कालीकोट । झट्ट हेर्दा गोठजस्तै देखिने अँध्यारो कोठा । छाउपडी प्रथा मान्ने खर्कजस्तै गाउँबाट टाढाको दूरीमा रहेको कुनै घर । माटोले पोतेको भित्ता, त्यो पनि भत्किएको । टिन लगाएको छाना हावाले उडाएर परेका प्वालले वर्षाको पानी सिधै काठोभित्र पस्ने भवन । पानी पर्दा ओत लाग्न जोकोहीलाई समस्या हुने गर्छ । यो कुनै घर वा गोठ होइन । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९ मुम्राको सगरमाथा आधारभूत विद्यालय हो ।
यस विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यालयमा कुल १२४ जना विद्यार्थी छन् । भवनमा तीनवटा कोठा छन् । एउटा अफिस कोठा र दुई कोठामा कक्षा २ र ३ का विद्यार्थी पढ्छन् । शिशु कक्षा र कक्षा १ का बालबालिका खुला चौरमै बसेर पढ्न पाएकोमा दंग छन् । हुन त कोठाभित्र पढ्ने वा कोठाबाहिर पढ्ने बालबालिकाको सुविधामा कुनै फरक छैन । भवनका कोठामा पानी पर्दा चुहिन्छ । कोठाभित्रै पनि भेल बग्छ । भवनको भित्ता र छाना सुरक्षित छैनन् । धेरै पानी परेका दिन त विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता छ ।
विद्यालयका प्रधानाध्यापक नीलबहादुर केसीले भन्नुभयो, ‘यो सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसीको गाउँ हो । गाउँपालिका अध्यक्ष केसी र त्यसै प्रदेशका प्रदेश सांसद हिक्मतबहादुर विष्टलाई पटक-पटक विद्यालयको समस्या सुनायौँ । तर, हाम्रो विद्यालयको भवन निर्माणका लागि कुनै योजना परेन ।’ बर्खे बिदामा प्रदेश सरकारसँग पहल गर्न प्रअ केसी सुर्खेत पुग्नुभएको थियो । त्यहाँ पनि आफ्नो कुरा कसैले नसुनेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘विद्यार्थी भुइँमा बोरा ओछ्याएर बस्छन् । पानी पर्दा बिहान ११ बजे नै विद्यालय बन्द गरेर उनीहरूलाई घर पठाउनुपर्छ भन्दा पनि यो कुरा कसैले सुनेनन् ।’
कालीकोटकै पलाँता गाउँपालिका-३ स्थित भवानी आधारभूत विद्यालयको अवस्था पनि त्योभन्दा बिजोग छ । विद्यालयको भवन एक छेउबाट भत्किएको छ । बाहिर खुला चौर पनि त्यति ठूलो छैन । भिरालो डाँडामा विद्यालय छ । विद्यालय प्रांगणको छेउबाट बालबालिका खस्न सक्ने जोखिम उत्तिकै छ । विद्यालयमा घेराबार छैन । कहिलेकाहीँ त कक्षा कोठाभित्रै गाईवस्तुको बास पनि हुन्छ । कक्षा कोठा भत्किने अवस्थामा पुगेका छन् । कोठामा ढोका नै छैनन् । विद्यालय बन्द हुँदा पनि कक्षा कोठा खुलै हुन्छन् । विद्यालय आउने र जाने बाटो पनि सहज छैन । नजिकै अर्को विद्यालय पनि छैन । त्यसैले विद्यालयमा हरेक दिन विद्यार्थीलाई सास्ती छ ।
यी विद्यालयहरू गाउँमा आएको सिंहदरबारदेखि प्रदेश र संघीय सरकारको नजरमा कहिल्यै परेनन् । सरकारको नेतृत्व गर्नेहरूले विद्यालयको भौतिक संरचना निर्माण गर्ने वाचा गरे । तर, कसैले पनि यी विद्यालय बनाउन योजना तथा बजेटको व्यवस्था गरिदिएनन् । भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक धनकृष्ण रोकायाले भन्नुभयो, ‘छरिएका बस्तीका १०७ जना विद्यार्थी यहाँ पढ्छन् । यो बाल शिक्षादेखि कक्षा ४ सम्मको विद्यालय हो । आधा भत्किएका चारवटा कोठा छन् । यहाँ पनि कक्षा १ र बालशिक्षाका बालबालिका खुला चौरमा नै पढ्छन् ।’ उनीहरूलाई हिउँदको जाडो र वर्षायामको गर्मी, जस्तोसुकै बेला पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । ‘चुनावका बेला गाउँपालिका अध्यक्ष, सांसदका उम्मेदवार सबै आएर विद्यालय नमुना बनाउने भनेर वाचा गरे । तर, चुनाव सकिएसँगै सबै हराए । हाम्रो समस्या जस्ताको त्यस्तै रहृयो,’ उहाँले भन्नुभयो ।
किताबी शिक्षामात्रै होइन, व्यावहारिक शिक्षा पनि दिने स्थान हो विद्यालय । त्यहाँको वातावरणले पनि विद्यार्थीलाई सकारात्मक वा नकारात्मक असर पार्छ । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिइन्छ । तर, कर्णालीका विद्यालयको अवस्था दयनीय छ । झट्ट हेर्दा गोठजस्तो देखिने विद्यालयहरूका भुइँमा बसेर पढ्न बाध्य छन् यहाँका बालबालिका ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच