
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले चाडपर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ । बडादशैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा एमालेले बुधबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम गरेको हो । एमालेको चियापान कार्यक्रममा नेता, कार्यकर्तादेखि उच्च पदस्थका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरूको भिड लागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरू कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा पुगेका राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले स्वागत गर्नुभएको थियो ।
चियापानमा सहभागी नेताहरू निकै हर्षित मुद्रामा देखिएका थिए । अघिपछि एक-अर्काको आलोचना गरी नथाक्ने नेताहरू संयम र सौहाद्रपूर्ण वातावरणमा गफिरहेका देखिन्थे । उनीहरू एक-अर्काप्रति सम्मान भाव र शुभकामना साटासाट गरिरहेका थिए । एमाले अध्यक्ष ओलीले चियापानमा राजनीतिक कुरा ठिक नहुनेसमेत बताउनुभयो । ‘आज राजनीतिक कुरा गर्नु ठिक छैन । पत्रकारको जात कस्तो हुन्छ भने यति पायो भने उचालिहाल्छन्,’ ओलीले भन्नुभयो, ‘त्यसकारण त्यो मौका दिनुहुँदैन ।’ अध्यक्ष ओलीले संस्कृतिसँग जोडिएका चाडपर्वका बेला कसैको कुभलो चिताउन नसकिने भन्दै सबैको भलो र राम्रो होस् भन्ने शुभकामना दिनुभयो ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पनि दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताउनुभयो । ‘नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र एमालेले गरेको कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु,’ उहाँले भन्नुभयो । कार्यक्रममा कांग्रेस सभापति देउवाले भने कुनै प्रतिक्रिया दिनुभएन । भेटघाटमा भने उहाँ पनि हर्षित मुद्रामै देखिनुभएको थियो । कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र संसदीय व्यवस्था रहनुभएका नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विप्लवले संसदीय मोर्चा नै अबको बाटो भएको बताउनुभयो ।
दलहरूबीच विश्वासको वातावरण बनेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताउनुभएको छ । बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताउनुभयो । कांग्रेस र एमालेको चियापानपछि समझदारी बनाउन राम्रो वातावरण बनेको उहाँले बताउनुभयो । ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु । पहल सकारात्मक भएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र एमालेले गरेको कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।’ उहाँले बुधबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएकाले शान्ति प्रक्रिया चाँडै टुंगिने वातावरण बन्दै गएको बताउनुभयो ।
चाडपर्वका बेला कसैको कुभलो चिताउन सकिँदैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाबारे नेताहरूबाटै आएको ‘देश विभाजित हुने अभिव्यक्ति’ भनेर भनेको कुरा आफूले नसुनेको टिप्पणी गर्नुभएको छ । बुधबार एमालेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति आफूले नसुनेको बताउनुभयो । शान्ति प्रक्रियाका बारेमा पार्टीकै नेताहरूले भिन्न अभिव्यक्ति दिएर देश विभाजित छ भन्ने सन्देश दिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले कहिले भनेको कुरा गर्नुभएको हो ? त्यो मैले सुनेको छैन । बुधबार बिहान प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौँ, तपाईँहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा, हाउभाउ, हात मिलाएको, मुस्कुराएको, खुसी भएको देख्नुभयो ? एउटै चाडमा खुसियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन त ?’ अध्यक्ष ओलीले संस्कृतिसँग जोडिएका चाडपर्वका बेला कसैको कुभलो चिताउन नसकिने भन्दै सबैको भलो र राम्रो होस् भन्ने शुभकामना दिनुभयो । अध्यक्ष ओलीले शान्ति प्रक्रिया चाँडै सहमतिका साथ टुंग्याउनुपर्ने बताउनुभयो । ‘भिक्टिमलाई सेन्टरमा राखेर टुंग्याउनुपर्छ । सर्वोच्चको आदेश मानेर, अन्तर्राष्ट्रिय समुदायका कुरालाई ध्यान दिनुपर्छ र खास गरी पीडितलाई न्याय दिएर टुंग्याउनुपर्छ’, ओलीले भन्नुभयो ।
नेपाल र भुसाल अनुपस्थित, खनाल र झाँक्रीलाई स्वागत
एमालेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने सहभागी हुनुभएन । पूर्वप्रधानमन्त्रीका रूपमा निम्ता गरिएको भए पनि उहाँ कार्यक्रममा उपस्थित हुनुभएन । नेपाल बुधबार बिहानै गृहजिल्ला रौतहट पुग्नुभएको थियो । अध्यक्ष नेपालसँगै महासचिव घनश्याम भुसाल पनि कार्यक्रममा सहभागी हुनुभएन ।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई एमालेले पार्टीको रूपमा स्वीकार गरेको छैन । अध्यक्ष नेपाल नगए पनि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत नेताहरू भने चियापानका सहभागी हुन च्यासल पुग्नुभएको थियो । त्यस्तै, एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि कार्यक्रममा पुग्नुभएको थियो । झाँक्रीलाई एमाले अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो । झाँक्रीले ओलीलाई पुष्पगुच्छा दिनुभएको थियो । यस्तै, उहाँ अष्टलक्ष्मी शाक्यसँग अंगालोमा बाँधिनुभएको थियो ।
संक्रमणकालीन न्याय चाँडै टुंग्याउने तीन दलबीच समझदारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायका सम्बन्धनमा मुख्य दलबीच समझदारी जुटेको दाबी गर्नुभएको छ । उहाँले बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा संक्रमणकालीन न्याय चाँडै टुंग्याउने सहमति भएको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आज बिहान कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौँ, एउटा अण्डरस्ट्याण्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ ।’ उहाँले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताउनुभयो ।
‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौँ । विधेयकमा पनि त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, ‘मैले जहिले पनि दलहरूलाई एकै स्थानमा ल्याउन पहल गरेको छु । बिहानको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ति कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरूबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ ।’
यता, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्ने बताउनुभएको थियो । संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता नागरिकको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) कतिपय प्रावधानमा दलबीच सहमति नजुट्दा संसद्मा पेस हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच