डा. गौरीशंकरलाई ‘दिव्य शताब्दी पुरुष’ उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । डा.गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित गरिएको छ । वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा.दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित गरिएको हो ।

डा.दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा उक्त उपाधि घोषणा गरिएको हो । सिरहामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेसामा संलग्न डा.लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । ‘डा.गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ ।

शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि क्षेत्र नम्बर–४ का सांसद, पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा.गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जति नै गरे पनि कम हुने बताउनुभयो । थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ घोषणाका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

दिव्य शताब्दी पुरुषबाट घोषित डा.लाल दासले नागरिकस्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । पूर्वउपराष्ट्रपति परमानन्द झाले डा.लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले डा.लाल दास प्रेरणाको स्रोत भएको बताउँदै उहाँ शताब्दी पुरुषको हकदार भएको उल्लेख गर्नुभयो ।

जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिनुभयो ।

समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका-७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोवास रहेको बताउनुभयो । उहाँले डा.लाल दासको जीवनका केही महत्वपूर्ण पक्षबारे जानकारी दिनुभयो ।

समितिका कोषाध्यक्ष मोहनमणि आचार्यले १५ सदस्यीय कार्यसमिति र २९ सदस्यीय सल्लाहकार समितिका सदस्यहरूको नामावली पढेर सुनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?