उच्च रक्तचाप नियन्त्रणका उपायबारे छलफल

हिमालय टाइम्स
Read Time = 4 mins

काभ्रेपलाञ्चोक । उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।

उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती-काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ ।

उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रारम्भिक चरणमा न्यूनतम उपकरणसमेत प्रदान गरिएको छ ।

यस्तै कार्यालयले तीन लाख ७२ हजार नौ सय ५१ नगरिकमध्ये उच्च रक्तचापको सम्भावित जोखिममा रहेका जिल्लाका ५० हजार ५० जनामध्ये पहिलो वर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य राखेको छ । जिल्लामा सन् २०२३ मे महिनाबाट उच्च रक्तचापसम्बन्धी नमूना कार्यक्रम सुरु गरिएको थियो । कार्यशालामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुने जनाइएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा खगेश्वर गेलालले नेपालमा नै नमूनाको रूपमा सुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गर्न योजना बनाइने बताउनुभयो । उहाँका अनुसार नसर्ने रोगको प्रकोप बढिरहेकाले मुख्यमन्त्री-जनता स्वास्थ्य कार्यक्रमसँग सहकार्य गरी उच्च रक्तचाप नियन्त्रण गरिने छ ।

नागरिकमा उच्च रक्तचाप बड्नुमा वातावरण प्रदूषण, बढी मात्रामा नुनको प्रयोग, बोसोयुक्त तथा अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन, बढ्दो जङ्कफुडको प्रयोग एवं जीवनशैलीमा सक्रियपनको कमी, मानसिक तनाव, धेरै मात्रामा रक्सी सेवन, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारक रहेको जनाइएको छ । यस्तै उच्च रक्तचापका कारण मुटु, मानसिक, मिर्गौलामा समस्याजस्ता घातक रोग लाग्ने भएकाले समय-समयमा आफ्नो स्वास्थ परीक्षण गराउनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?