म औसत मान्छे !

डा. नारायण चालिसे
Read Time = 17 mins

औसत मान्छे हुनुको पनि आफ्नै पीडा रहेछ । औसतको अर्थ सालाखाला, सरदर, मध्यम वा साधारण भन्ने हुन्छ । व्यक्तित्वले धेरैखाले सीमाहरूलाई टक्कर दिने भएपछि यस्तो समस्या पर्दैपर्दैन । जोसँग असाधारण व्यक्तित्वको प्रभाव छैन उसलाई कहिले पहिरनले धोका दिन्छ, कहिले बाहिरी उचाइले, कहिले भित्री उचाइले, कहिले रूपले त कहिले रङ्गले । औसतहरूको निम्ति व्यक्तित्वकै समस्याले औसत औसतै हुँदोरहेछ । विचार, व्यवहार, उन्नति, प्रगति सबै औसत बन्दै गएपछि हिजोका ती तीव्र महत्वाकाङ्क्षाका हुटहुटीहरू आफैँलाई बुझ्न नसक्दाका चेष्टा बन्दारहेछन् । यसो गरे कसो हुन्थ्यो ? कसो गरे राम्रो हुन्थ्यो ? जस्ता प्रश्नहरूका उत्तर सोचेर अगि बढ्दा आइलाग्ने असफलताले खुसी हुने क्षण, प्रयत्न असफल हुँदा उत्पन्न हुने विस्मात् दुवै अवस्था निष्क्रिय भई बस्दाको अवस्थाभन्दा राम्रा कुरा हुन् । तिनले जीवनको व्यवस्थापनमा धेरैलाई सघाएका पनि हुन्छन् ।

मानिसको पहिलो सर्त सम्भवतः आफू नै हो । आफूलाई प्रकाश पार्दा उत्पन्न भएको उज्यालोमा अरूलाई हेर्ने रहर मानिसको अर्को सर्त हुनसक्छ । जीवनमा मानिसले आत्मप्रकाशनको प्रयत्नमा नै बढी समय लगाउँछ । मनको क्यानभासमा जीवनका केही टुक्रे चित्रहरूको स्केच तयार गर्ने क्रम जारी छ । जीवनको पूरा चित्र कोर्ने दिनसम्म यो क्रम जारी रहन्छ र पूर्ण चित्र हेर्न नपाइकनै मानिसको जीवन समाप्त हुन्छ । मानिसको प्रथम प्रयत्न आफूपट्टि नै हुन्छ । दैनिक जीवनका भोगाइ र अनुभूतिहरू स्केचमा आउँदा मिल्दानमिल्दा, सुहाउँदा नसुहाउँदा जेजस्ता भएर आएका छन् तिनलाई साफी गर्दै रङ्ग भर्दै जाने रहेछ ।

रातो, नीलो, सेतो, पहेंलो यस्तै रङ्गहरू थप्दै जाने क्रम नै जीवनको गर्वानुभूति हुने, रङ्ग मलीन बनेर इमेज दिन नसक्दा जीवनमा निराशा छाउने यस्तै गरेर जीवन चलाइँदो रहेछ । हुन त जीवन सोचेर चलाउन खोजेर चल्दैन, जीवनबारे सोच्दा पनि त्यही हुन्छ । 

रातो, नीलो, सेतो, पहेंलो यस्तै रङ्गहरू थप्दै जाने क्रम नै जीवनको गर्वानुभूति हुने, रङ्ग मलीन बनेर इमेज दिन नसक्दा जीवनमा निराशा छाउने यस्तै गरेर जीवन चलाइँदो रहेछ । हुन त जीवन सोचेर चलाउन खोजेर चल्दैन, जीवनबारे सोच्दा पनि त्यही हुन्छ । स्वाभाविक अनिवार्यताहरू हुँदाहुँदै पनि केही अभ्यास जीवनलाई व्यवस्थित र गतिशील पार्नको निम्ति गर्न सकिन्छ । जीवनको आंशिक चित्रले दिने इमेज भनेको जीवनलाई परिचालन गर्दा पाइएको अनुमोदन पत्र र परिचालन गर्न पाइएको सहमति पत्र रहेछ । टुक्राटुक्री जम्मा पारेर तयार गरिएको अनुमोदन पत्रलाई आवश्यक ठाउँमा साट्ने, म्याद थप गर्ने प्रक्रियामा जीवन व्यक्तिगत, सामाजिक, साहित्यिक, सांस्कृतिक आदि चिराहरूमा विभक्त छ ।

तीतामीठा अनुभूतिहरू सँगाल्न पुगेको उपक्रमको एउटा पुरानो प्रयत्न आज सम्झनामा आयो । कुरा केही वर्ष पहिलेको हो । दश–बाह्र वर्ष पहिलेको कुनै एक दिन नेपालको प्रतिष्ठित प्राज्ञिक संस्था नेपाल एकेडेमीमा एउटा निम्तोमा जाँदाको हो । त्यस दिनको मेरो एकेडेमी प्रवेश राम मिष्ठान्न भण्डारबाट मगाइएको खाजाको पोको समाउन बसेको भोको बटुवासँग दाँजिने खालको नै भयो । जागिर खाएको ठाउँबाट सुटुक्क समय चोरेर कार्यक्रममा उपस्थित भएको म कार्यक्रम समापन हुन नपाउँदै निस्केर जानुपर्‍यो । अनौपचारिक भनिएको भेटघाटको मौखिक (टेलिफोन) को निम्तो बोकेर निर्धारित समयभन्दा बाइस मिनेटपछि सभाकक्षमा प्रवेश गर्दा परिचयको पहिलो चरण समाप्त भइसकेको थियो ।

भारतीय नेपाली साहित्यकार इन्द्रबहादुर राईको सम्मानमा आयोजित उक्त कार्यक्रममा उहाँलाई चिन्ने र उहाँले चिन्ने केही व्यक्तिहरूलाई मात्र छोटो समयको सूचनाका आधारमा बोलाइएको रहेछ । मेरो उपस्थिति सभाको निम्ति सायद त्यति महत्वको नहुन सक्छ तर मेरो निम्ति त्यो भेट महत्वपूर्ण थियो । तेस्रो आयाम, लीलालेखन र उत्तरआधुनिकताका जानकार श्रद्धेय आई. बी. सरसँगको भेटलाई धेरैजनाले महत्वपूर्ण मान्न सक्छन् । मेरो लोभ पनि त्यही थियो । ‘यहाँ उपस्थित धेरै जनासँग म कुनै समयमा एकपटक परिचित थिएँ तर आज धेरै समयको अन्तरालले गर्दा केही बिर्सिएको रहेछु’ भन्ने आई.बी.सरको नम्र अभिव्यक्ति सुनेपछि त्यहाँ उपस्थित धेरैजनाले राई सरसँगको अगिल्लो स्मरण गर्न पुगेको लाग्थ्यो ।

कतिपयसँग उहाँको पहिलो परिचय पनि हुनसक्छ तर सिर्जनाको यात्रामा लागेकाहरूसँग आम्नेसाम्ने नभए पनि कृति र सिर्जनासँग साक्षात्कार भएकै हुनसक्छ । कार्यक्रम सौहाद्र्र थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाले भेटको प्रयोजन र कार्यक्रमको औचित्य स्पष्ट पारेपछि आई.बी.सरले आफ्नो र भारतीय नेपाली साहित्यको अवस्था अनि एकेडेमीको महत्वबारे सारपूर्ण प्रवचन दिनुभयो । आफूबारे अहङ्कार गर्ने त्यति धेरै सामग्री मसँग थिएन । हुन त अहङ्कारलाई अहम् नै पर्याप्त हुन्छ तापनि व्यक्तित्वले आर्जन गरेको बायोडाटालाई नम्र निवेदनका साथ प्रस्तुत गर्दा अहम् पनि सकारात्मक नै हुन्छ ।

आफ्ना बारेमा चार जनाले जानकारी राख्नु पनि जीवन आंशिक सफल हुनु हो । समाजका प्रतिष्ठित व्यक्तिहरूका बीचमा आफूलाई ढुक्क उभ्याउन सक्ने आँट जुटाउन आफूसँग आत्मबलको आधार चाहिन्छ । उमेरले, योग्यताले वा प्रपोगण्डाले माथि उठेकाहरूका माझमा आफूलाई उभ्याउनै नमिल्ने अयोग्यता नभए पनि मनलाई विश्वास दिलाउने बलियो सम्बल मसँग रहेनछ भन्ने त्यतिखेर लाग्यो जतिखेर आयोजकसंस्थाका कुनै सदस्य (सायद कर्मचारी) ले म प्रवेश गरेलगत्तै ‘ढोका बन्द गर्नुस् नबोलाएका मानिसहरू पनि छिर्न थाले’ भनेर आपसमा गरेको वार्ता टक्क मैले सुनेँ । सबैभन्दा पछाडि सभामा छिरेको मै थिएँ ।

त्यसैले मलाई लाग्यो यो वाक्य मैप्रति लक्षित छ । सायद उहाँहरूलाई लाग्यो प्राज्ञिक भेटघाटमा मजस्ता अप्राज्ञिकहरूको उपस्थितिले कार्यक्रमको गरिमा नघटोस् भन्ने उद्देश्यले त्यसो भनिएको हुनसक्छ । औसत मानिसलाई लिएर सबै कार्यक्रम सम्पन्न गर्न सम्भव पनि हुँदैन तर म भनेँ चिसो मन पार्दै सभाकक्षतर्फ आँखा उठाएर त्यहाँ उपस्थित व्यक्तिहरूसँग आफूलाई सामेल गर्न हुने नहुनेबारे सोच्न थालेँ । त्यहाँ उपस्थित हुनुहुन्थ्यो संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार आनन्ददेव भट्ट, गोविन्द भट्ट, डा.तुलसी भट्टराई, प्रा.राजेन्द्र सुवेदी, डा.बेन्जू शर्मा, भाउ पन्थी, रामभरोस कापडी, डा.कुमार कोइराला, श्री तेजेश्वरबाबु ग्वाँग, डा.दीनबन्धु शर्मा, श्री कृष्ण धरावासी आदि ।

आ-आफ्नो क्षेत्रमा योग्यता राख्ने यी महानुभावहरूका साथमा म सामेल हुनु उचित थियो वा थिएन तर म भनेँ आफ्नै कद छोटो हो कि भन्ने तर्कमैँ केन्द्रित हुन पुगेँछु । त्यो ‘नबोलाएका’ भन्ने वाक्यांशले मेरो मनोब्रहृममा आक्रमण गरिसकेको रहेछ । कार्यक्रम अवधिभरि आफूलाई सहज पार्न गाह्रो भयो । तापनि आश्वस्त हुन मसँग झिनो आश के थियो भने म पनि त्यस कार्यक्रममा निम्तो पाएरै गएको थिएँ । बर्फी, केरा, स्यान्डविच, पनिर पकौडा आदि रहेको खाजाको पोको र चिया प्रवेश भएपछि आफू अनावश्यक हुनुको एउटा अर्थ त प्रष्ट भयो साथसाथै केही जिज्ञासाहरू पनि प्रवेश भए । सायद त्यो खाजाको प्याकेटको महत्व मभन्दा बढी थियो ।

औसत चिन्तन, औसत विचार, औसत व्यवहार, औसत योग्यता, औसत आर्थिक अवस्था, औसत गति, औसत मति आदि धेरै कुरा औसत भएर नै म औसत भएको हुँ । म जसरी जे बनेको हुँ म त्यो नबन्न पनि म आफँै लाग्नुपर्ने हो ।

मेरो योग्यता, मेरो जिज्ञासा र व्यक्तित्वका सम्भावित आयामहरूभन्दा पनि सायद बढी थियो । मलाई एक मन लागेको पनि हो आजको खाजा बहिष्कार गरौँ र आफूलाई लाग्ने नैतिक अभियोगबाट बचौँ तर लगत्तै आफू कमजोर हुनुको प्रमाण त्यही खाजा हुनसक्ने र अनावश्यककै हातमा खाजा पर्नबाट जोगिएको देखिने हुनाले नागरिकको तिरोबाट जम्मा भएको रकमले किनिएको खाजाको पोको लिएँ । तर, खाजा खाउन्जेल ती सबैले मलाई नै हेरिरहेका छन् कि जस्तो लागिरहृयो सम्भवतः त्यस्तो थिएन । सस्यानो निहुँमा दुख्ने र तर्सिने मनलाई त्यो निहुँ पनि पर्याप्त थियो ।

सभाको औपचारिक छलफल चलिरहेको बेला आफूभित्रको आन्दोलनलाई मत्थर पार्न आफ्नो योग्यतका केही प्रमाणहरू छन् कि भनी खोज्न थालेँ । त्यस सभामा अरूका सामु नभए पनि आफ्नै दृष्टिमा नहोचिन मदत मिल्ने केही युक्ति छ कि भन्ने मनमा लागिरहृयो । साहित्य, संस्कृति र कलाका क्षेत्रमा मतर्फको क्रियाशीलता छ भनेँ त्यसले मलाई बचाउन सक्छ भन्ने लाग्यो । पहिलो त साहित्य, कला र संस्कृतिप्रति अभिरुचि राख्नु पनि योगदान हो । कुलपति बैरागी काइँला, अतिथि आई.बी राईदेखि सन्ध्या पहाडीसम्मका बारेमा धेरथोर जानकारी राख्नु पनि योगदान नै हो भन्ने मेरो बुझाइ रहृयो ।

त्यसमा पनि डा.तुलसी भट्टराई, डा.बेन्जू शर्मा, डा.कुमार कोइराला, डा.दीनबन्धु शर्मा, कृष्ण धरावासी आदिहरू मेरातर्फका साक्षी हुन सक्नुहुन्थ्यो । अर्को संयोग के पनि रहेछ भने संयोगले मेरो पहिलो निबन्ध कृति समय गुरुद्रोणाचार्यको विमोचन गर्नुहुने वरिष्ठ साहित्यकार बैरागी काइँला (कुलपति प्रज्ञाप्रतिष्ठान) नै यस सभाका आयोजक हुनुहन्थ्यो र आदरणीय आई.बी सर जोसँग म एक-दुईपटक छलफलमा सरिक हुने र उहाँका विचार सुन्ने अवसर पनि पाएको थिएँ । मेरो लीलालेखन सम्बन्धी एउटा समालोचनात्मक लेख पढेर उहाँले मलाई दार्जिलिङबाट स्नेहपूर्वक पठाउनुभएको पत्र मसँग सुरक्षित नै थियो ।

उहाँ सशरीर काठमाडौंमा उपस्थित भएका बेला भेट्ने अवसर पाउनु मेरा निम्ति ज्यादै ठूलो कुरा थियो । सायद खाजाभन्दा धेरै महत्वपूर्ण थियो । यी विभिन्न आधारहरूले त्यस सभामा मलाई अनावश्यक हुनबाट बँचायो । अन्यथा बर्फी र पकौडाको अभियोग ममाथि लाग्ने नै रहेछ । बर्फी पकौडाको अभियोगबाट बँचे पनि ममाथि लाग्ने औसत मान्छेको अभियोगबाट बँच्न मलाई हिजो जति धौ थियो आज पनि त्यस प्रकारको सम्भावना बाँकी नै छ । त्यसो त मलाई अरू कसैले औसत बनाएको होइन म आफैँ त्यस वर्गबाट माथि उठ्न नसकेको हो ।

औसत चिन्तन, औसत विचार, औसत व्यवहार, औसत योग्यता, औसत आर्थिक अवस्था, औसत गति, औसत मति आदि धेरै कुरा औसत भएर नै म औसत भएको हुँ । म जसरी जे बनेको हुँ म त्यो नबन्न पनि म आफैँ लाग्नुपर्ने हो । बन्ने पनि म अनि बनाउने पनि म । माथि माथि आकाश छुने गरी उडेर आउने महत्त्वाकाङ्क्षा र तिनलाई कार्यरूप दिन नसक्ने असमर्थताका बीचमा मेरो औसत अवस्थालाई चुनौती दिने खास किसिमको चिन्तन र गतिशीलता नआउन्जेल औसत मानिसको कोटीबाट माथि उठ्न सम्भव छैन ।

बेलाबेलामा नाकै भाँचिने गरी ठोक्किन आउने पनिर पकौडाको आक्रमण आज पनि अनुभव गर्छु । ती ठूला संस्थाहरू जहाँ पनिर पकौडाको अस्तित्व मानिसको अस्तित्वभन्दा अग्लो भएर आउँछ ती ठाउँहरूमा पनि धेरथोर परिवर्तनका सङ्केतहरू देखापर्न सके हामीजस्ता औसत मानिसहरू पनि निम्तो मान्न जाँदा अपमानबोध गर्नुपर्ने थिएन कि भन्ने कामना गरौँ । अन्यथा म औसतको औसत नै रहने भएँ । अभियोग बोक्ने भरिया मात्र त्यो पनि औसत भरिया !!!

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?