काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो । रास्वपाले आफ्नो मुख्य तीन राजनीतिक मान्यतालाई अघि सारेको छ । जलेश्वरमा बसेको संयुक्त बैठकबाट पारित राजनीतिक प्रस्तावनामा सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद गरी तीन मान्यता अघि सारेको छ । प्रतिवेदनको प्रस्तावनामा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो ।’
शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उल्लेख गर्दै पारित प्रस्तावनामा लेखिएको छ, ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ ।’ प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ ।
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ । लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत-साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानीअनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख छ । रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ । राजनीतिक प्रस्तावना पारित भएसँगै रास्वपाले पार्टीमाथि लाग्दै आएको ‘विचारहीनता’को आरोपलाई चिरेर आफ्नो राजनीतिक कित्ता स्पष्ट गरेको छ । प्रस्तावनाको सारतत्वभित्र रहेर रास्वपाले आफ्नो सबै नीति-नियमहरू तय गर्नेछ ।
गणतन्त्रमा प्रष्ट, संघीयता र धर्म निरपेक्षतामा अस्पष्ट
रास्वपाले आफू गणतन्त्रप्रति प्रतिबद्ध रहेको पनि प्रतिवेदनमार्फत स्पष्ट पारेको छ । यसअघि रास्वपा नेतृत्वको गणतन्त्रप्रतिको प्रतिबद्धतालाई लिएर विभिन्न कोणबाट बहस भएको थियो । तर, व्यवस्था होइन, अवस्था परिवर्तन गर्ने मूलनारा दिएको रास्वपाले यही व्यवस्थाभित्रैबाट सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न सकिने बताउँदै आएको थियो । यद्यपि, उसले प्रदेश संरचनाको आवश्यकता नभएको भनी गत निर्वाचनमा प्रदेश तहमा उम्मेदवारी नै दिएको थिएन । त्यसैले संघीयताप्रति यस दलको दृष्टिकोण अझै स्पष्ट हुन सकेको छैन । यस्तै, धर्म निरपेक्षता वा सापेक्षताका विषयमा राष्ट्रिय रूपमै विवाद र बहस भइरहेका बेला संसद्को चौथो ठूलो शक्तिका रूपमा रहेको दलको धारणा के हो ? भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । त्यसबारे प्रतिवेदनमा स्पष्ट पारिएको छैन । तर, सनातन सभ्यता र धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान गर्ने प्रतिवेदनमा उल्लेख छ ।
सबै सांसद केन्द्रीय सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । सभापति रवि लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव बुधबारको बैठकमा पेस गर्नुभएको थियो । सभापतिको प्रस्तावलाई बैठक पारित गरेको हो । सात प्रदेशका सभापतिलाई भने पदेन केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । यसअघि रास्वपाका २१ (उपसभामुखसहित) मध्ये ६ जना सांसद मात्र केन्द्रीय समितिमा थिए । बुधबार भएको निर्णयपछि बाँकी १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन् । सांसदबाट थपिएका केन्द्रीय सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनीष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की र असिम शाह छन् । यसअघि नै केन्द्रीय सदस्य रहेका सांसदहरूमा सभापति लामिछानेसहित डिपी अर्याल, गणेश पराजुली, सोविता गौतम, सुमना श्रेष्ठ र विन्दवासिनी कंशाकार हुनुहुन्छ ।
पार्टी गठनको बेला २४ सदस्यीय रहेको केन्द्रीय समितिलाई २०७९ फागुन १ गते १६ जना थपेर ४० पुर्याइएको थियो । त्यसबेला निशा मेहता, विन्दवासिनी कंशाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला, हरि भट्ट, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री थिए । बुधबार केन्द्रीय सदस्य बढाउन अघि कायम केन्द्रीय सदस्यको संख्या ३८ थियो । रास्वपामा ३९ जना केन्द्रीय सदस्य भए पनि मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको हो । अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ । रास्वपाको विधानमा केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।
स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा नियुक्त
रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । वाग्लेलाई पार्टीमा तेस्रो वरीयता दिइएको छ । यस्तै, सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको छ । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा तोकेको छ । पार्टीका सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल, रमेश प्रसाईं रहनुभएको छ । यस्तै, विवेकशील पार्टीका पूर्वनेता पुकार बमलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौं : सभापति लामिछाने
रास्वपाका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउनुभएको छ । अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरूपमा केही कमी कमजोरी रहेको बताउनुभयो । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःख/सुखलाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्ने दाबी गर्दै सभापति लामिछानेले भन्नुभयो, ‘हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि, शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःख÷सुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ सभापति लामिछानेले मधेशलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच