इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जलि

हिमालय टाइम्स
Read Time = 6 mins

मध्यपूर्व अहिले तनावमा छ । यो तनाव अहिलेमात्र सिर्जना भएको भने होइन । यो निकै पहिलेदेखि सिर्जित समस्या हो । यसको बीजारोपण भएको अहिलेभन्दा ७५ वर्ष पहिले नै हो । प्यालेस्टाइन र इजरायलबीचको यस समस्यालाई समाधानका लागि संयुक्त राष्ट्र संघले पनि बेलाबेलामा प्रयास गर्दै आएको छ तर त्यसको समाधान अहिलेसम्म हुनसकेको छैन । जसको परिणाम आजका दिनसम्म जसरी नेपाली विद्यार्थी त्यहाँ मारिनुपर्‍यो । त्यसरी भोलिका दिनहरूमा विभिन्न देशबाट गएका तथा तिनै दशका मासिनहरूले ज्यान गुमाउँदै जानुपर्नेछ । अरब प्रायद्वीपमा यहुदी बहुल राष्ट्रको स्थापना भएसँगै इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सिर्जना भएयता हालसम्म कायमै छ ।

इजरायल र प्यालेस्टाइनबीच बेलाबेलामा युद्ध हुँदै आएको छ । लामो समयसम्म प्यालेस्टाइनमा यासेर अराफातले नेतृत्व गरे । अमेरिकाको कहिले त अन्य युरोपेली मुलुकहरूको, अहिले संयुक्त राष्ट्र संघको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनबीच सम्झौताको प्रयास गरिँदै आएको छ तर हालसम्म समाधान हुनसकेको छैन । प्यालेस्टाइनमा हमास नामधारी समूह सक्रिय छ र इजरायलविरुद्ध बेलाबेलामा हमला गर्दै आएको छ । हालैमात्र यस समूहले इजरायलमाथि हमला गरेर ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । एकै हमलामा तीन सय जनाभन्दा बढीको मृत्यु भएको छ भने तीन हजार जनाभन्दा बढी घाइते छन् । जसमा नेपाली विद्यार्थीहरूसमेत परेका छन् ।

रुसले युक्रेनमाथि गरेको हमलाको शृंखला हालसम्म जारी छ । जसले गर्दा विश्व नै विभिन्न किसिमले प्रभावित भइरहेको छ भने ठूला र शक्तिशाली राष्ट्रहरूले साना र कमजोर राष्ट्रमाथि हमला गर्नु हुँदैन भन्ने मान्यता पनि विश्वव्यापी बनिरहेको छ । अनाहकमा मानिसको ज्यान लिने कार्य अमानवीय त हुँदै हो साथै जघन्य र आतंकको पराकाष्ठासमेत हो । बोको हराम, आइएस आइएसहरूले यस्तै आतंक फैलाइरहेको अवस्था छ । एकताका ओसामाबिन लादेनको अलकायदाको आतंक संसारव्यापी बनेको थियो । सन् २००१ सेप्टेम्बर ११ मा संयुक्त राज्य अमेरिकारको ट्विन टावरमाथि विमान हमला भएपछि अमेरिकराले लामो समयसम्म खोजी गरेर लादेनलाई मार्‍यो ।

यसपछि यस संगठनको आतंक समाप्त भयो । अहिले हमासले जे उद्देश्यले जुन रूपमा अक्रमण गरेको भए पनि मानवताविरोधी आक्रमण हो । यस आक्रमणबाट इजरायलमाथि धावा बोल्ने काम मात्र भएन त्यहाँ त विदेशी नागरिकहरूको समेत ठूलो संख्यामा हताहती भयो । प्यालेस्टाइनका तर्फबाट हमासले गरेको यो हमला घोर अमानवीय र जघन्य छ । यसमा नेपालका निर्दोष विद्यार्थीसमेत परे । इराकमा त्यहाँको आतंककारी समूहले जघन्य रूपमा हत्या गरेका १२ जनाकै सम्झना हुने ढंगले नेपालका १० जना विद्यार्थीहरूको निधन भएको छ भने एकजना बेपत्ता भएका छन् । अवस्था अज्ञात छ । यसरी १० जनाको मृत्यु, एकजना बेपत्ता चारजना घाइते र दुईजना मात्र सकुशल रहेको विवरण त्यहाँबाट प्राप्त भएको कारण हामीले केही सोच्नुपर्ने बाध्यता छ ।

नेपाली विद्यार्थीलाई इन्टर्नसिपमा देशबाहिर लैजाँदा युद्ध भइरहेका मुलुकहरूमा होइन शान्त मुलुकमा लैजानुपर्ने रहेछ भन्ने कुरा यस घटनाबाट जानकारी हुन आयो । अर्को कुरा यसरी लैजान विश्वविद्यालयको एकल निर्णयबाटमात्र हुनु हुँदैन, सरकारसँग इजाजत लिएर स्वीकृति पछिमात्र लानुपर्छ । यस घटनामा सुदूरपश्चिम विश्वविद्यालयका कृषि संकायर्फका विद्यार्थी मृत्युवरण गर्न पुगे । उज्ज्वल भविष्यको सपना बोकेर गएका विद्यार्थीहरूको सपना हमासको आक्रमण सँगसँगै समाप्त भयो । तिनका बाबुआमाका सपनाहरू यही घटनासँगै अनन्तमा विलिन भए । नेपालका कलिला विद्यार्थी भविष्यका ती तारा तिनका बाबुआमाका मात्र सपना थिएनन् ती सम्पूर्ण नेपालकै थिए । तिनको अवसानले नेपाललाई ठूलो क्षति पुग्न गएको छ भने अर्कातिर देशलाई संवेदनशील बनाएको छ ।

घटना जो भयो त्यो फर्किएर आउँदैन तर यस घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना नदोहोरिउन् भनेर सजकता भने अपनाउनुपर्छ । हमासको आक्रमणमा परेर मृत्युवरण गर्न पुगेका ती विद्यार्थीहरूको आत्माको चिरशान्तिको कामना गर्दै हिमालय टाइम्स परिवार उनीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा हामी हार्दिक समवेदना व्यक्त गर्दर्छौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?