नेपालको एकीकरण, नेपाली भूभागको विस्तार र यस क्षेत्रको सुरक्षाका आधुनिक नायक श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती फेरि आज आएको छ । फादर अफ जर्मनीका रूपमा विस्मार्कको सम्झना र सम्मान जसरी गरिन्छ त्यहाँ, त्यसरी नै नेपालमा पनि पृथ्वीनारायण शाहलाई स्मरण गर्नुपर्ने हुन्छ । आधुनिक शस्त्र विद्या, आधुनिक परराष्ट्र र कूटनीतिक विषय थाहा नभएको र कुनै आधुनिक रणनीका पत्रहरू जानकारी नहुने त्यस युगमा जन्मेका पृथ्वीनारायणले अपरिपक्व र असाध्य कलिलो उमेरमै विशाल भूगोलको परिकल्पना गर्दै सुरक्षा रणनीति अवलम्बन गर्नु आफैंमा महान् र दुर्लभ कृत्य थियो । आजको परिवेशका आधारमा तुलना गरी उनको समीक्षा गर्नु, सरासर अन्याय र आग्रहबाहेक केही हुँदैन ।
पृथ्वीनारायण शाहलाई स्मरण गरिरहँदा पहिलो उनको दूरदृष्टि, दोस्रो उनको लक्ष्य, तेस्रो उनको साहस, चौथो उनको सक्रियता र पाँचौं उनले प्राप्त गरेको सफलताका आधारमा मूल्यांकन हुनु जरुरी छ । छैटौं स्मृतिको आधार भने उनले आजसम्म होइन भोलिका दिनमा नेपालको सार्वभौम स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डता अनि स्वाभिमान र गौरवको प्रतिरक्षार्थ स्थापित गरेका सिद्धान्तहरू नै हुनेछन् । ती सिद्धान्तहरूको जगमा नेपालको भविष्य सुरक्षित हुने कुरामा सन्देह हुँदैन ।
नेपालका केही स्वनामभन्य विद्वानहरू, विदुषीहरूदेखि जातीय अतिवाददेखि तथाकथित क्रान्तिकारिता र अग्रगमनका भाष्यकारहरू भने हरेक कोणबाट पृथ्वीनारायण शाहको आकारलाई होचोच्याउन उद्यत् देखिन्छन् । एकातिर अंंग्रेज साम्राज्यविरुद्ध आफूलाई देखाउने, विदेशी विस्तारवादको विरुद्ध चर्का आवाज उराल्ने तर अर्कातिर पृथ्वीनारायण शाहको सौर्यबाट आहत र पराजित अंग्रेजहरूले लेखेका इतिहासका पुस्तकहरूको व्याख्या गर्दै नेपालको एकीकरणविरुद्ध शब्द खर्च गर्ने पाखण्डतापूर्ण मनोवृत्ति देखिएको छ । पृथ्वीनारायण शाहको अपमान गर्न खोज्नेहरूले यो देशको एकता, सार्वभौमिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानको समेत अपमान गरिरहेका हुन्छन् । आफूलाई जन्माएकोमा बाबुआमालाई लाञ्छित गर्ने सन्तानहरू जस्तै हुन् नेपालको उकीकरण र रक्षक पृथ्वीनारायणविरुद्ध बोल्नेहरू भन्नेमा विमति राख्नु पर्दैन । नेपाली भूमि कब्जा गर्न असफल अंग्रेजहरूको सेवामात्रै हो पृथ्वीनारायण शाहको विरोध । अरू कुनै पनि राष्ट्रभत्त, राष्ट्रवादी स्वाभिमानी नेपालीले पृथ्वीनारायणको सम्मान र प्रशंसा गर्दछन्, गरिरहने छन् ।
निरन्तर उठिरहेको प्रश्न हो : गोर्खाका राजाले बाइसी, चौबीसी राज्यमा विभाजित यो भूगोललाई हतियारका बलमा एकीकरण गरेका हुनाले उनी विस्तारवादी, साम्राज्यवादी र एकलनश्लवादी जातिवादी किन होइनन् ? तर यस्तो प्रश्न गर्ने कुनै व्यक्तिलाई नेपाली हो भने स्वीकार गर्नु आवश्यक छैन । त्यस्तो व्यक्तिले आफूलाई नेपाली भनेर चिनाउनु पनि पाखण्ड सिवाय केही मानिँदैन । बाइसी चौबीसी रूपमा विभाजित जातीय राज्यका केही राजकुमारहरूले यस्तो प्रश्न गर्दै समाजलाई भड्काउने र क्षतविक्षत पार्ने काम गर्न खोजेको देखिन्छ । यस्तो उरण्ठेउलो चिन्तन र विचारले विदेशीहरूको वर्चस्वलाई खुला निमन्त्रणा दिइरहेको संकेत दिने गर्दछ । नेपालमा एकीकरण र देशको सुरक्षामा पृथ्वीनारायण शाह, देशको गुमेको भूमिलाई पुनःप्राप्ति गर्ने जंगबहादुर, राष्ट्रियताको भाष्य गर्ने बीपी कोइराला, सामाजिक न्यायको विचार अघि बढाउने पुष्पलाल, साहित्य र संस्कृतिको विशालवटवृक्ष निर्माण गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई इतिहासले कहिल्यै भुल्नु हुँदैन । जुनदिन भुल्नेछ त्यो दिन यो देशको अस्तित्व समाप्त हुनेछ ।
राजनीतिक प्रयोगका दृष्टिकोणले राजा सामन्तवादको प्रतीक नै हो । जंगबहादुरको शासकीयशैली निरंकुश र पारिवारिक नै हो । यसमा प्रशस्त मतभेद रहनेछ । असहमति पनि छ । तर देशको प्रश्नमा, राष्ट्रियताको प्रश्नमा त्यो असहमतिको अर्थ रहँदैन । नायक थोरै हुन्छन् उनीहरूका पछाडि सहयोग गर्ने हजारौं हुनसक्छन् । विस्मार्कका पछि कति थिए ? माओका पछि वा हो चिहृनका पछि कति थिए ? गान्धीका पछि कति मानिस थिए ? तर नाउकको मात्रै नाम रहने गरेको हुन्छ । पृथ्वीनारायण शाहको नाम रहनु पनि त्यस्तै हो । खासगरी पृथ्वीनारायण शाहको शासकीय चिन्तन आज पनि मननीय छ ।
राज्यमा सेवाग्राहीसंग घुस माग्ने र घुस दिने दुवै अपराधी हुन् । त्यसबेलाको त्यो विचार आज पनि जीवन्त छ । सुशासनको प्रसंगको स्थापित सिद्धान्त यही वाक्य हो । आजको जस्तो कुनै निगरानी गर्ने वा अनुसन्धान गर्ने निकाय थिएन त्यसबेला तर पृथ्वीनारायणले एक वाक्यमा सुशासनको सूत्र विकास गरे । उनले नेपालको संवेदनशील भूअवस्थितिको सूक्ष्म विश्लेषण गरेका थिए भन्ने बुझ्न जाइकटक नगर्नु आइकटक गर्नु अर्थात् जाई नलाग्नु कसैले आक्रमण गरे नछाड्नु भने । उनले नेपाल दुई ढुंगाको तरुलका रूपमा अनुभव गरे । दुई छिमेकीहरू मिले पनि र झगडा गरे पनि तरुलजस्तो बीचमा रहेको सानो देश कचक्क हुन्छ भन्ने निष्कर्ष त्यसै निकालेका थिएनन् । फिरंगीहरूको प्रभाव रोक्न उनले देशकै उत्पादनमा जोड दिए र प्रयोग अनिवार्य बताए । आज यसरी हेर्दा कति महत्वपूर्ण विचार थियो त्यो अनुमान गरिरहनै पर्दैन ।
अहिले पहिचानको नारा लगाउँदै गर्दा इतिहासलाई बिर्सने वा मार्ने सोच विकास भएको छ । राष्ट्र निर्माण गर्नेहरूका शालिक उखेलेर आफ्नो जातको अहंकारको शालिक ठड्याउने प्रयास देखिएका छन् । योगदान दिनेहरूको सम्मान हुनुपर्छ । तर अरूको योगदान मेटाएर ठड्याउने मूर्तिलाई कुनै अर्को परिवर्तनले उखेल्नसक्छ भन्ने हेक्का हुनु आवश्यक छ । आजका दिनमा हामी सगौरव पृथ्वीनारायण शाहको सम्मानमा उभिऔं, पुस २७ को सन्देश यही नै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच