हाम्रो देशमा केही न केही प्रकरणहरू भइरहेका हुन्छन् । हुन त यस्ता प्रकरण अन्य देशहरूमा पनि हुने गरेका उदाहरण प्रसस्त छन् तर केही देशमा कानुन कडा हुने र सजायमा मृत्युदण्डकै व्यवस्था भएकाले खुलेआम भ्रष्टाचारका घटना कमै हुनेगरेका छन् । विकसित देशहरूमा भन्दा अविकसित तथा अल्पविकसित देशहरूमा भ्रष्टाचारका काण्ड बढी हुनेगरेका छन् । हाम्रो देशमा पञ्चायत कालमा पनि केही यस्ता काण्ड हुनेगरेका थिए तर राजाको प्रत्यक्ष शासन भएका कारण नेताहरू राजासँग डर मान्थे । बोइङ काण्ड, गलैँचा काण्ड, सुन काण्डहरू त्यसबेला पनि भएका थिए तर त्यस्ता काण्डहरू समयमै नियन्त्रणमा आए र संलग्नलाई कारबाहीको दायरामा ल्याइएको थियो ।
प्रजातन्त्रकको पुनस्र्थापनापछि पञ्चायतले गरेको जस्ता भ्रष्टाचारका घटनाहरू नहोलान् भन्ने थियो । तर, भोका उडुसले झन् बढी रगत खान्छन् भनेझैँ गरी प्रजातान्त्रिक कार्यकालका नेताहरूले पञ्चायतका नेताहरूको भन्दा सयौं गुणा भ्रष्टाचार गर्न पुगे । अहिले एनसेल प्रकरण चर्चामा छ । यसभन्दा केहीअगाडि केही घटना सेलाउन पाएकै छैनन् फेरि-फेरि नयाँ-नयाँ प्रकरण सतहमा आइरहेकै छन् । प्रजातन्त्रको आगमनपछि यस्ता घटना शृंखलाबद्ध रूपमा आउन थालेका हुन्, हालसम्म आइरहेकै छन् । लाउडा, धमिजा, चेज एयर हुँदै हवाई यातायातका क्षेत्रमा न्यारोबडी, वाइडबडीलगायत काण्डहरू भए ।
नेपालसँगै हवाई यातायातको थालनी गरेका मुलुकहरूसँग हाल पचासौंवटा जेट विमान भइसकेको सन्दर्भ आउँदा नेपालमा एउटामात्र जेट र केही साना विमानमात्रले सेवा दिइरहेका छन् । यसो भन्नुपर्दा लज्जा बोध हुन्छ तर यो यथार्थ हो । निजी क्षेत्रसँग भने केही संख्यामा विमान छन् । हवाई यातायात क्षेत्रमा मात्र होइन सबै क्षेत्रमै यस्तै छ, जताततै भ्रष्टाचारै भ्रष्टाचार र अनियमितता । अनियमितताका क्षेत्र अनेकौं छन् । जो डाडुपुन्यु हातमा लिने ठाउँमा पुग्छ उही कमाउ धन्दामा लागिहाल्छ । नियमित बाटोबाट कमाउन नसकिने भएकाले गर्दा ऊ अवैधानिक बाटो अपनाउन सुरु गर्छ । सेक्युरिटी प्रेस प्रकरण, बालुवाटारको ललितानिवास जग्गा प्रकरण हुँदै तीभन्दा ठूलाठूला काण्डका रूपमा नक्कली भुटानी शरणार्थी प्रकरण र हाल एनसेल प्रकरणसम्म आइपुगेको छ ।
पञ्चायतको अन्तिम समयमा नेपालकी पम्फादेवी ठकुरी नामकी महिलाका नाममा स्वीस बैंकमा अर्बौं रूपैयाँ राखिएको छ र प्रजातन्त्र आयो भने त्यो पैसा फिर्ता ल्याइन्छ अनि देश समृद्ध बन्नेछ भन्ने प्रचार गरिएको थियो । तर, यस्ता प्रचारले प्रजातन्त्र ल्याउन सहयोग गरे पनि प्रजातन्त्र आएपछि त्यसका बारेमा कतै पनि चर्चा भएन । हालका वर्षहरूमा पनि नेपालका धेरै नेताहरूको स्वीस बैंकमा खाता छ भन्ने गरिन्छ । हालका उच्च पदस्थ नेताहरूको विदेशमा खर्बाैंको लगानी रहेको प्रचार पनि बेला बेलामा हुनेगरेको छ । नेपालकै ठूला–ठूला व्यापारिक कम्पनी र सुपर मार्केटहरू नेताहरूकै हुन् भनेर पनि प्रचार हुँदैआएको छ । यसबाट भोका उडुसहरूले झन् बढी रगत चुसेको कुरा सावित हुँदै आएको छ ।
यस्तै शृंखलाहरूको पछिल्लो अध्यायका रूपमा आएको छ एनसेल । अर्बाैंको कर नतिरेको र सरकारबाट माफी गराएको, सरकारमा बसेकाहरूले चाहिँ एनसेलबाट नाजायज लाभ लिएर त्यसको कर छुट गरिदिएको चर्चा पुरानो बन्दैगएका बेला एनसेलको विदेशी लगानी कर्ता मलेशियाको आजियाटाले नेपाल सरकरालाई थाहै नदिई न्यून मूल्यमा एनसेलको आफ्नो शेयरको ८० प्रतिशत ‘स्पेक्ट्रलाइट युके’लाई बिक्री गरेर बाहिरिएको छ । चलखेल भएको आशंका गरिएको छ र संसदीय समितिमा प्रश्न उठेको छ । यस्ता कार्यहरू राष्ट्रविरुद्धका अपराध हुन् । राष्ट्रको अर्बाैंको कर छली गर्ने र खर्बाैंको सम्पत्ति रहेका यस्ता संस्थाहरूमा जस्केलाबाट छिरेर त्यसको आधिपत्य आफ्नो हातमा पार्ने गलत मससाय भएका जो भए पनि वास्तवमै राष्ट्रका शत्रु हुन् ।
चाहे जोसुकै होस् तिनको पहिचान हुनैपर्छ, कानुनले व्यवस्था गरेनुसारको सजाय तिनले पाउनै पर्छ । माथि भनिएका अनेकौं भ्रष्ट आचरणले गर्दा हाल देश खोक्रो बनिसकेको छ । देश मन्दीले आक्रान्त छ । जनताका हातमुखका समस्या थपिँदै गएका छन्, व्यापार व्यवसाय चल्न सकेका छैनन् । सहकारीहरू धमाधम बन्द भइरहेका छन् तर नेताहरू चाहिँ भीमकाय भ्रष्टाचारहरूमा संलग्न हुने र महँगामहँगा विलासिताका संशाधनको प्रयोग गर्ने कुरा स्वाभाविक हुन सक्दैन । यस्ता कार्यमा निषेध गरिनुपर्ने हुन्छ । संसदीय समितिले एनसेलको शेयर क्रयविक्रयमा रोक लगाउन सरकारलाई निर्देशन दिएको र यस विषयमा जानकारीका लागि प्रधानमन्त्रीलाई बोलाउने भएको छ । जसलाई सकारात्मक सक्रियताका रूपमा लिन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच