‘चुनौतीबीच पनि आर्थिक वृद्धिको ठूलो सम्भावना’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहनुभएका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको हो ।

१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै उहाँले १० वर्ष अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताउनुभयो । कुरोदाले भन्नुभयो, ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु तर यहाँ आर्थिक विकासको अझै प्रचुर सम्भावना छ ।’

उहाँले नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्र मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोतमा प्रचुर सम्भावना रहेको भन्दै उल्लेखित स्रोतको सदुपयोग गर्न सके नेपालमा आर्थिक विकास हुने जिकिर गर्नुभयो । नेपालमा अझै धेरै चुनौती रहेको र नेपाल सरकार र राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा कुरोदाले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने भन्दै सचेतसमेत गराउनुभयो । जापानमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र ऋणको अनुपात दुई सय ६३ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको बताउनुभयो । तर, नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

कुरोदाले भन्नुभयो, ‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ । मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’

एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै आफू प्रभावित भएको बताउनुभयो । राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि, युवाको विकास एवं रोजगारीमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवा परिचालन गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?