विराटनगर । बिमा क्षेत्रको नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिसमक्ष विराटनगरका उद्योगी व्यवसायीले बिमासँग सम्बन्धित समस्याबारे ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ र प्राधिकरणको संयुक्त आयोजनामा बुधबार संगठनमा सम्पन्न बिमासम्बन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र विषम परिस्थितिबाट गुज्रिरहेको वर्तमान समयमा विभिन्न बिमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले उपभोक्ता थप मारमा परेको बताउनुभयो ।
उहाँले बिमा कम्पनीहरूले हाल बाढी, पहिरो, भूकम्प, आंँधी तुफानलगायत अन्य धेरै प्रकारका जोखिमलाई एउटै डालोमा राखेर बिमा गर्न बाध्य बनाएको भन्दै उपभोक्ताले आफूलाई आवश्यक शीर्षकमात्र छनोट गर्न दिइनुपर्ने बताउनुभययो ।
व्यवसायीले उद्योग व्यवसाय क्षेत्र विषम परिस्थितिबाट गुज्रिरहेको वर्तमान समयमा विभिन्न बिमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले थप मार परेको गुनासो गरेका छन् ।
अध्यक्ष सुरानाले लस अफ प्रफिट पोलिसीको प्रावधान नभएकाले ठूलो घाटा भइरहेको भन्दै उक्त पोलिसीको अबिलम्ब व्यवस्था गर्न, ट्रान्जिट इन्स्योरेन्सअन्तर्गत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागी लिइने पोलिसी दरमा लगभग समान भएकाले परिवर्तन गर्न माग गर्नुभयो ।
त्यसैगरी कच्चा पदार्थ र मिल मेसिनरीलाई जोखिम प्रकृतिका आधारमा फरक-फरक वर्गीकरण गरी सोहीअनुरूप प्रिमियम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै दाबी भुक्तानीको सरल व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रिमियम शुल्क संशोधन गर्र्दै वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबै प्रकारका प्रिमियम शुल्कमा नभई केहीमा बढी भएको बताउनुभयो । बिमाको कभरेजमा ग्याप नहोस् भनेर कतिपय पोलिसी एकीकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटका हकमा भोलुम कम हुनुका साथै प्रोपर्टी र ब्रेकडाउन पोलिसी एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमियम शुल्क बढी पर्न गएको भन्दै उहाँले बिमाप्रति उपभोक्ताले विश्वास गर्नुपर्ने बताउनुभयो ।
बिमा कम्पनीहरूमा रि-इन्स्युरेन्स गर्नुपर्दा ग्लोबल कम्पनीको शर्तसमेत पालना गर्नुपर्ने भएकाले कतिपय शीर्षकलाई एउटै बास्केटमा समावेश गर्नुपरेको उहाँको भनाइ थियो । बिमा प्राधिकरणमा पर्ने मुद्दाका सन्दर्भमा स्पष्ट पार्दै सिलवालले प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताको माध्यमबाट वार्षिक सयभन्दा बढी बिमासम्बन्धी मुद्दा छिनोफानो गर्दै आएको पनि सिलवालले जानकारी गराउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर प्रिमियम दर संशोधन गर्दै आएको बताउनुभयो । तथापि बिमा कम्पनीले उपभोक्ताको अधिकार हनन् नहुने गरी सरल र सहज वातावरणमा क्लेम सेटलमेन्ट गर्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, विराट व्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच