रुपन्देहीका स्थानीय तहद्वारा भूकम्पपीडितलाई राहत

रासस
Read Time = 5 mins

लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताउनुभयो ।

यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई रु पाँच/पाँच लाख सहयोग गरेको बताउनुभयो ।

यस्तै रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितका लागि राहत लिएर जाजरकोट पुग्नुभएको छ । दुवैजना चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोटलगायत खाद्य सामग्रीसहित जाजरकोट पुग्नुभएको हो ।

यसैगरी सियारी गाउँपालिकाले भूकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले सङ्कलन गरेको राहत सामग्री जाजरकोट पठाइएको छ । रोहिणी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा रु चार लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रमुख कल्पना खनालले बताउनुभयो ।

भूकम्पपीडितलाई बाँके र बर्दियाबाट १० लाखको राहत

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । भूकम्पपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले बाँकेको तर्फबाट जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी रु पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।

एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई रु चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताउनुभयो । अर्यालको नेतृत्वमा बर्दियामा रहनुभएका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुगेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?