हार्दिक श्रद्धासुमन

हिमालय टाइम्स
Read Time = 9 mins

एकैदिन देशले तीनजना आ-अफ्ना स्थान र भूमिकाका आधारमा महत्वपूर्ण व्यक्तित्वहरू गुमायो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रसिद्ध साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली र मधेस प्रदेशकी सभासद विन्दुकुमारी यादवको पार्थिव अवशान एकैदिन भयो । महिला नेतृ यादवले निश्चय पनि आफ्नो क्षेत्रमा विकास, महिला सशक्तीकरण, आफ्नो समाजलाई जागरुक र नेतृत्व विकासमा योगदान दिनुभएको छ । अल्पायुमा नै उहाँको दुःखद् निधन हुनपुग्यो । नेपाली साहित्यकाशको स्थापित सर्जक, स्थापित पत्रकार राजेन्द्र पराजुलीको पार्थिव अवशान आफैंमा अपूरणीय क्षति हो । पत्रकारिता क्षेत्रमा अत्यन्त सरल र सर्जकका रूपमा कोमल व्यक्तित्व राजेन्द्र पराजुलीका कृतिहरूमात्रै अब समाजमा जीवित हुने भए । एउटा लेखक हुनुका अनेक समस्या थिए राजेन्द्रसँग पनि । पत्रकारितालाई निर्वाहको माध्यम बनाएका राजेन्द्रले धेरै सञ्चारगृहमा घुम्नुपर्ने बाध्यता त्यसै आएको होइन । फरक सञ्चारगृहमा उहाँले रोजगारीमात्रै गर्नुभएको थिएन सिर्जनातर्फ पनि आफूलाई निरन्तर सक्रिय राख्नुभएको थियो । पत्रकारिता र साहित्य सिर्जनाको समवेत विन्दुका रूपमा करिब साठी वर्षदेखि अथक रहनु भएका राजेश्वर नेपालीलाई केही दिन पहिलेमात्रै हामीले गुमाउनुपरेको थियो । जन्म क्षेत्र जनकपुरधामलाई नै आफ्नो कर्म क्षेत्र बनाउनु भएका नेपालीको योगदानको मूल्यांकन हुन बाँकी नै छ ।

नेपालको राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो नेम्वाङ । पहिले कानुन व्यवसाय, अनि प्राध्यापन र ०४६ को राजनीतिक परिवर्तनपश्चात् पूर्णकालीन राजनीतिकर्मी । नेम्वाङका विषयमा जजसले जे भने पनि असाध्य भद्र, सदा मीठो भाषा प्रयोग गर्ने र स्पष्ट कुरा राख्ने बौद्धिक हुनुहुन्थ्यो भन्नेमा कसैको विमति रहँदैन । विमतिहरूलाई अनेक प्रिय र कठोर शब्दहरू, तर्कहरूका आधारमा समन्वय गर्ने क्षमता नेम्वाङमा थियो । जातीय आधारमा जनवादी गणतन्त्र र वैज्ञानिक समाजवादको बाटो खोज्ने माओवादी, विकसित लोकतन्त्र अर्थात् मानव अधिकार सम्पन्न लोकतन्त्रको पक्षधर नेपाली कांग्रेस, मानव अधकिार र लोकतन्त्रको बाटोबाटै मार्कसवादको यात्रा तय गर्ने एमाले, मधेसी पहिचानका नाममा क्षेत्रवादमा रमाउने मधेसी दल, राजा, धर्म र एकात्मक राज्यलाई आफ्नो विश्वासका रूपमा कार्यान्वयन गर्न खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका बीचमा रहेर नेम्वाङ जटिल भूमिकामा हुनुहुन्थ्यो । संविधानसभाबाट जनताको सार्वभौम अधिकारको प्रयोग गर्दै संविधान निर्माणको कार्यभार थियो र सेतु बन्नुपर्ने थियो सभाध्यक्षले । राजसंस्था निलम्बन गरेको अवस्था, देशमा अराजक विग्रहहरू बढिरहेको स्थिति, माओवादीका हतियारको भरोसा नदेखिएको क्षण, त्यस समयमा सुवास नेम्वाङको सामथ्र्यको परिचय मिलेको हो । अर्थात् उहाँको समन्वयकारी भूमिकाको सबैले सदा प्रशंसा गरिरहेका छन् ।

यद्यपि जनताको अभिमत संविधानमा प्रकट हुनसक्यो वा सकेन, जनताले दिएको रायहरूका कुनै पोका नफुकेको हुनाले आज पनि विवाद जीवित रहेको छ । अहिले पनि नेपालको मौलिक परिचयको अन्त्य गर्ने, स्थापित परम्परागत परिचय र देशलाई एकताको सूत्रमा जोड्ने स्थापित तत्वहरू भत्काइएको विवाद प्रशस्त सुनिन्छ । यसैकारण उहाँको भूमिकाको आलोचना फरक कोणमा निरन्तर छ । ०६३ को जनआन्दोलनको परिणामले सुवासलाई अरू केही नेताहरूकै पंक्तिमा पदीय जिम्मेदारीमा पु¥याएको थियो । उहाँको प्रतिभा र सामथ्र्यको परिचय त्यसपछि मानिसहरूले अलि बढी नै पाएका हुन् । आदिवासी जनजाति समुदायबाट अनेक योग्य र तीक्ष्णमतिका प्रतिभाहरूले जन्मलिएका छन्, नेम्वाङ पनि त्यही लहरमा देखिनुभयो ।

विद्यार्थी अवस्थादेखि साम्यवादी राजनीतिमा सक्रिय नेम्वाङ कानुन व्यवसायमा रहँदा वा प्राध्यापन हरक्षण राजनीतिको हिस्सा रहनुभयो । उहाँले आजको नेकपा एमालेको संगठन विस्तार गर्न पर्याप्त बौद्धिक लगानी गर्नुभएको छ । एमालेको सत्तापक्षका पक्षमा उहाँको अडान निरन्तर र स्थीर रहृयो । पहिले माधवकुमार नेपालको नेतृत्वका समयमा उहाँले पार्टी नेतृत्वको सोच र निर्णयको प्रबल समर्थन गर्नुभयो, त्यसपछि केपी ओलीको नेतृत्वको पक्षमा उहाँ डटेर लागिरहनु भएको थियो । पार्टीभित्र फरक वैचारिक धार निर्माण हुँदै गर्दा नेम्वाङको प्रयत्न मूल नेतृत्वको विचारपक्षमा रहेकै कारण एकप्रकारले उहाँको महत्व र भूमिका स्पष्ट हुन पायो । जनताको बहुदलीय जनवादका विपक्षमा सीपी मैनालीसहित अनेक नेताहरूले आफूलाई भिन्न विचार समूहमा राख्नुभयो, टनकपुर प्रकरणमा त पार्टी विभाजित नै भयो । तर नेम्वाङ पार्टीका निर्णयका पक्षमै रहनुभयो । दुई वर्ष पहिले माधवकुमार नेपालहरू असन्तुष्टि प्रकट गर्दै अलग पार्टी निर्माणमा जुट्नुभयो । तर नेम्वाङ ओलीको समर्थनमा इस्पातीशैलीमा उभिनुभयो । सम्भवतः दृढ समर्थनकै कारण ओलीले नेम्वाङलाई नेतृत्वको अन्तिम सिढीसम्म पु¥याउने सोच बनाउनुभएको देखिन्छ । ओलीको दृष्टिमा भविष्यका लागि पार्टी अध्यक्ष वा संसदीय दलको नेतामा नेम्वाङको तस्वीर देखिएको अनुमान गर्न सकिन्छ । तर नियतिलाई यो मन्जुर भएन ।

नेम्वाङ आलोचनारहित हुनुभएन जिम्मेदारीमा हुँदा । खासगरी ०६३ सालमा अन्तरिम संविधानको मूल पाठमा नलेखिएको धर्म निरपेक्षता थप्ने, ०७२ मा जनताको अभिमतको वेवास्ता गरी संविधान जारी गराउने कामबाट विवादित नेम्वाङ पछिल्लो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्दा ‘मौनम् सम्मति लक्षणम्’ जस्तो गरी साथ दिने काम गर्नुभएबाट थप विवादमा पर्नुभयो । तर विवादभन्दा उहाँले दिएको सकारात्मक योगदान चीरस्थायी रहनेछ । हामी शालनी, भद्र र क्रियाशील नेता नेम्वाङ, प्रदेश सांसद् यादव, वरिष्ठ पत्रकार नेपाली र होनहार साहित्यकार पराजुलीप्रति यिनै शब्दकासाथ उहाँहरूको आत्माले चिरशान्ति प्राप्त गरोस् श्रद्धासुमन अर्पण गर्दछौं । शोकविहृवल परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?