काठमाडौं । केही समय अघिसम्म दुर्गा प्रसाईं नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । अध्यक्ष केपी शर्मा ओलीको ‘प्रिय’ बनेर उहाँले केन्द्रीय सदस्य ‘उपहार’ पाउनुभएको थियो । कुनै समय आफूलाई माओवादीको कार्यकर्ता बताउने प्रसाईं तत्कालीन माओवादी र एमालेलाई एक ठाउँमा ल्याउन सूत्रधारका रूपमा समेत अघि सर्नुभएको थियो । त्यतिबेला हाल प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीलाई आफ्नो घरमा राखेर मार्सी चामलको खाना खुवाएको तस्बिर भाइरल बनेको थियो ।
नेकपा विभाजनपछि उहाँ एमालेतिर लाग्नुभयो । ओलीलाई ‘हजुरबुवा’ भनेर पुकार्ने ‘नाति’ प्रसाईं समयसँगै फेरिनुभयो । अहिले उहाँको सबैभन्दा ठूलो दुश्मनी नै एमालेसँग छ । अध्यक्ष ओलीविरुद्ध ‘अनर्गल अभिव्यक्ति’ दिएर भाइरल हुनुभएका प्रसाईं एमालेसँगै पौंठेजोरी खोजिरहनु भएको छ । खासगरी एमाले अध्यक्ष ओली र युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतविरुद्ध प्रसाईंले व्यक्तिगतस्तरमा उत्तेजक अभिव्यक्ति दिइरहनु भएको छ । ओली-बस्नेत र प्रसाईंको वाकयुद्धले आज (बिहीबार) उपत्यका अस्तव्यस्त हुने देखिएको छ ।
त्यसो त प्रसाईं स्वयंले एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा, लघुवित्त लगायतका विषयलाई लिएर ‘कालोमोसो दस्ता’ घोषणा गर्नुभएको थियो । जमलमा कालोमोसो दलिएको प्रतिवादमा प्रसाईंनिकट समूहले झापामा बस्नेत जानुभएका बेला कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । बस्नेत चढेको गाडीमा आक्रमणसमेत गरिएको थियो । त्यसपछि प्रतिकारका रूपमा प्रसाईंमाथि मोसो दलिएको थियो ।
एमाले पनि अघोषित रूपमा प्रसाईंविरुद्ध खनिएको छ । एमाले नेता महेश बस्नेत प्रत्यक्ष रूपमै प्रसाईंको सामना गर्न सडकमै उत्रिनुभएको छ । युवा संघका नाममा एमाले र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले आज एकैदिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् । बैंक, सहकारी र लघुवित्त पीडित जनतालाई विश्वासमा लिएर प्रसाईं सडक जनप्रदर्शनमा उत्रिनुभएको छ । त्यसमा राजतन्त्र ब्युँताउने एजेण्डा पनि थपिएको छ । देशभरबाट लाखौँ मान्छे उतारेर व्यवस्था उल्टाउने उहाँको दाबी छ ।
प्रसाईंले घोषणा गरेको आन्दोलनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट मान्छेहरू आइरहेका छन् । अझै आउने क्रम जारी छ ।
व्यवस्था उल्टाउन प्रसाईंले आन्दोलनको घोषणा गरेकै बेला नेकपा एमालेको युवा भ्रातृ संगठन युवा संघले प्रतिरोध गर्ने घोषणा गरेको छ । युवा संघले बिहीबार नै काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले युवा संघलाई कार्यक्रम गर्न तीनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम गर्न ठाउँ छुट्याइदिएको छ ।
मध्यराति महिलामाथि अमानवीय व्यवहार
प्रसाईं समूहले गर्न लागेको जनप्रदर्शनमा सहभागी हुन आएका महिलाहरूमाथि दुव्र्यवहार भएको छ । काठमाडौंको लोकन्थलीस्थित एक बैंक्वेटमा बसेका उनीहरूमाथि बुधबार राति एक समूहले अमानवीय दुव्र्यवहार गरेको हो । राति बास बसेको ठाउँबाट पुरुषहरूको एक समूहले हटाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरूलाई पुरुषको समूहले बाहिर निकालिरहेको देखिन्छ । दुर्गा प्रसाईंका समर्थकहरूले भने महिलाहरूलाई रातिको समयमा लखेट्ने काम युवा संघले गरेको भन्दै आलोचना गरेका छन् । तर, युवा संघले भने त्यसलाई अस्वीकार गरेको छ ।
युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठ भएको आशंका गरेको छ । अध्यक्ष क्षितिज थेबेले विज्ञप्ति जारी गर्दै युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘घुसपैठबारे हामीले आन्तरिक रूपमा छानविन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’
जहाँ मैले पाइला टेक्छु, त्यहाँ एमाले सकिन्छ : प्रसाईं
अभियान्ता दुर्गा प्रसाईंले आफूले पाइला टेकेको ठाउँमा एमाले सकिने चेतावनी दिनुभएको छ । काठमाडौंमा हुने जनप्रदर्शन अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले एमाले कोशी, मधेशपछि अब काठमाडौंमा सकिने बताउनुभएको हो । ‘केपी ओली र महेश बस्नेतको राज हो यो ? बिर्तामोडमा, मेची अञ्चल मात्रै होइन मधेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदै छ’ उहाँले भन्नुभयो, ‘शिकारीले शिकार गर्दा पनि निदाएर गर्दैन । बिउँझाएर मात्रै गर्छ । राति चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा युवा संघका अपराधीले जुत्ता बझारे, एकजनाको दाँत खुस्केको छ । यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्री के हेरेर बस्नुभएको छ ?’
प्रसाईंले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरूलाई चुनौती दिनुभयो । प्रसाईंले आफ्नो लडाइँलाई जीवनमरणको संघर्षका रूपमा व्याख्या गर्नुभयो । ‘यो लडाइँ जित्यौँ, हामी बाँच्यौँ, यो लडाइँ हार्यौँ हामी मर्यौँ,’ उहाँले भन्नुभयो, ‘म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो ।’
डिआइजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर, करिब सात हजार सुरक्षाकर्मी परिचालन
बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब सात हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा एक हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा दुई हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३०० बढी सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजनाअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट दुई सयजना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।
प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डिआइजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ । प्रहरीले प्रसाईंको घर आसपासमा सुरक्षा तैनाथी बढाएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ स्थित प्रसाईं निवास वरिपरि सुरक्षा तैनाथी बढाइएको हो ।
सीमा नाकामा कडाइ, ठाउँठाउँमा निषेधाज्ञा
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले एकैदिन गर्ने शक्ति प्रदर्शनका कारण काठमाडौं उपत्यकाका ठाउँठाउँमा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौंका जिल्ला प्रशासन कार्यालयले सुरुमा माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि काठमाडौं प्रशासनले बालुवाटार र शीतलनिवास वरपर पनि निषेधाज्ञा जारी गरेको छ । काठमाडौं मात्रै होइन ललितपुर प्रशासनले मन्त्रीनिवास पुल्चोक क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र घोषित स्थानमा पाँच जनाभन्दा बढी मानिसहरू उपस्थित हुन पाउने छैनन् । विभिन्न ठाउँमा निषेधाज्ञा लगाउने मात्रै होइन काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । अवाञ्छित गतिविधि गर्नसक्ने’ भएकाले निगरानी बढाइएको प्रहरीको भनाइ छ । सुरक्षा संयन्त्रले सीमा नाकासमेत अहिले चेकजाँचमा कडाइ गरेको छ ।
अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध
ट्राफिक प्रहरीले अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहले गर्न लागेको प्रदर्शन लक्षित गरेर प्रहरीले अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो । प्रदर्शनले उपत्यकाभरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो । यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कनुपूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ । सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारीसाधन जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको कार्यक्रमलाई शान्तिपूर्ण बनाउन माग गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै दुवै समूहलाई आफ्ना कार्यक्रम र प्रदर्शन शान्तिपूर्ण बनाउन र सरकारका तर्फबाट पनि सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न माग गरेको हो । बिहीबार कार्यक्रम हुने भए पनि मंगलबारदेखि नै सामान्य विवादका घटनाहरू आइरहेका छन् । मंगलबार साँझ नै प्रसाईंको कार्यक्रममा सहभागिताका लागि काठमाडौं आएका महिलामाथि एमालेको युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । त्यसपछि दुवै समूह उग्र देखिएकाले आयोगले पनि संयमता अपनाउन अनुरोध गरेको हो । आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान, प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र संयमित हुन आयोगले आग्रह गरेको छ ।
समाजलाई विभाजित गर्न र राष्ट्रलाई कमजोर बनाउने शृंखलाबद्ध प्रयास : एमाले
नेकपा एमालेले समाजलाई विभिन्न ढंगले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउन शृंखलाबद्ध प्रयासहरू भइरहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले तीनबुँदे समसामयिक प्रस्ताव पारित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन शृंखलाबद्ध प्रयासहरू भइरहेको जनाएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंका एमालेले गरेको छ । बैठकले गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको आरोप छ । ‘जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरुद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदूषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन्,’ एमालेले भनेको छ, ‘यसबीचमा कतिपय ठाउँमा धार्मिक दंगाहरू समेत गराइएका छन् । तर, यस्ता अराजक क्रियाकलापप्रति गम्भीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ ।’ लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एमालेले दृढ संकल्प गरेको छ ।
देशलाई पछाडि फर्किन दिँदैनौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ जान नदिने बताउनुभएको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इतिहास भइसकेको राजतन्त्रको नाममा केही मानिस खुलेआम सडकमा उफ्रिन थालेको बताउनुभयो । एमालेले राजनीतिलाई दिशा नदिने हो भने अरूले अहिलेको जनअसन्तुष्टिलाई सम्बोधन गर्न नसक्ने उहाँले बताउनुभयो । ‘हामी देशलाई पछाडि फर्किन दिँदैनौँ, प्रतिगमनतर्फ जान दिँदैनौँ । नेकपा एमालेको संकल्प हो, उद्घोष हो,’ उहाँले भन्नुुभयो, ‘देशलाई प्रतिगमनतर्फ जाने अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य हुँदैन ।’ अहिलेको सरकारको निकम्मापनले प्रतिगमनतर्फ जाने अनुकूल परिस्थिति सिर्जना गर्नुका साथै प्रतिगामी शक्तिहरूलाई हौसला मिलेको पनि ओलीको आरोप छ । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने उहाँले बताउनुभयो ।
प्रतिगामीहरू अन्तिम छटपटीमा छन्, उनीहरूको सपना पूरा हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘संसारकै नियम हो- पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन् । अहिले पनि त्यही कोसिस हुँदै छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच