गण्डकी र नेपाल पुलिस फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

कास्की । गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा पुलिसमाथि ३-२ को सानदार पुनरागमन जित निकाल्दै गण्डकीले फाइनलमा स्थान पक्का गरेको हो । हारका बाबजुद पुलिस पनि फाइनलमा पुग्न सफल भएको छ ।

अघिल्लो संस्करणमा पनि दुई टोली नै फाइनलमा भिडेका थिए । गत वर्ष पनि फाइनलमा पुगेका थिए । लगातारको वर्षाका कारण खेल हुन नसकेपछि पुरस्कार राशि बाँडेर प्रदान गरिएको थियो ।

इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको खेलको पहिलो र दोस्रो सेट गण्डकीले १५-२५ र २३-२५ ले गुमाएको थियो । त्यसपछिका तीनै सेट गण्डकीले आफ्नो पक्षमा पार्दै सानदार जित दर्ता गर्न सफल भयो ।

तेस्रो सेट २५-२२ र चौथो सेट २५-१८ ले सहजै आफ्नो पक्षमा पार्दै गण्डकी खेलमा फर्कियो । निर्णायक तथा पाँचौँ सेटमा पनि गण्डकीले एकपक्षीय प्रदर्शन गर्दै १५-१० को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । यस जितसँगै गण्डकीले लिग चरणका चार खेलबाट ९ अंक बटुल्यो । समान चार खेलबाटै पुलिसले पनि ९ अंक नै जोड्यो । गण्डकीको जितसँगै एपिएफ र मणिमुकुन्द भलिबल क्लबको फाइनल पुग्ने सम्भावना सकिएको छ ।

सोमबार नै भएको अर्काे खेलमा एपिएफले मणिमुकुन्दलाई ३-१ को सेटमा पराजित गरेको छ । एपिएफले मणिमुकुन्दमाथि १७-२५, २५-२१, २५-२३ र ३४-३२ को जित निकालेको छ । फाइनल तथा तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि एपिएफ र मणिमुकुन्द नै खेल्नेछन् । गलकोट अंकविहीन हुँदै बाहिरिइसकेको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेतालाई समान एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?