श्रम आप्रवासन विषयमा १३ देशसँग छलफल गर्दै प्रधानमन्त्री

रमेश भारती
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने विषयमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सोमबारदेखि प्रधानमन्त्री कार्यालयमा श्रम आप्रवासनसम्बन्धी समस्या र सोसँग सम्बन्धित विषय सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुख र राजदूत सहभागी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणाको प्रस्तुति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले गर्नुभएको छ । श्रम सचिव भण्डारीले प्रस्तुत गरेको अवधारणापत्रमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति, विप्रेषण, द्विपक्षीय श्रम सम्झौता र समझदारी, श्रम बजार र आप्रवासनसम्बन्धी वर्तमान अवस्था, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, राहत, उद्धार र कल्याणकारी कार्य सञ्चालन, कानुन प्रतिरक्षाको अवस्था, श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, संस्थागत व्यवस्था र श्रम सहचारीको अवस्था, दक्षिण कोरियाको ई-७ भिसा विशेष र जापानको निर्दिष्ट सीपयुक्त कामदारसम्बन्धी अवस्था लगायतका विषय समेटिएको छ ।

त्यस्तै, सरकार सरकारबीचको सम्झौताबाट श्रमिक आपूर्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता, अभिलेख नभएका श्रम आप्रवासीको अभिलेख, घरेलु कामदारसम्बन्धी सवाल, विशिष्टीकृत श्रम, सीप, तालिम र भाषा विशेषको परीक्षणबारे, परामर्शदाताको अधिकतम सेवा शुल्क, विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट भित्र्याउने, शैक्षिक परामर्श र ट्राभल एजेन्सीमार्फत विदेशिने समस्या, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावना, अपेक्षित उपलब्धि लगायतका विषय पनि समेटिएका छन् ।

साथै नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको समस्या र समाधानका विकल्प प्रस्तुत गरिएको छ । अवधारणापत्रमा श्रम आप्रवासनका प्रमुख देश कतार, मलेसिया, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान र रोमनिया रहेको उल्लेख छ ।
अन्तरक्रियमा नेपाली राजदूतहरू जापान दुर्गाप्रसाद सुवेदी, जर्मनीका रामकाजी खड्का, मलेसियाका डिल्लीराज पौडेल, अष्ट्रियाका भरत गौतम, ओमानका डोरनाथ अर्याल, दक्षिण कोरियाका ज्योति प्याकुरेल, कतारका नरेशविक्रम ढकाल, बहराइनका तीर्थराज वाग्ले, पाकिस्तानका तापस अधिकारी, कुवेतका घनश्याम लम्साल, युएईका तेजबहादुर क्षेत्री र साउदी अरेबियाका नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारको अवस्था र सुधार गर्न चाल्नुपर्ने कदमबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरूको उपस्थित रहेको छ ।

छलफलका मुख्य विषय
कार्यक्रममा फ्री भिसा, फ्री टिकटको अवस्था र समस्या, रोजगारी बिमा, सामाजिक सुरक्षा कोष, रोजगारीको सुनिश्चित, ई–भिसा, सिजनेवल भिसाका समस्या, मागपत्र प्रमाणीकरण, वैदेशिक रोजगारीमा हुने ठगी, जाँचबुझमा रहेका समस्या, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करी, विभिन्न देशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या र नेपाली कूटनीतिक नियोगको प्रभावकारितालगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रमा देखिएका मुख्य समस्यामा केन्द्रित भएर छलफल भएको श्रममन्त्री शरद्सिंह भण्डारीले हिमालय टाइम्सलाई बताउनुभयो । मन्त्री भण्डारीका अनुसार अहिले वैदेशिक रोजगारी क्षेत्रमा विभिन्न भिसाका नाममा विकृति भइरहेको छ । यो समस्या सामान्य देखिए पनि चुनौती बन्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?