बढ्दो अराजकता र आपराधिक कार्य

हिमालय टाइम्स
Read Time = 7 mins

समाजमा हालका दिनहरूमा अराजक मनोवृत्ति र आपराधिक कार्य बढ्दै गएका छन् । केही दिन पहिले धरानमा केही व्यक्तिहरूले गोरु काटेर खाए र राज्यलाई चुनौती दिएर त्यसलाई सामाजिक सञ्जालमा पोष्ट गरे । सक्ने भए कारबाही गर, हामीलाई पक्राउ गरेर देखा भनेर ठाडो चुनौती दिए । सरकराले पनि उनीहरूको चुनौतीलाई हेरेरमात्र बस्यो, न तिनलाई पक्राउ ग¥यो न त कानुनी कारबाही गर्‍यो । यो कानुनी राज्यको उपहास नै थियो । त्यहाँ हुन लागेको भिडन्त रोक्न प्रशासनले निषेधाज्ञाकै बाटो अपनाउनु पर्‍यो ।

अर्को ताजा घटना हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटलाई लिन सकिन्छ । यो बारम्बार दोहोरिने घटना हो । उपचार गरेपछि आफ्नो बिरामी निको भयो, सल्यचिकित्सा गर्नुपर्ने बिरामीको सल्यक्रिया सफल भयो भने डाक्टरको नाम दिएर सामाजिक सञ्जालमा उनीहरूलाई धन्यवाद दिएर पोष्ट गर्ने गरेको पनि छ । तर, बिरामी निको भएन, उसको मृत्यु भयो भने उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गर्ने, कुटपिट गर्नेजस्ता कार्य हुने गरेका छन् । ठूलाठूला हत्याका घटनाहरू पनि दोहोरिने गरेका छन् । यसको पछिल्लो शृंखलाका रूपमा काठमाडौंको गैरीगाउँमा चारजनाको सामूहिक रूपमा विभत्स हत्याको घटनालाई लिन सकिन्छ । यी सबै दृष्टान्तबाट समाजको अराजकता र आपराधिक मनस्थिति पुष्टि हुन्छ ।

नेपालका सन्दर्भमा गाई राष्ट्रिय जनावर हो र बहुसंख्यक हिन्दुहरू भएको देशमा हिन्दुहरूले देवता मानेर पूजा गरिरहेको गाई मार्नु हुँदैन भनिएको हो । यसलाई कानुनले रोक लगाएको छ । अपराध समय र स्थानअनुसार परिभाषित हुन्छ । नयाँ मुलुकी ऐन लागू हुनुअगाडिको दिनसम्म बहुविवाह र बालविवाह अपराध थिएनन् तर २०२० साल भदौ १ गतेबाट तिनै कार्य अपराधका रूपमा परिभाषित भए । नेपालमा गाई-गोरु काट्नु अपराध मानिन्छ भने अरू देशमा यही कार्य सामान्य । स्थानअनुसारको अपराधको परिभाषा गरिएका कारण नेपालमा गौहत्या अपराध हुनजान्छ । यो कार्य बर्जित छ ।

यस्तै कानुनले गर्नु हुँदैन भनेर तोकेको कार्य गर्दा त्यो अपराध मानिने गर्छ । चोरी, डकैती, लुटपाट, कुटपिट, बलात्कार, हत्या यी कानुनले नगर्नू भनेर रोकेका कार्य हुन् । त्यसैले यी अपराध हुन् । कुटपिट कसैले कसैमाथि गर्न पाउँदैन । मानव जीवन कुट्न र कुटाइ खानका लागि होइन । सेवा र सहयोगका लागि हो तर कतिपय समयमा कानुनले नगर्नू भनेका कार्य भइरहेका हुन्छन् । ती अपराध मानिएका हुन् । झन् बिरामीको उपचारमा संलग्न चिकित्सकलाई कुट्नु त ठूलै अपराध हो । हो, चिकित्सकलगायत अन्य स्वास्थ्यकर्मीका अनेकौं कमजोरी छन् । गल्ती, कमजोरी र लापरबाहीलाई फरक-फरक दृष्टिले हेर्ने हो भने पनि नजानी गरेको कार्य भुल हुन्छ ।

एक थोक गर्छुभन्दा अर्को थोक हुन पुग्यो भने कमजोरी हुन्छ भने गर्नुपर्ने काममा सावधानी नअपनाउँदा, समयमै उपचार गर्नुपर्ने बिरामीलाई उपचार नहुँदा ज्यान गएको जस्ता घटना लापरबाही हुन् । चिकित्सक पनि मानिस भएकाले उनीहरूबाट मानवीय कमजोरी हुन सक्छन् । आफ्ना मानिसमाथि लापरबाही हुँदा बिरामीका आफन्तलाई रिस उठ्छ तर त्यसका लागि कानुनी बाटो अपनाउन सकिन्छ भौतिक अक्रमण गर्नु सरासर गलत हो । हत्या-हिंसाका घटना पनि बेलाबेलामा हुने गरेका छन् । त्यस्ता घटनामध्ये केही मानसिक रोगीबाट भएका छन् कि मादक पदार्थ खाएका मानिसबाट भएका छन् । केही घटना भने आवेशप्रेरित हुन्छन् ।

त्यस्तो घटना गराउने कुनै योजना नभएका खण्डमा दोहोरो भनाभनपछि अचानकको आवेश नियन्त्रण गर्न नसकेर प्रहार गर्दा मृत्यु भएको भए त्यो आवेशप्रेरित अपराध मानिन्छ ।

गैरीगाउँ तीनकुनेमा भएको चारजनाको सामूहिक हत्या भने आवेशप्रेरित होइन भन्ने प्रमाणित भइसकेको छ । त्यो तयारी र योजनाका साथ गरेको मनसाय प्रेरित हत्या हो । हतियार प्रयोग गरेर गरिएको यो सामूहिक हत्या पूर्णतयारीका साथ भएको हो भन्न देखिन आयो । नेपाल प्रहरीले निकै जटिल अवस्थाका घटनाहरूमा समेत दोषीहरू पत्ता लगाएको छ भने यसमा संलग्न अपराधी पत्ता नलाग्ने कुरै थिएन ।

यस घटनामा हत्याको छोटो समयमै अपराधीको पत्ता लाग्यो । यस हत्याका लेनदेन, गालीगलौज वा झगडा, मादक पदार्थको सेवन जस्ता अनेकौं कारण हुनसक्ने भनेर अनुमान गरिएकै बेला अपराधी समातिएको छ । यस्तो जघन्य अपराधमा संलग्नले कानुनले तोकेको हदैसम्मको सजाय पाउनुपर्छ । त्यसो भयो भने यस्ता अपराध र अपराधीहरू निरुत्साहित बन्न सक्छन् र आपराधिक कार्यहरूमा कमी आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?