँले यौनमनोविज्ञानमा म फ्राइडभन्दा एक हात अगाडि छु पनि भन्नुभएको थियो । उहाँको ‘दोषी चश्मा’ बाहेक सबैजसो कृतिहरू बन्दी जीवनमा लेखिएका हुन् र प्रकाशन पनि धेरैजसो उहाँको निधनपछि मात्र भए ।

पञ्चायती व्यवस्थाले राजनीतिको सारथीका रूपमा स्वीकारेर उहाँबाट धेरै कुरा सिक्नुपथ्र्यो तर त्यसो हुन सकेन । उहाँले २०१६ सालमा आपूm प्रधानमन्त्री छँदा बनाएका नीतिहरूलाई भने बिस्तारै लागू गर्दै गयो । भूमिसुधार ऐन यसको एउटा उदाहरण हो । साहित्यमा पनि बिपीलाई पञ्चायतले पाखामै राख्यो । तर, प्रजातन्त्रपछि भने उहाँका रचनाले विभिन्न स्तरका पाठ्यपुस्तकहरूमा समावेश हुने मौका पाएका छन् । पञ्चायत कालभरि साझा प्रकाशनले बीपीको नाम लिनसमेत चाहेन तर प्रजातन्त्र आउनासाथ उहाँका कृति प्रकाशनको एकाधिकार आफूले लिन चाहृयो । यसबाट प्रष्ट हुन्छ उहाँको साहित्यको महत्व । पञ्चायतमा साझा तथा प्रज्ञाप्रतिष्ठानहरू राजनीतिक नियन्त्रणमा थिए तर स्वतन्त्र भएपछि तिनले उहाँको साहित्यको महत्व बुझेर आफूले त्यसको दायित्व लिन चाहे ।

नेपाली कांग्रेसले आफ्ना अभिभावकको योगदानलाई सम्झना र सम्मान गर्दै यस वर्ष उहाँको जन्मजयन्ती सन्दर्भमा बीपी स्मृति भवन सानेपामा भव्यताका साथ तीन दिने साहित्यिक महोत्सव गर्न लागेको बताएको छ । हिजो भदौ २४ गते उहाँको जन्मदिनलाई केन्द्रमा राखेर गरिँदै गरेको यस महोत्सवमा विभिन्न विद्वानबाट उहाँसम्बन्धी कार्यपत्र पेश गर्ने र तीमाथि छलफल गर्ने कार्य भइरहेको छ । यसैगरी नेपाली कांग्रेस पार्टी र अन्य पार्टीका समेत शीर्ष नेताहरूबाट बीपीसम्बन्धी वक्तव्य, साहित्यकारहरूबाट कविता बाचन तथा साँझमा दीप प्रज्ज्वलन गर्ने जस्ता कार्यक्रम पार्टीले राखेको छ । नेपाली साहित्य तथा राजनीति दुवै क्षेत्रमा समान लोकप्रियता हासिल गरेको एउटा व्यक्तित्व बीपीमात्रै हुनुहुन्छभन्दा अन्यथा नहोला ।

अझै भन्ने हो भने बीपी नेपाली साहित्य र राजनीतिको साझा व्यक्तित्व हुनुहुन्छभन्दा फरक पर्दैन । किनभने, नेपाली राजनीतिमा जस जसले जुन जुन पार्टीमा रहेर राजनीति गर्नुभएको भए तापनि सुरुमा उहाँहरू सबैले बीपीको सान्निध्यमा रहेर नेपाली कांग्रेसबाटै राजनीति सिक्नुभएको थियो । आफ्ना अग्रज र संस्थापक नेता जो राजनीतिका साथै साहित्यमा समेत अग्रस्थानमा रहनुभयो उहाँको जन्मदिनको सन्दर्भ पारी नेपाली कांग्रेसले यस प्रकारको महोत्सव आयोजना गरेको यो पहिलो पटक हो । यो महोत्सवको आयोजना गर्ने नेपाली कांग्रेस पार्टी, सहभागिता जनाउने विभिन्न पार्टीका नेताहरू, नेपाली लेखक संघलगायत सम्पूर्ण लेखक सहित्यकारहरू प्रशंसायोग्य छन् । महोत्सव सफल होस् शुभ कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?