६० किलो सुन प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर, तीन अर्ब ५० करोड दुई लाख बिगो

यज्ञराज पाण्डे
Read Time = 7 mins

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेस गरेको छ । जिल्ला अदालतमा सरकारी वकिलले अभियोगपत्र पेस गरेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताउनुभयो ।

त्रिभुवन विमानस्थलबाट सुन तस्करी गरेर लैजाँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ किलो सुन प्रकरणमा अनुसन्धानमा देखिएका सबै पक्षलाई समावेश गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेस गरेको हो । यस प्रकरणमा संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो ।

यसअघि, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई फाइल जिम्मा लगाएको थियो । उक्त फाइलमा अध्ययनपछि आइतबार कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन् । सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो ।

३ अर्ब ५० करोड २ लाख बिगो दाबी गरिएका २९ जना को-को हुन् ?
६० किलो ७१६ ग्राम सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष थियो । तर, कतिपय फरार व्यक्तिहरूको पहिचान नखुलेको र पक्राउ परेका व्यक्तिहरूमध्ये पनि कतिपयको संलग्नता नभएको भन्दै सिआइबीले नै मुद्दा अघि नबढाउन राय दिएको थियो ।

चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछ्याङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मी पक्राउ परेका छन् ।
यस्तै, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलीप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ र रुक्मिना सुब्बालाई प्रतिवादी बनाएको छ ।

कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार छिन् ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो । सुन रहेको सुराकको आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक सु बरामद गरेको थियो । उक्त ब्रेक सुभित्रबाट ६० किलो ७१६ ग्राम सुन बरामद भएको हो । दिलीप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक सु मगाएको थियो ।
यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ । त्यसैको आधारमा सरकारी वकिल कार्यालयले पनि कुल ३६२.७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ । ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो ।

सुन तस्करी सरकारकै संरक्षणमा छ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेर यो कुरा प्रमाणित गरेको बताउनुभएको हो । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । अध्यक्ष ओलीले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको बताउनुभयो । अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको पनि आरोप लगाउनुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रूपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?