राजाका विरुद्ध एक्लाएक्लै लडेका राजनीतिक दलहरू आजभोलि एउटै साधारण व्यक्तिसँग पनि डराउन थालेका छन् । सेनाका बन्दुक र बुट देख्दादेख्दै पनि रत्तिभर नडराई संघर्षका मैदानमा होमिएका क्रान्तिकारी भनिएका पार्टीका शीर्ष नेताहरूलाई अचेल राजावादी भनिएको जो कोही देखे पनि तर्सिने रोगले सताएको छ । प्रहरीको घेराभित्र रहेर पनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदिको नारा घन्काउने हिम्मतीला नेताहरूको होस पूर्वराजको छायाँ देख्ने बित्तिकै उड्न थालेको छ । कुनै एउटा व्यापारीले गणतन्त्र सिध्याइदिन्छु भनेर कुर्लियो भने आफूले खाइपाई आएको सर्वस्वै गुम्छ कि झैँ गरी सत्ताधारी नेताहरूको मनस्थिति खल्बलिएको पाइन्छ ।
नेपाली कांग्रेसले त राणाकालदेखि नै संघर्ष गर्दै आएको थियो । राजाभन्दा पनि राणाहरू सयौं गुणा क्रुर थिए र पनि राणाशासन समाप्तिको संघर्षमा होमिन कांग्रेसहरूले खुट्टा कमाएका थिएनन् । त्यही विरासत बोकेको पार्टीका वर्तमानका नेताहरूले राणाका विरुद्धमा उमेरका कारण लड्न नपाएको भए तापनि राजाका विरुद्धमा दुई-दुई पटक लडेकै हुन् । प्रजातन्त्रवादी राजा होइन कि तानाशाही पक्षधर राजतन्त्र अन्त्यका लागि दुई पटक लडेका तिनै नेताहरूसमेत कतै पूर्वराजाका क्रियाकलापले गणतन्त्रमा धक्का पुग्ने त होइन भन्ने डर पालेर बसेको पाइन्छ ।
किन डराउँछन् यी दलहरूका नेताहरू ? किन आफूले गरेका राम्रा कामका बयान गरेर आफूलाई जनमानसमा स्थापित गर्न सक्दैनन् ? गणतन्त्र जोगिने भनेको राजनीतिक दलहरूले जनतामा गणतन्त्रप्रतिको विश्वासमा वृद्धि गराउँदै लगेर हो भने गणतन्त्र धरापमा पर्ने भनेको जनताको गणतन्त्रप्रतिका आस्था डगमगाउँदै गएपछि हो ।
नेकपा एमाले समेत विसं २०४६ र विसं २०६२/०६३ को जनआन्दोलनहरूमा नेपाली कांग्रेसको साथमा लागेर लोकतान्त्रिक व्यवस्था स्थापनार्थ संघर्षमा होमिएकै राजनीतिक दल हो । भलै अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओली बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै त्यतिबेलाको आन्दोलनले लोकतन्त्र आउँदैन भन्ने सन्देश दिँदै थिए र आन्दोलनकारीहरूको मनोबल खस्काउने प्रयत्न गर्दै थिए तर पनि नेकपा एमालेका अन्य नेता तथा कार्यकर्ताहरू हजारौंको संख्यामा मैदानमै थिए । जेलनेल खाएकै हुन् र ज्यानको बाजी लगाएकै हुन् । आज त्यही दलका नेता तथा कार्यकर्ताहरू राजतन्त्रको भूत कतै ब्युँतेर आउने र आफूलाई खाने त होइन भनी त्राहिमाम भएका छन् ।
नेकपा माओवादी पार्टी त सशस्त्र द्वन्द्व गरेकै पार्टी हो । दोस्रो जनआन्दोलनमा लोकतन्त्र अरू पार्टीका एजेण्डा थियो तर गणतन्त्रको एजेण्डा प्रवेश गराउने पार्टी माओवादी नै हो । नेताहरूले गोप्य भेटघाट गर्दै राजा, भारत र विभिन्न शक्तिलाई ब्यालेन्समै राखेको भए तापनि गाउँघरका सोझासाझा युवाहरूमा भ्रम छर्दै हिंसात्मक आन्दोलनका लागि प्रेरित गरेका थिए । सत्र हजारको ज्यान जानेगरी उत्पात मच्चाउन पछि नपरेका तिनै माओवादी पार्टीका नेता तथा कार्यकर्ता पनि वर्तमान समयमा नैतिक हिसाबले सशक्त नभएको एउटै व्यक्ति अगाडि पर्दा पनि डरले ढोका थुनेर बस्ने र बर्बराउने गर्न थालेको देखिन्छ ।
जबकि नेपालको राज्यसत्ता विसं २०४७ देखि यताको पूरै समयभन्दा हुन्छ यिनै तीनवटा पार्टीका नेताहरूका हातमा छ । मात्र तीन वर्ष जति ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । बितेका तीस वर्षमा भए गरेका राम्रा कामहरूको सम्पूर्ण जस यिनै तीनवटा पार्टी र नेताहरूमा जान्छ भने जति काम बिगारे तिनको अपजस पनि यिनै नेताहरूको टाउकामा पर्दछ । राम्रा काम गरेको मान्छे हत्तपत्त सानातिना आँधिबेहरीसँग डराउनै पर्दैन र डराउँदैन पनि । नराम्रो काम बढी गरेको छ भने हुरी त चल्नै पर्दैन सामान्य हावा चले पनि काम्न थाल्दछ । लोककथामा भनिए जस्तै चोरको खुट्टा काट भन्दा हत्तपत्त चोरले खुट्टा ताने जस्तै हुन्छ ।
किन डराउँछन् त यी दलहरूका नेताहरू ? किन आफूले गरेका राम्रा कामका बयान गरेर आफूलाई जनमानसमा स्थापित गर्न सक्दैनन् ? गणतन्त्र जोगिने भनेको राजनीतिक दलहरूले जनतामा गणतन्त्रप्रतिको विश्वासमा वृद्धि गराउँदै लगेर हो भने गणतन्त्र धरापमा पर्ने भनेको जनताको गणतन्त्रप्रतिका आस्था डगमगाउँदै गएपछि हो । जब गणतान्त्रिक व्यवस्थामा सम्पन्न कामहरूले जनतालाई सन्तुष्टि दिन सक्दैनन् तबमात्र व्यवस्था कमजोर हुन्छ । जनता अर्कोतिर आकृष्ट हुँदै जान्छन् । के यी नेताहरूबाट भए गरेका असल कामहरूलाई यिनै नेताहरूका खराब क्रियाकलापले छपक्कै ढाक्दै गएको हो र ?
मान्छेले समयले विकास गरेको हो भन्छन् । समयका कारणले विकास हुने भएको भए पञ्चायतकालभरि किन अपेक्षित विकास हुन सकेन ? दक्षिण कोरिया र नेपाल आर्थिक सामाजिक दृष्टिले करिब पचास वर्षअघि उस्तै थिए तर पञ्चायतकालभरमै नेपाल कोरियासँग तुलना गर्नै नमिल्ने गरी किन खस्कियो ? हुन त पञ्चायत पछि पनि उन्नतिको बाटो समातेको आभाष हुन सकेको छैन र पनि राजाका कालमा भन्दा बिग्रिएको भनेर भनिहाल्न मिल्ने अवस्था छैन । मात्र यति हो कि त्यतिबेला एकजनामात्रै राजा थिए, अहिले धेरै राजा देखिए । सबै राजालाई बक्सियोस् भन्न जनताका मनले नमानेका कारण गणतन्त्रप्रति केहीमा वितृष्णा बढ्न थालेको हो तर यी नवराजाहरूलाई जनताकै तहमा ल्याउने व्यवस्था पनि गणतान्त्रिक व्यवस्था नै हो भन्ने पनि बुझ्नुपर्दछ ।
काम गर्दागर्दै पनि केही नकारात्मक कामहरू चर्चामा आउँदा मुख्य र ठूला भनिएका दलहरूको प्रतिष्ठामा आँच आउन पुग्यो । केही भ्रष्ट नेताहरूका कारण सादगी नेताहरूले पनि ती नेताहरूको अपकर्मको फल भोग्नु परेको छ । बोराभित्रका दुई-चारवटा मात्रै आलु कुहिए पनि बोरै डङ्डङ्ती गनाउँछ । त्यस्तै ठूला दलका केही नेता गनाउँदा गणतन्त्रका लागि लडेका समग्र राजनीतिक दलहरू नै गनाउन पुगेका छन् । अझ जो बढी बदनाम नेता छ, पार्टीभित्र उसैको बढी बोलवाला देखिँदा ठूला दलहरूको प्रतिष्ठामा आँच आउँदै गएको छ ।
राजनीति दल र दलका नेताहरू जनताको मनमा बस्न सफल भए कसैले पनि ती दलहरूको अस्तित्वमाथि धावा बोल्न सक्दैनन् । दललाई जनताको मनभित्र पुर्याउने भनेको दलका कार्यकर्ताहरूले हो । कार्यकर्ताहरूमा उत्साह, हौसला र प्रेरणा भएमात्रै सक्रियताका साथ दलको प्रचारमा लाग्दछन् ।
समयमा काम फत्ते नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको छत्रछायाँ वर्तमान प्रधानमन्त्रीलाई मिल्यो भनेर त्यो भन्दा पनि चर्चित ठेकेदार पप्पु भित्र्याउन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हतारो भएको देखिन्छ । नेकपा एमालेका सदस्य भएर सांसद आदि पदहरूमा आसीन ठूला व्यापारी एमालेका नेताहरूसँग अघाएपछि कांग्रेस प्रवेश गर्दछन् । कांग्रेसमा आएकै दिनदेखि महासमिति सदस्य, केन्द्रीय सदस्य र सांसद पद अर्पण गरेर कांग्रेसले स्वागत गर्दछ । यस्तै प्रवृत्ति बढ्दै जाँदा दलहरूप्रतिको विश्वास उड्दै गएको हो । पार्टीको आदर्शका लागि काम गर्नेहरू हतोत्साही हुँदै गएका छन् भने स्वार्थीहरूले अवसर प्राप्त गर्ने गरेका छन् । पार्टीहरूमा खिया पर्नुको प्रमुख कारण यसैलाई मान्न सकिन्छ ।
पोखरामा प्राध्यापक कुसुमाकर न्यौपाने छन् । उनी लोकतन्त्रका लागि पटक-पटक जेल गएका मान्छे हुन् । उनले आस्था राख्ने लोकतान्त्रिक दलको उन्नति प्रगतिमा निरन्तर क्रियाशील छन् । विद्यावारिधि गरेको विद्वान् भएकाले प्रशिक्षण कार्यक्रममा दौडिरहन्छन् । सुविधा प्राप्त नहुने काममा उनले आस्था राख्ने दलले उनलाई खटाइरहन्छ । जब कुनै अवसर आयो या कुनै उच्चस्तरको सुविधा प्राप्त हुने मौका आयो भने उनलाई पाखा पारेर उनीभन्दा कनिष्ठ र योगदानविहिनलाई नियुक्तिका लागि सिफारिश गरिन्छ । अनि त्यो पार्टीका नेतामाथि र दलमाथि कसैले औँला ठड्याउँदा उनले कसरी प्रतिवाद गरून् ?
यो एउटा दलको उदाहरण हो । यो प्रवृत्ति तीनवटै ठूला दलहरूमा छ । अतिथि देवो भवः भने झैँ नवप्रवेशीलाई अवसर दिनु नै दलका नेताका निम्ति पवित्र कर्म हुने गरेको छ । माओवादी पार्टीको त कुरै गर्नु परेन । जंगल पसेर क्रान्तिमा होमिएका कहाँ पुगे कहाँ, अवसरका लागि माओवादी बनेकाहरूकै रजगज त्यो पार्टीमा देखिन्छ । यही प्रवृत्ति मौलाउँदै जाँदा दलहरूका असल कार्यकर्ता मौन हुँदै गएका छन् र अवसरवादीले टाउको उठाउने अवसर पाएका छन् ।
राजनीति दल र दलका नेताहरू जनताको मनमा बस्न सफल भए कसैले पनि ती दलहरूको अस्तित्वमाथि धावा बोल्न सक्दैनन् । दललाई जनताको मनभित्र पुर्याउने भनेको दलका कार्यकर्ताले हो । कार्यकर्ताहरूमा उत्साह, हौसला र प्रेरणा भएमात्रै सक्रियताका साथ दलको प्रचारमा लाग्दछन् । मनैदेखि विचार, आदर्श आदि अंगिकार गरेर दलको सदस्यता लिएकाको मनोबल उकास्न लाग्नुको सट्टा दलहरू मौकापरस्तका पोल्टामा पर्दै गए भने दलहरूमा धमिरा लाग्नुको अरू के नै विकल्प हुन्छ र ?
बिग्रेको केही छैन । अहिलेसम्म जेजति हानी नोक्सानी भयो, त्यो परिपूरण हुन नसक्ने अवस्था पनि छैन । जनता गणतान्त्रिक व्यवस्थाबाट आजित भइसकेको अवस्था पनि यो होइन । राजतन्त्रका पछि आँखा चिम्लेर सारा जनता दौडिएका पनि छैनन् । पुराना दलहरू आत्तिएर दुला पस्नुपर्ने बेला आइसकेको पनि छैन । मात्र यी दलहरू सच्चिएर जनताका काममा केन्द्रित हुँदै आफ्नो दलभन्दा देश र जनता ठूला हुन् भन्ने आशयका साथ काम गर्नु आजको आवश्यकता हो ।
मानव बेचविखनमा यिनै दलका नेताहरू मुछिए भने, राज्यको जग्गा हिनमिना प्रकरणका अगुवा यिनै दलहरूका नेता भए भने, ठूलाठूला व्यापारिक घोटालामा यिनै दलका नेताहरू संलग्न देखिए भने, ज्यान मार्ने उद्योगमा यिनै दलका सांसद सरिक भए भने, संसद्वादी भनिएका दलहरू नै संविधान मिचेर बारम्बार संसद् विघटन गर्न थाले भने चाहिँ गणतन्त्रवादी भनेका यी दलहरू र यी दलका नेताहरूलाई त कसैले जोगाउन सक्दैन नै, साथसाथै व्यवस्था नै धरापमा पर्दै जान्छ ।
नाम Kusumakar उल्लेख भएकोमा कुसुमाकर न्यौपाने सरलाई बधाई छ।तर यहाँ काँग्रेस भित्रका सबै Kusumakar हरुलाई सम्बोधन गर्ने लेखकको आसय भएकोले लेखकलाई सबै Kusumakar हरुको तर्फबाट बधाई छ।यसरी पार्टीहरुका नेताहरुको गल्ती र कमजोरीलाई जरैदेखि उधिन्न आगामी दिनहरूमा पनि लेखकलाई सरस्वतीको वरदान निरन्तर प्राप्त होस्।