काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका थप तीन नेपालीको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा उनीहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी हुनुहुन्छ । यी तीनसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । मन्त्रालयले यसअघि नै स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको ज्यान गएको पुष्टि गरिसकेको छ ।
चारजना नेपालीलाई युक्रेनी सेनाको फौजले कब्जामा लिएको छ । सरकारले मृत्यु भएकामध्ये हालसम्म एकजनाको शव पनि नेपाल ल्याउन सकेको छैन । नेपालले शव पठाउन आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ । यसबाहेक कति नेपाली रुसी सेनामा छन् र उनीहरूको अवस्था के छ ? भन्नेबारे आफन्तसँगै सरकारसमेत बेखबर छ । उनीहरूको अवस्था अज्ञात छ । रुसी सेनामा कार्यरत सयौँ नेपालीका परिवारले उनीहरूको खोजविन र स्वदेश फिर्तिको पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् ।
सन् २०२४ फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसले नेपाल सरकारलाई कुनै जानकारी नै नदिई नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो । यसबारे नेपालले कूटनीतिक नोटमार्फत रुससँग असन्तुष्टि जनाइसकेको छ ।
परराष्ट्रले नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाई कूटनीतिक नोट थमाएको थियो । असन्तुष्टि जनाउने क्रममा राजदूतमार्फत परराष्ट्रले रुसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर, हालसम्म कुनै प्रगति भएको छैन ।
सरकारसँगै छैन यकिन विवरण
रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । नेपालले मागे पनि रुस सरकारले हालसम्म विवरण उपलब्ध गराएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन प्राप्त भएको सार्वजनिक रूपमै बताइसक्नु भएको छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना गएको उल्लेख गर्नुभएको थियो । यो वर्षको वैशाखदेखि मंसिरसम्म मात्रै करिब ६०० नेपाली श्रम स्वीकृति लिएर रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुनसक्ने अनुमान छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाखमा १७, जेठमा १७९, असारमा ३३, साउनमा ५३, भदौमा १६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली गरी ५७३ जना श्रम स्वीकृति लिई रुस गएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा ३८६ र २०७८/७९ मा ८२ नेपालीले रुस जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्ष श्रम स्वीकृति लिएर जति नेपाली रुस गएका थिए, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा त्योभन्दा बढी संख्यामा नेपाली त्यहाँ पुगेका छन् ।
रुसले अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले त्यहाँ जाने नागरिकमाथि कडाइ गर्न थालेको छ । सरकारले यसअघि सरकारी कामकाज, रुसको छात्रवृत्ति र पेसा, व्यवसायमा संलग्न भएकालाई बाहेक सर्वसाधारण नागरिकलाई त्यहाँ जानुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो । भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कुवेत, कतार र बहराइनबाट समेत रुस जानुपरेमा ती देशमा रहेका नेपाली दूतावास एवं महावाणिज्य दूतावासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ । धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रुस जाने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
रुसबाट फर्किएका बहालवाला प्रहरीको भनाइ- अस्पतालबाट भागेर आएँ
नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पनि मुछिएका छन् । खड्कासहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको हो । यसअघि खड्काविरुद्ध सेटिङमा भिजिट भिसामा पठाउने गरेको आरोपमा मुद्दा दायर भएको थियो । ट्राफिक प्रहरी वृत्त गौशालामा कार्यरत जाहेरवाला प्रहरी जवानले अध्यागमन कार्यालयमा सेटिङ मिलाउन मात्र एक लाख ४० हजार रुपैयाँ बुझाएको जाहेरीमा उल्लेख गर्नुभएको थियो । असोज १ गते रुस पुग्नुभएका उहाँ मंसिर १५ गते नेपाल फर्किनुभएको थियो ।
जाहेरवालाले युक्रेनको ड्रोन आक्रमणमा परी आफूसहित आठजना घाइते भएको र स्थानीय एक अस्पतालमा उपचार गरेपछि रुसी सेनाको आँखा छलेर भागेको बताउनुभएको छ । रुसस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि आफू नेपाल आउन सफल भएको उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर करोडौँ ठगी
बेरोजगार युवाहरूबाट १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ का लालबहादुर लामा छन् । प्रहरीका अनुसार उनले काठमाडौंस्थित महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर वैदेशिक रोजगारमा पठाउने आश्वासन दिँदै बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाखसम्म उठाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैसा उठाएकामध्ये कतिपयलाई उनले वैदेशिक रोजगारीमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पाइएको छ । उनले विभिन्न व्यक्तिलाई लिथोनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगेका थिए । आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । उनलाई प्रहरीले सोमबार दिउँसो साढे ३ बजे काठमाडौंस्थित शंखमूलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लालबहादुरले बेरोजगार युवाहरूबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनको ट्रेनिङ सेन्टरबाट ९९७ राहदानीसमेत बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
लम्बिँदै रुस-युक्रेन युद्ध
रुस-युक्रेन युद्ध लम्बिँदै जाँदा मारिनेहरूको संख्या पनि बढ्दै गएको छ । आउँदो फागुनमा युद्ध सुरु भएको दुई वर्ष पुग्दै छ । २४ फेब्रुअरी २०२२ मा दुई देशबीच युद्ध सुरु भएको थियो । दुई वर्षयता रुस र युक्रेन कसैले जितेका छैनन् भने लडाइँ कहिले अन्त्य हुने भन्ने अझै निश्चित छैन । रुस र युक्रेन दुवैले जित्ने दाबी भने गर्दै आएका छन् । युद्धबाट दुवै देश पछि हट्न तयार नहुँदा यसबीचमा दुवै पक्षका लाखौँ मानिसको मृत्यु भइसकेको छ । मारिनेहरूको यकिन तथ्यांक भने दुवै देशले हालसम्म सार्वजनिक गरेका छैनन् । मौखिक रूपमा भने दुवैको आ-आफ्नै दाबी छ । रुस-युक्रेन युद्धको आर्थिक असर भने युरोपमा मात्र नभएर पूरै विश्व तथा दक्षिण एसिया हुँदै नेपालसम्म परेको छ ।
रुसले २०२३ को अन्त्यतिर डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभसमेत धेरैवटा शहरलाई लक्षित गरी १५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गरेको थियो ।
अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परेर त्यो समयमा ३० जना युक्रेनीको ज्यान गएको थियो भने दुई सयभन्दा बढी मानिस घाइते भएका थिए । त्यसलगत्तै युक्रेनले पनि भोलिपल्ट अर्थात् डिसेम्बर ३० का दिन रुसको पश्चिमी क्षेत्र बेल्गोरोड शहरलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । र, यस घटनामा पनि कम्तीमा २० जना रुसी नागरिकको ज्यान गएको थियो । यी पछिल्ला आक्रमण–प्रत्याक्रमणका घटनाहरूले रुस–युक्रेन युद्ध तत्कालै साम्य हुने वा युद्धविरामतर्फ उन्मुख हुने कुनै सम्भावना नदेखिएको आँकलन गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच