काठमाडौं । कोरिया जान रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूले गरेको प्रदर्शनका क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुई जनाको ज्यान गएको हो । झडपमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतका अनुसार ज्यान गुमाउनेमा दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह हुनुहुन्छ । राउतको ललितपुरको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीसँगको झडपमा घाइते हुनुभएका उहाँहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । प्रहरीको लाठी लागेर दुवैको मृत्यु भएको हुनसक्ने अनुमान छ ।
मध्याहृन पौने १ बजे राउतलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । तत्काल मेडिकल टिमले सिपिआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएको अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले बताउनुभयो । अस्पतालले दिउसो १ः१७ मा राउतलाई मृत घोषणा गरेको हो । मृतकको छातीमा कालो डाम देखिएको छ ।
प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यासमेत प्रहार गरेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले दर्जनौँलाई पक्राउसमेत गरेको छ । यसअघि उनीहरूले शुक्रबार मध्याहृन बालकुमारीमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनीसमेत गरेका थिए । पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानीजहाजसम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फारम भर्न नपाउने निर्णयविरुद्ध १८ जनाले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरूलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपिएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आहृवान गरेको थियो । अरू विद्यार्थीले फारम भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।
मन्त्रीको गाडीमा आगजनी
आफूहरूलाई पनि इपिएस कोरियाको उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी गराउनुपर्ने भन्दै आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । आन्दोलनरत युवाहरूले शुक्रबार मध्याहृन ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको बा२झ ५८६१ को गाडीमा आगजनी गरेका हुन् । गाडी जलेर नष्ट भएको छ । इपिएस कोरिया शाखामा भेला भएका सयौँ युवाले बालकुमारी–सातदोबाटो सडकमा तोडफोड र ढुंगामुढा गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले मन्त्रीको गाडी रोकेका थिए । गाडीमा दुई जना निजी सुरक्षा अधिकृत थिए । प्रदर्शनकारीले गाडीलाई घेरा हालेपछि उनीहरू बाहिर निस्किएका थिए । उनीहरू गाडीबाट निस्किएपछि प्रदर्शनकारीले गाडीमा आगजनी गरेका हुन् ।
गृहले बनायो समिति
ललितपुरको बालकुमारीमा भएको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति बनाएको छ । दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानविन गर्न मन्त्रालयले समिति बनाएको हो । उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य हुनुहुन्छ । उहाँहरूलाई सात दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन दिन भनिएको छ ।
घटना दुःखद : मन्त्री शर्मा
सरकारले बालकुमारी घटनाबारे दुःख व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीको गाडीमा भएको आगजनी र आन्दोलनकारीको मृत्यु दुवै दुःखद घटना भएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएकी शर्माले आफ्ना असन्तुष्टिका शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई भएको बताउनुभयो । ‘जे घटना भयो, गलत भयो । दुःखद भयो । त्यस्तो गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘आफ्ना असन्तुष्टिका विषय शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई हुन्छ ।’ सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइने उहाँले बताउनुभयो ।
बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैन : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा मन्त्रालय र आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ । मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रीय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताउनुभयो । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उहाँले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताउनुभयो ।
घटनाको छानविन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले बालकुमारी घटनाबारे सत्यतथ्य अध्ययन गरी यथार्थ छानविन गर्न माग गरेको छ । घटनापछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घटनाबारे गम्भीर बन्न सरकारसँग माग गर्नुभएको हो । घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न पनि कांग्रेसले माग गरेको छ । ‘सत्यतथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसको अपिल छ ।
निष्पक्ष छानविन होस् : एमाले
नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गर्नुभएको छ । ‘बालकुमारी घटना अत्यन्त दुःखद भएको छ । सरकार संमयम् नगुमाऊ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निष्पक्ष छानविन गर’, उहाँले भन्नुभएको छ ।
यो राज्यले गरेको हत्या हो : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले शुक्रबार बालकुमारीमा दुई युवाले ज्यान गुमाएको घटनालाई ‘राज्यले गरेको हत्या’का रूपमा व्याख्या गर्नुभएको छ । ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्’, उहाँले भन्नुभएको छ । लामिछानेले घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने पनि जिकिर गर्नुभएको छ । ‘घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला’, उहाँले भन्नुभएको छ । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने ? भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा आफू मर्माहत भएको उहाँको भनाइ छ ।
घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई युवाको ज्यान गएको घटनालाई दुर्भाग्यपूर्ण भनेको छ । ‘कोरियाली भाषासम्बन्धी इपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरू लक्षित सरकारको दमन र गोली प्रहारको घटना दुःखद, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ’, राप्रपाले भनेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा स्वदेशमा गरिखान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय भएको बताइएको छ । ‘इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको छ । घटनाको सत्यतथ्य छानविन गर्न, घाइतेको उपचार गर्न राप्रपा सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुको प्रदर्शन
रोजगारी अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयमा भएको प्रदर्शनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनीमार्गमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै अनेरास्ववियु विरोधमा उत्रिएको हो । उनीहरूले ‘विद्यार्थीको ज्यान मार्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताउनुभयो । उहाँले सरकारको गलत नीतिले युवाहरू विदेशिन बाध्य भएको र विदेश गएका युवाहरूकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गर्नुभयो । उहाँले युवाहरूको हत्याको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
सबैलाई परीक्षामा सामेल गराउन अदालतको आदेश
उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई इपिएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । परीक्षा दिन नपाएको भन्दै गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको हो । न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । ‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई आवेदन फाराम भर्न रोक नलगाउनू र परीक्षा आवेदन फाराम भर्न दिनू/दिलाउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’
अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पुनः आवेदन दिन पाउने भएका छन् । यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसविरुद्ध सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए । अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।
What i don’t understood is in reality how you’re now not really a lot more smartly-favored than you might be now. You’re very intelligent. You understand therefore significantly in terms of this topic, produced me personally believe it from a lot of numerous angles. Its like women and men are not interested except it is one thing to accomplish with Woman gaga! Your own stuffs outstanding. Always care for it up!