✍️ सत्यराज जोशी
विवेक ओझाद्वारा लिखित पुस्तक ‘ऐँठन’ ले विसं २०७९ को ‘मदन पुरस्कार’ पाएको छ । ऐँठन नेपाली साहित्यमा एउटा युद्ध उपन्यासको रूपमा लेखिएको कृति हो । उपन्यास तत्कालीन दश वर्षे माओवादी सशस्त्र युद्ध र तत्कालीन राज्यसत्ताको दमनबाट प्रताडित भएका पीडित व्यक्तिहरुको दृष्टिकोणबाट लेखिएकोे युद्धकथा हो । युद्धले कसरी एउटै समाजका मानिसहरुलाई फरक-फरक तवरले असर गर्दछ भन्ने विचार पनि उपन्यासले उठान गरेको पाइन्छ जस्तो एक प्रसंगमा उपन्यासमा भनिएको छ । ‘हाम्रो युद्ध तिनीहरुको महाउत्सव...हाम्रो महाविध्वंश तिनीहरुको महाप्राप्ति ।’
यसरी सर्वसाधारणले युद्धमा सर्वस्व गुमाउनु पर्यो । यसैगरी उसको घर जलाइयो, उसका छोराछोरी र श्रीमती जलाइयो अझ सबैभन्दा त निर्दोष मानिसको जीवनको नक्सा नै जलाइयो । तर समाजको अर्को पक्ष जो समाजको अगुवा भनेर कहलिएको थियो उसले युद्धपछि धन दौलत र सम्मान प्राप्त ग¥योर आफूलाई महाप्राप्ति उपलब्ध गराउने ती निमुखा मानिसको विवशतालाई सम्झिनसमेत भ्याएको छैन भन्ने भाव ऐँठनले झल्काएको छ । दुनियाँमा आफूले माया गरेको मानिसलाई छोड्नु पर्दाको अवस्था जस्तो दुनियाँमा वियोगान्त पीडा अरू हुन सक्दैन । हो त्यही निरीहता, विवशता र वियोगको ब्यथा हो ‘ऐँठन’ ।
‘जब मानिसलाई जिउँदै पुरियो त्यही फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो ‘ऐँठन’ । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई र ऐँठन त्यही नाबालिगको योनीबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो । तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ‘ऐँठन’ ।
उपान्यासमा महाभारतलाई मिथकीय रंगको रूपमा व्याख्या गरिएको देखिन्छ । जसमा विभिन्न पात्रहरुले भिन्न–भिन्न प्रकृतिको विशेषता बोकेका छन् । जस्तो भिष्मपितामहले इच्छा मृत्युको आशीर्वाद प्राप्त गरेका छन् । कर्णले अग्निकवज, अर्जुनले सर्वश्रेष्ठ धनुर्धर र युधिष्ठिर धर्मराजको नामले चिनाइएका छन् ।
त्यसैगरी युद्ध उपन्यासले विभिन्न समय र परिस्थितिमा भएका युद्धहरुलाई विभिन्न रंग दिने प्रयत्न गरेको देखिन्छ । उपान्यासमा महाभारतलाई मिथकीय रंगको रूपमा व्याख्या गरिएको देखिन्छ । जसमा विभिन्न पात्रहरुले भिन्न भिन्न प्रकृतिको विशेषता बोकेका छन् । जस्तो भिष्मपितामहले इच्छा मृत्युको आशीर्वाद प्राप्त गरेका छन् । कर्णले अग्निकवज, अर्जुनले सर्वश्रेष्ठ धनुर्धर र युधिष्ठिर धर्मराजको नामले चिनाइएका छन् । ती सबै पात्रहरुको नाम, ख्याति र भूमिका जे भए पनि ती सबै पात्रको भूमिकाले एउटै साझा विपत्ति निम्त्याएको छ, त्यो हो युद्ध र महासंकट । उपन्यासको अर्को प्रसंगमा दोस्रो विश्वयुद्ध अर्को रंगको रूपमा देख्न सकिन्छ । त्यो हो अंहकार र आणविक हातहतियारले दिएको क्रुर रंग । उपन्यासको एक प्रसंगमा ‘सोरा’ भन्ने पात्र नुहाउँदै गर्दा एक्कासी ऐटोमिक बम खस्छ र त्यो ऐटोमिक बमले उसको सम्पूर्ण आफन्तहरुको मृत्यु हुन्छ । त्यो युद्धले सोरालाई बेसहारापन र निरीहता लादेको देखिन्छ ।
त्यस्तै दशवर्षे युद्धमा सेनाद्वारा एक शिक्षकको घरमा अकस्मात् बम खसाइन्छ । त्यो बमले उसका श्रीमती र छोराको मृत्यु हुन्छ । उक्त मृत्युको पीडा आफ्नै आँसु पिइनसक्दै विद्रोही पक्षले चन्दाविरोधीको आरोपमा खेप्नुपरेको बर्बर यातना उपन्यासमा निकै मार्मिक तवरले प्रस्तुत गरिएको छ । यसरी विभिन्न रंगहरु फरकफरक हुन सक्छन् तर ती रंगहरुले सिँगार्ने चित्र भने एउटै हुन्छ । त्यो हो ‘क्रुरता’ हो, यो क्रुरताले ‘सोरा’ पीडित शिक्षक र महाभारतका घाइते योद्धा, ती सबै पात्रलाई युद्धले दिएको साझा पीडा निरीहता नै हो ।
यसर्थ ऐँठनले पीडित मान्छेको कथा बोकेको देखिन्छ । उपन्यासमा कुनै प्रसंगमा राज्यपक्षबाट भएको ज्यादतिपूर्ण घटना झल्काउन खोजे जस्तो देखिन्छ भने अर्को प्रसंगमा तत्कालीन विद्रोही पक्षले गरेको ज्यादतिको चित्रण गरेको जस्तो देखिन्छ । वास्तवमा उपन्यासले दुवै पक्षबाट पीडित मानिसहरुको विवशता र त्यो युद्धले ल्याएको निरीहतालाई नै उपन्यासको मूल विषयवस्तु बनाएको छ ।
उपन्यासकारले उपन्यासमा चन्द्रकला जस्ता पात्रको कथालाई नौरंगा माछाको बिम्बमार्फत कारुणिक ढंगले प्रस्तुत गर्नु उपन्यासको सबल पक्ष देखिन्छ । त्यसैगरी नेपालको दश वर्षे युद्धको निरीहतालाई उपन्यासकारले एक कथामा निकै मार्मिक तवरले पस्किएका छन् । एक प्रसंगमा ‘चिलले मसँगै टाँसिएको मृत शरीरतर्फ घाँटी तन्कायो । सोझै त्यसको आँखामा चुच्चोले घोप्यो । केही पटकको घचघचपछि आँखाको डल्लो झिक्न भ्यायो र फुत्लुक्क निल्यो । आँखाको नानीसँगै नसाको लामो लहरो निस्किएको थियो, जो मेरै ज्यानमा लतपतियो । चिलले सुस्तरी लहरोसमेत निल्दै गयो । नसाको लहरो निलिसकेर मेरै ज्यानमा चुच्चो घोप्नेमा पक्का थिएँ ।’ यसरी यो युद्धमा घाइते भएको मानिसको विवशता र उसलाई युद्धले दिएको क्रुरता बडो सजीव तवरले उपन्यासमा प्रस्तुत गर्नुले उपन्यासकारको बिम्बप्रति बुझाइ सबल देखिन्छ ।
यसैगरी उपन्यासले युद्धमा सर्वसाधारण मासिनहरुप्रति गरिँदै गएको अमानवीय व्यवहारहरुको सजीव चित्रण गरेको छ । युद्धले सिर्जना गर्ने यी क्रुर कथाहरुका पछाडि शक्ति राष्ट्र भनाउँदा राष्ट्रहरुले गर्ने सम्झौताप्रति पनि उपन्यासकारले संकेत गर्न खोजेको देखिन्छ । जस्तो केही ६, ७ शक्ति राष्ट्रहरुले सामूहिक निर्णयबाट करौडौं मानिसहरुको इच्छाविपरीत आणविक हतियार भट्टी खोल्ने सम्झौता गर्दछन् । त्यस सम्झौताले ती राज्यलाई त आर्थिक तथा सामरिक शक्ति दिन्छ तर सर्वसाधारण मानिसलाई भने ती सम्झैताले निरीहताबाहेक केही दिँदैन भन्ने जिकिर उपन्यासकारको रहेको देखिन्छ ।
जनआन्दोलनको कथाहरुलाई विश्वमा भएका विभिन्न युद्धहरुको बिम्ब दिएर युद्धको नियति समान हुन्छ भन्ने भाव झल्काउनु उपन्यासको सबल पक्ष मान्न सकिन्छ भने कथाको बीचबीचमा प्रयोग गरिएका अन्य भाषाका शब्दहरुले नेपाली परिवेशको अर्थ जनाउननसक्नु उपन्यासका कमजोरी पक्षका रूपमा मान्न सकिन्छ । उपन्यासको विषयवस्तुले नयाँ र पुरानो दुवै पुस्तालाई आकर्षित गरेको देखिन्छ । जस्तो युद्धपछि जन्मेको युवाले किन ‘ऐँठन’ पढ्ने भन्दा उसले युद्धको अनुहार कस्तो थियो भनेर बुझ्न ।
यसैगरी युद्धताका समय भोगेका युवाले ऐँठनबाट युद्धमा के कस्ता कमीकमजोरी गरेको थियो र ती कमीहरुलाई समग्रमा कसरी सुधार्न सकिन्छ भन्ने भाव झल्काउन ‘ऐँठन’ ले प्रेरणा दिन सक्छ । यसरी विश्वमा जति पनि युद्ध हुन्छन् ती युद्धहरु फरक ठाउँ, परिवेश र परिस्थितिमा घटेका हुन सक्छन् । तर ती सबै युद्धहरुको साझा नियति भने सर्वसाधारण मानिसमाथि ल्याउने निरीहता नै हो भन्ने भाव प्रखर रूपमा झल्काउनु ‘ऐँठन’ उपन्यासको मूल भाव हो भन्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच