शुक्रबार राति जाजरकोट र रुकम (पश्चिम)लाई प्रवाभित पार्ने गरी भूकम्प गयो । जाजरकोट केन्द्रबिन्दु भएर गएको उक्त भूकम्प शक्तिशाली थियो जसले गर्दा धनधनको ठूलो क्षति हुन पुगेको छ । भूकम्प पूर्वानुमान गर्न नसकिने प्राकृतिक प्रकोप हो । विज्ञानले आजका दिनसम्म धेरै प्रगति गरिसकेको भए पनि भूकम्पको पूर्वानुमान गर्न अहिलेसम्म सकेको छैन । यसको प्राथमिक तरंग पैदा भइसकेपछि साइरन बज्ने प्रविधिको भने विकास भएको छ तर यो आमप्रयोगमा छैन । जाजरकोट र रुकुम जस्ता ठाउँमा यस्तो प्रविधि प्रयोग हुने कुरा कल्पना बाहिरको विषय हो । मध्यरातमा सबै मानिसहरू निदाइरहेका बेला गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट हुन पुगेको क्षति र मानिसहरूको हताहतीको यथार्थ विवरण अझै आउन सकेको छैन ।
पहाडी क्षेत्र भएका कारण गाउँघरमा अझैसम्म ढुंगामाटाका घर बनाउने चलन छ । यस्ता घरहरू भत्किएको आपत्का बेला धेरैले थाहा पाएनन् र थाहा पाउनेहरू भाग्न खोज्दा झन् अप्ठ्यारोमा परे । घाइते भए र घर पर्खालहरूले थिचेर मृत्यु बरण गर्न बाध्य भए । यो नितान्त प्राकृतिक कारण भएकाले कसैलाई दोष दिन मिल्ने विषय होइन । सरकारको कमजोरीका कारण यस्तो भयो भनेर अन्य विभिन्न आलोचना गरेजस्तो पनि यो विषय होइन । तर, अबको सक्रियता र तदारुकता भने देखिनुपर्छ, त्यसका आधारमा भने प्रशंसा र आलोचना गर्न सकिन्छ । यो शक्तिशाली भूकम्पको धक्का पश्चिम नेपालका सबैजसो जिल्लाका साथै राजधानी काठमाडौंसम्म महसुस भएको थियो । भारतको राजधानी नयाँदिल्लीसम्म पनि भूकम्पको धक्का महसुस भयो ।
यसबाट जाजरकोटमा बढी मानिसहरूको मृत्यु हुन पुगेको छ । ठूलो भूकम्पपछि पराकम्पनहरू बढी आउने गर्छन् । त्यस क्षेत्रमा हालसम्म लगातार पराकम्पनहरू गइरहेका छन् । नेपालको इतिहासमा एक/एक सय वर्षको अन्तरालमा महाभूकम्प जाने गरेको छ भनेर विज्ञहरूले बताउने गरेका छन् । पछिल्लो पटक विसं १९९० सालको माघ २ गते गएको भूकम्प सर्वाधिक शक्तिशाली थियो । त्यस भूकम्पको अनुभव गर्ने केही व्यक्तिहरू हालसम्म जीवित छन् । त्यसपछि पनि ठूला खालका भूकम्पहरू बेलाबेलामा गइरहे । २०४५ र २०६८ सालमा पनि ठूला खालका भूकम्प गएका थिए र केही मानिसहरूले ज्यान गुमाउनुपरेको थियो ।
वर्तमान पुस्ताले थाहा पाउने गरी महाभूकम्प २०७२ साल वैशाख १२ गते शनिबार गएको थियो । त्यस भूकम्पले नेपालमा ठूलो धनजनको क्षति ग¥यो । दश हजारभन्दा बढी मानिसको मृत्यु भयो । त्यसभन्दा धेरै संख्यामा मानिसहरू घाइते भए । मानवनिर्मित ठूला खालका भौतिक संरचना, राणकालीन दरबार, धरहरालगायत भग्नावशेषमा परिणत भए र धेरै संख्यामा उपयोग गर्न नमिल्ने गरी क्षति भए । त्यसका पराकम्पन पाँच हजारभन्दा बढीको सामना नेपालीहरूले अहिलेसम्म गर्दै आइरहेका छन् । पश्चिम नेपालमा पाँच सय वर्षदेखि भूकम्प गएको छैन भनिँदै थियो । यसले गर्दा नेपालको पश्चिम क्षेत्र भूकम्पको जोखिम नभएको क्षेत्र मनिन्थ्यो तर केही समय पहिलेदेखि त्यस क्षेत्रमा लगातार भूकम्प गइरहेको छ ।
शुक्रबार रातिको भूकम्प यीमध्ये सबैभन्दा ठूलो थियो र यसबाट क्षति धेरै हुन पुग्यो । केही जनप्रतिनिधिलगायत सर्वसाधरणको मृत्यु हुन पुग्यो । अझै भग्नावशेषमा पुरिएका मानिस जीवत वा मृत अवस्थामा धेरै हुनसक्छन् । तिनको उद्दार यथाशक्य छिटो गर्नु आवश्यक छ । २०७२ सालको भूकम्पमा हप्ता दश दिनपछि पनि केही मानिसको जीवतै उद्दार भएको दृष्टान्त रहेको हुँदा पुरिएर रहेका मानिसहरूलाई जीवितै भेटिन सक्ने सम्भावनालाई नकार्न मिल्दैन । नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संघसंस्थाले उद्दारमा सक्रियताका साथ काम गरिरहेको देखिएको छ तर अझै यसमा कमी भएका खण्डमा त्यसमा उद्दार गर्न सेना तथा प्रहरीहरूको संख्या वृद्धि गर्नु उचित हुन्छ ।
जुन घटना भयो त्यसबाट दुःखद् परिणाम त आइ नै सकेको छ र यसलाई टार्न सकिँदैन तर अब घाइतेको उपचार, मृतकको अन्तिम संस्कार, घरबार तथा आफन्तविहीन बन्नपुगेकालाई बस्ने, खाने, लाउने व्यवस्था मिलाउन तदारुकता अन्त्यन्त आवश्यक छ । यसका लागि सरकारले यथोचित व्यवस्था मिलाओस् । भोलिका दिनमा राहतमा समेत घोटला भएका दृष्टान्त दोहोरिनु हुँदैन । उद्दार र राहतको सराहना हुनसकोस् । यस भूकम्पमा परेर घाइते भएकाहरूको हाम्रो तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच