राजधानीमा राप्रपाको बृहत् विरोध प्रदर्शन

दिल्ली सम्झौताको भरिया हुन छाडेर राजसंस्थालाई स्वीकार्नुस् : लिङ्देन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा बृहत् विरोधसभा तथा प्रदर्शन गरेको छ । गौहत्याको विरोधका साथै हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानविन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत विषय उठाउँदै राप्रपाले बुधबार बृहत् विरोधसभा तथा प्रदर्शन गरेको हो ।

राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरूको पनि सहभागिता रहेको प्रदर्शनमा भृकुटीमण्डपबाट सुरु भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रूपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गर्नुभएको थियो । उहाँले ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको बताउँदै अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने पनि सुझाउनुभयो ।

अध्यक्ष लिङ्देनले जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने जिकिर गर्नुभयो । देशलाई दुर्घटनामा जानबाट जोगाउन नयाँ सम्झौता गर्नुपर्ने उहाँको भनाइ थियो । ‘जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरूले सिण्डिकेटको सिकार बनाएकाले त्यसलाई उल्ट्याउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेका छन्’, उहाँले भन्नुभयो । उहाँले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै विकल्प नहुने भन्दै त्यस्तो अवस्था आउन नदिन दलहरू नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने उहाँको धारणा थियो ।

अध्यक्ष लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभयो । गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलबल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उहाँको चेतावनी थियो । उहाँले गिद्धसमेत मार्न नपाइने कानुन भएको देशमा गाई मार्छु भन्नेहरूलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको विरोधमा आफूहरू उत्रनुपरेको जिकिर गर्नुभयो ।

यस्तै, राप्रपाका प्रवक्ता एवं प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमा मुछिने सबैलाई समान कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले ललितानिवास जग्गा प्रकरणमा जोडिएका मुलुकका दुई शीर्ष नेता माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई कारबाही गर्न नसकेको भन्दै मुलुकमा सानालाई ऐन र ठूलालाई चैनको अवस्थाको अझै अन्त्य हुन नसकेको बताउनुभयो ।

भ्रष्टाचारी पक्रिएजस्तो गर्ने तर आफू निकटस्थको नाम आउँदा सरकार पछि हट्दै जाँदा मुलुकमा भ्रष्टाचारको अन्त्य नहुने उहाँको जिकिर थियो । उहाँले गौहत्या गर्नेलाई कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई आग्रह पनि गर्नुभयो । विकृतिको एउटा जड मुलुकको संघीय शासन प्रणाली पनि भएको भन्दै उहाँले यसलाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

संघीयताको सफल प्रयोग हुन नसके खारेज हुनसक्छ : खनाल
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफल रूपमा प्रयोग हुन नसके संघीयता खारेज हुनसक्ने अभिव्यक्ति दिनुभएको छ । बुधबार जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटमा उहाँले प्रयोगकै चरणमा रहेको संघीयता सफल रूपमा कार्यान्वयन नभए खारेज हुनसक्ने अभिव्यक्ति दिनुभएको हो । आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने जिकिर गर्दै उहाँले संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउनुभयो । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुनसक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?