पटेला स्मार्ट सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को गाउँमा भइरहेको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिलातर्फ पटेला स्मार्ट क्लब सेमिफाइनल प्रवेश गरेको छ । न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत महिलातर्फ लालझाडी ११ लाई फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट सेमिफाइनलमा पुगेको हो । पटेलाले लालझाडीलाई ८-० ले हराएको हो ।

पुरुषतर्फको खेलमा भने नेपाल पुलिस र सिआर सेभेन विजयी भएका छन् । नेपाल पुलिस क्लबले कालिका युवा क्लबलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय दुवै टोलीले एक-एकको बराबरी खेलेपछि टाइब्रेकरमा नेपाल पुलिस ५-४ ले विजयी भयो । पुरुषतर्फकै अर्को खेलमा सिआर सेभेन क्लब विजयी भएको छ । सिआर सेभेनले जनजागृति युवा क्लबलाई २-१ ले हरायो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २५ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै, महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा कैलारी गाउँपालिका र सहप्रवद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । विसं २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तीजका अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?