
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताउनुभएको हो । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उडेको छ । इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी दिनुभयो । ‘यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,’ प्रवक्ता लम्सालले भन्नुभयो, ‘इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोष्टमार्टमलगायत प्रोटोकलहरूलाई मेन्टेन गर्न जोड दिने कुरा हुन सकेको छैन । हामीले अनुरोध गरेका छौँ । दबाब दिने अवस्थामा छैनौँ ।’ धेरै मानिसको मृत्यु भएका कारण शवको पोष्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।
उहाँले सरकारको पहिलो प्राथमिकतामा विद्यार्थीहरू रहेको समेत बताउनुभयो । केयर गिभरको रूपमा गएका कामदारहरू इजरायली परिवारकै सदस्य बनेर रहेको र उनीहरू कम जोखिममा भएकाले विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो । लम्सालले भन्नुभयो, ‘विद्यार्थीहरू विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । त्यहाँको बारेमा सबै जानकारी पनि नभएका कारण हामीले क्षति पनि भोग्यौँ । केयर गिभरहरू परिवारकै रूपमा रहेका र लामो समय बसेका कारण उहाँहरूको सुरक्षा जोखिम कम छ ।’
अहिले दूतावासका कर्मचारीले समेत बंकरमा बसेर काम गरिरहेको भन्दै अहिले सकेसम्म सबै शक्ति लगाएर आफ्ना नागरिकको सुरक्षामा ध्यान दिइएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव शरद्राज आरणले तेल अबिबबाटै टर्किस, एयर अरेबिया लगायतका विमानहरूका नियमित उडान पनि भइरहेकाले फर्किन चाहनेहरूलाई विमानस्थलले टिकट काट्न सहजीकरण गरेर पठाउने बताउनुभयो । उहाँले सीमित व्यावसायिक उडान र चार्टर उडानबाट समस्यामा परेकाहरूलाई फिर्ता ल्याइने बताउनुभयो । मन्त्रालयका अनुसार इजरायलमा विद्यार्थी र अन्य विभिन्न सेक्टरमा कार्यरत कामदारसमेतको संख्या करिब चार हजार पाँच सय रहेको छ । पहिलो उद्धारको उडानमा जोखिम क्षेत्रबाट एकै ठाउँमा राखिएका विद्यार्थीलाई ल्याइने र सम्भव भएसम्म अरूलाई पनि लिएर आउने लम्सालले बताउनुभयो ।
इजरायलमा जम्मा चार हजार पाँच सय नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । अध्ययनरत विद्यार्थीमा कृषि विश्वविद्यालयबाट १२१ जना, त्रिभुवन विश्वविद्यालयबाट २७ जना, र सुदूरपश्चिम विश्विद्यालयबाट ४९ जना इजरायलमा पुगेको मन्त्रालयका प्रवक्ता लम्सालले बताउनुभयो । उहाँका अनुसार घटनामा १० जना विद्यार्थीको निधन भएको र चारजना घाइतेको उपचार जारी रहेको छ । अज्ञात अवस्थामा रहेका व्यक्तिको खोजी कार्य जारी रहेको पनि जनाइएको छ । मन्त्रालयका अनुसार निधन भएका १० जना सबैको शव इजरायल सरकारको संरक्षणमा रहेको, नेपाल ल्याउनका लागि पहल भइरहेको, शव हस्तान्तरण कार्य अघि बढाउनेबित्तिकै नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी पनि भइरहेको छ ।
विद्यार्थी लिन परराष्ट्रमन्त्री सहितको टोली
नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल जाने हुनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताउनुभयो । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्र मन्त्री नै इजरायल जाने बताउनुभयो । ‘नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्रीजी इजरायल जानुहुन्छ,’ रिजालले भन्नुभयो, ‘जो स्वदेश आउन चाहन्छन् उनीहरूलाई ल्याउने तयारी छ ।’ इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच