एसियाली खेलकुद : भारतविरुद्ध नेपालको सम्मानजनक ब्याटिङ

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । चीनको हाङझावमा जारी १९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतविरुद्ध सम्मानजनक ब्याटिङ प्रदर्शन गरेको छ । यद्यपि भारतसँग २३ रनले पराजित भएको नेपाल क्वाटरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट भने बाहिरिएको छ । यशस्वी जैसवालको सतकप्रेरित भारतले निर्धारित २० ओभरमा नेपालसामु दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर नै खेल्दै नौ विकेटको नोक्सानीमा १७९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउण्ड प्रदर्शन गर्नुभयो । उहाँले १५ बलमा चार छक्का प्रहार गर्नुभयो ।

नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । ३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किनुभयो । त्यसपछि आउनुभएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गर्नुभयो । यद्यपि, ११औँ ओभरमा कुशल २९ रनमा रवि विश्नोईद्वारा आउट हुनुभयो । दोस्रो विकेटका रूपमा आउट हुनुभएका भुर्तेलले २८ रन जोड्नुभयो । नवौँ ओभरमा पनि कप्तान रोहित पौडेल तीन रनमै आउट हुनुभयो ।

दीपेन्द्र र सन्दीप जोराले पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै जितको आशा दिलाउनुभएको थियो । यद्यपि, १५ र १६औँ ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जित टाढियो । दीपेन्द्र ३२ रन र सन्दीप २९ रनमा आउट हुनुभयो ।

करण केसीले १८ रन जोड्नुभए पनि जितका लागि पर्याप्त भएन । भारतको बलिङमा आवेश खान र रवि विश्नाईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिँदै नेपाललाई लक्ष्य पूरा गर्न दिएनन् । त्यसअघि टस जितेको भारतले चार विकेटको क्षतिमा दुई सय दुई रनको योगफल बनायो ।

आक्रामक ब्याटिङ गर्नुभएका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोड्नुभयो । नेपाली बलरमाथि पूर्ण हाबी हुनुभएका जैसवालले आठ चौका र सात छक्का प्रहार गर्नुभयो । जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याच आउट हुनुभयो । भारत १५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किनुभयो । भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ ग¥यो । भारतले ९.१ ओभमा नै सय रन बटुल्दै नेपाली बलरमाथि दबाब बनाइराख्यो ।

यसै ओभरको पाँचौँ बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट दिलाउनुभयो । त्यसपछि भने नेपालले १५औँ ओभरसम्म कसिलो बलिङ गर्‍यो । यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो । यद्यपि, अन्तिम पाँचमा ओभर नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए । पाँचौँ विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराउनुभयो । रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहनुभयो । यस क्रममा शिवम्ले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काउनुभयो ।

डेथ ओभरमा बलिङ गर्न आउनुएका अविनाश बोहोराले २५ रन खर्चिएपछि नेपालमाथि दबाब पर्‍यो । माल्दिभ्सविरुद्ध ६ विकेट लिनुभएका अविनाशले निकै खराब बलिङ गर्नुभयो । चार ओभरमा उहाँले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सक्नुभएन । नेपालका सबै बलर महँगा साबित भए । यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिनुभयो । तीन ओभर बलिङ गर्नुभएका सन्दीपको नाममा पनि एक विकेट रहृयो ।

पराजितपछि कप्तान रोहित पौडेलले ब्याटिङमा देखिएको सफलतालाई उत्प्रेरणाका रूपमा लिएको बताउनुभयो ।
‘खेलबाट धेरै नै सकारात्मक कुराहरू छन् । जुन हिसाबले हामीले ब्याटिङ ग¥यौँ । सुरुवात सोचे जस्तो भएन । अन्त्यमा दीपेन्द्र र सन्दीप जोराले राम्रो ब्याटिङ गरे,’ उहाँले भन्नुभयो, ‘करण दाइले पनि राम्रो खेल्नुभयो । सुरुमा राम्रोसँग खेलेको भए नतिजा जे पनि हुन सक्थ्यो । समग्ररूपमा हेर्दा खेलमा धेरै सकारात्मक पक्षहरू छन् ।’

कबड्डी
यस्तै, हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मंगलबार पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३-१९ ले पराजित भयो । नेपाल पहिलो हाफमा १९-११ ले पछि परेको थियो । इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४-८ स्कोर गर्‍यो । समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश गरी ३ राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दै इतिहास रच्नेछ ।

ब्याडमिन्टन
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१-४ र २१-७ को सोझो सेटमा पराजित गर्नुभयो । खेल १५ मिनेट चलेको थियो ।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी तीनमा भने नेपाल पराजित भयो । महिला सिंगल्समै थाइल्याण्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सिधा सेटमा २१-१० र २१-४ ले हराउनुभयो । महिला डबल्समा चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङ्शल तामाङको जोडीलाई २१-१ र २१-५ तथा इण्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१-३ र २१-७ को सोझो सेटमा पाखा लगाउनुभयो ।

भारोत्तोलन
भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एण्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गर्नुभएको छ । स्न्याचमा विकासले दोस्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल हुनुभएको थियो । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल हुनुभयो । तेस्रो लिफ्टमा उहाँले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गर्नुभयो । उहाँले १२५ केजी वजन उठाउन सक्नुभएन ।

क्लिन एण्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गर्नुभएका विकास दोस्रो लिफ्टमा मात्र त्यति नै (१४५ केजी) वजन उचाल्न सफल हुनुभयो । तेस्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल हुनुभएन । १५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्नुहुन्थ्यो । जम्मामा पनि २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?