पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 6 mins

पाेखरा। नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदुतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने भएको छ ।

मंगलवार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोशिएशन र होटल एशोसिएशन पोखरा सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस ) प्रतियोगिता मंसिर ९ गते आयोजना हुने भएको हो ।

नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पर्यटक नोभेम्बर २३ मा पोखरा आउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताउनु भयो । उहाँले प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बताउनु भयो । फेवाताल किनार बाराहीघाटबाट शुरु हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुनेछ । उहाँले प्रतियोगिताले दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ, बनाइसकेपछि पहिलो पटक पनि ड्रागन बोट प्रीतयोगिता गर्दा पहिलो चार्टड फ्लाइट भएको थियो । यो बीचमा केही राजनीतिक व्यक्तित्वको आगमनमा भयो । तर अब यो पर्यटन प्रवद्र्धनका लागि दोस्रो चार्टड फ्लाइट पोखरा हुँदैछ । हामीले रेगुलर फ्लाइट चलाउन नसकेको अवस्थामा पनि एउटा दुई वटा गरेर चार्टड फ्लाइट ल्याउन सक्दा राम्रो हुन्छ । चीनको सहयोगमा नै पोखरा एयरपोर्टको निर्माण भएको हुनाले मलाई लाग्छ जति धेरै एक्टिभिटी गर्छौं त्यति धेरै चार्टड फ्लाइट बढाउन सकिन्छ । निरन्तर रुपमा लागिरहने हो भने प्रवद्र्धन हुन्छ । नोभेम्बर २३ मा दोस्रो चार्टड फ्लाइट ल्याण्ड हुँदैछ, १०४ जना लिएर । सबैखालेले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य हो ।’

नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिष्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ । नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औँ तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीको प्रतिष्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोभिङ-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?