✍️ देवकी गौतम
‘विद्या ददाति विनय-विनय याति पात्रताम्’ अर्थात् शिक्षाले मानिसमा विनय भरिदिन्छ र विनयले पात्रलाई सुपात्र बनाउँदछ । यस्तो महत्वपूर्ण विषय शिक्षा जसले मानव मनलाई सशक्त बनाउँछ । शिक्षा मानव मष्तिष्कको पोषकतत्व हो । शिक्षाले एउटा व्यक्ति, परिवार, समाजमात्र होइन राष्ट्रको भविष्यलाई आकार दिने सामथ्य राख्दछ । मानिसलाई सशक्तीकरण गर्दै अन्धो भक्तिभावलाई मात्र भन्दा आलोचनात्मक सोचलाई बढावा दिने, व्यक्तिगत र सामाजिक पक्षको समग्र विकासमा योगदान गर्ने सामथ्र्य राख्ने सम्पूर्ण मानव जीवनको साँचोको नाम हो ‘शिक्षा’ ।
शिक्षाले ज्ञान, सीप र अवसरको ढोकामात्र खोल्दैन यसले व्यक्तिलाई सुसूचित र सक्षम बनाई समाजलाई नै परिवर्तित स्वरूपमा ढाल्न मद्दत गर्दछ । समावेशी र समतामूलक समाजको निर्माण गर्दछ । शिक्षा राष्ट्र निर्माणको जग, आधार स्तम्भ या मेरुदण्ड हो । यति महत्वपूर्ण र संवेदनशील विषयमा हामी प्रत्यक्ष सरोकार राख्ने र आफूलाई समाजका सामाजिक, शैक्षिक र राजनीतिक ठेकेदार भनी टोपल्नेहरू यो विषयमा गम्भीर भएर सोचिरहेका छैनौं जस्तो लागेर आज यो विषयलाई सम्भव भएसम्म एकपटक खोतल्न मन लाग्यो । महत्वपूर्ण विषयमा सम्बन्धित निकाएको ध्यान आकर्षण गराउनु सचेत नागरिकको कर्तव्य हो ।
देशको खस्कँदो आर्थिक अवस्थालाई सुधार गर्न सक्ने र अर्थतन्त्रको जग बसाउन सक्ने महत्वपूर्ण क्षेत्र शैक्षिक क्षेत्र अस्तव्यस्त भएको समाचार दिनहूँजसो सुनिइरहेका छन् । हाल देशभर सञ्चालनमा रहेका बोर्डिङ स्कुलहरूले जेनतेन कक्षा चलाइरहेका छन् । तर, उच्च शिक्षालाई हेर्दा कलेजहरूतिर प्रत्येक वर्ष विद्यार्थीको घट्दो चापलाई समयमै सम्बोधन नगर्ने हो भने आगामी केही वर्षभित्रमै देशभित्र रहेका कलेजका सुविधा सम्पन्न ठूलाठूला बिल्डिङमात्र रहने र भवनभित्र विद्यार्थी खाली हुने अवस्थालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने देखिएको छ ।
शिक्षा क्षेत्रमा सबैभन्दा प्रमुख चुनौती र जटिल समस्या भनेको शिक्षालयभित्रको चरम राजनीति हो । सामान्य विद्यालयको निजी शिक्षक राख्नेदेखि हेडसरसम्म, कार्यालय सहयोगीदेखि विश्वविद्यालयको उपकुलपति/कुलपतिसम्म क्षमता र दक्षताभन्दा राजनीतिक अक्षता लगाएर भागबण्डामा नियुक्त गर्ने प्रचलन अहिलेको प्रमुख समस्या हो ।
यसै विषयमा शिक्षा नीति बनाउने थलोसम्म दख्खल दिन सक्ने आदरणीय व्यक्तित्व शिक्षाविद् विद्यानाथ कोइराला भन्नुहुन्छ, कि ग्लोबलाइजेसनको कारण प्राप्त अवसर हामीले हाम्रा विद्यार्थीलाई या त रोजगारीको वातावरण सिर्जना गर्न सक्नुपर्यो । अन्य देशभन्दा आकर्षक अफर दिएर उनीहरूलाई रोक्न सक्नुप¥यो । जुन अहिले तत्काल सम्भावना देखिएको छैन । होइन भने यो समस्या समाधानको सिधा–सिधा उपाय अन्य देशका विद्यार्थीलाई हाम्रो देशमा आएर पढ्न सक्ने वातावरण बनाएर अरूले हाम्रो विद्यार्थी लगे भने हामीले अरूको विद्यार्थी ल्याउने तागत राख्नुपर्यो ।
हुन पनि ग्लोबल अर्थतन्त्रलाई सूक्ष्म ढंगले हेर्न नियाल्ने हो भने विश्वका अधिकांश राष्ट्रहरूमा जब आर्थिक संकट पर्न थाल्छ या आर्थिक संकटको आँकलन गर्दछन तब-तब आकर्षक अफर दिएर विश्व बजारबाट विद्यार्थी भित्र्याएर शैक्षिक क्षेत्रको माध्यमबाट आर्थिक क्षेत्रको सुधार गर्ने गर्दछन् । विश्व बजारमा यो धेरै पुरानो अभ्यास हो । हाल नेपालमा शिक्षा क्षेत्रमा देखिएको समस्यातिर केन्द्रित हुन जरुरी छ । समस्या थाहा पाएमात्र उपचार खोज्न सजिलो हुन्छ । नेपाली शिक्षा क्षेत्रलाई विश्व शैक्षिक बजारमा दाँजेर हेर्दा क्रियटिभ आउटपुटमा १०१ औं स्थानमा, रिसर्चमा ११४औं स्थानमा र नलेज एण्ड टेक्नोलोजीमा ११०औं स्थानमा छ ।
शिक्षक विद्यार्थी अनुपात हार्वर्डमा सात विद्यार्थी बराबर एक शिक्षक छन् भने हाम्रो त्रिभुवन विश्वविद्यालयमा, काठमाडौं विश्वविद्यालयमा २० विद्यार्थी बराबर एक शिक्षक, संस्कृत विश्वविद्यालयमा ९.२७ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्यात्मक विवरण छ । यसबाट के स्पष्ट हुन्छ भने विश्व शिक्षा बजारमा अध्ययन अनुसन्धान र उपलब्धिमा अन्य देशको तुलनामा हामी निकै पछाडि छौं । समग्र बजेटको अनुपातमा शिक्षा क्षेत्रमा कम बजेट छुट्याइनु र छुट्टिएको बजेट खर्च गर्ने संयन्त्र कमजोर छ । अनावश्यक र उपलब्धिविहीन कुरामा खर्च गरिरहेको देखिन्छ । शिक्षाभित्रको महत्वपूर्ण पाटो रिसर्च अथवा अनुसन्धानको क्षेत्रमा न्यून बजेट छुट्टिने गर्दछ । छुट्टिएको बजेटमा जम्माजम्मी ५० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको तथ्यांक वर्षेनी सार्वजनिक भएका छन् ।
अर्को प्रमुख समस्या हाम्रो शिक्षा वा उच्च शिक्षालाई समुदायसँग जोड्न सकेनाँं । विकसित राष्ट्रहरूमा युनिभर्सिटीहरूलाई समुदायले ओनरसिप लिएको हुन्छ । विश्व प्रख्यात टेक्सस युनिभर्सिटीको वरिपरि समुदायमा आई लभ टेक्सास, वि लभ टेक्सास जस्ता कोटेसन लेखिएको देख्न पाइने कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ । हाम्रा युनिभर्सिटीहरू र शिक्षण संस्थामा बेलाबेलामा विभिन्न बहानामा समुदायले नै ताल्चा लगाएका घटना प्रशस्त छन् । मुख्य कारण हाम्रो शैक्षिक नीति बनाउँदा त्यसलाई समुदायसँग जोड्न सकेनौं ।
शिक्षा क्षेत्रमा सबैभन्दा प्रमुख चुनौती र जटिल समस्या भनेको शिक्षालयभित्रको चरम राजनीति हो । सामान्य विद्यालयको निजी शिक्षक राख्नेदेखि हेडसरसम्म, कार्यालय सहयोगीदेखि विश्वविद्यालयको उपकुलपति/कुलपतिसम्म क्षमता र दक्षताभन्दा राजनीतिक अक्षता लगाएर भागबण्डामा नियुक्त गर्ने प्रचलन अहिलेको प्रमुख समस्या हो भन्नेमा कसैको दुई मत छैन । योग्यता र क्षमताको आधारमा विश्वविद्यालयको उन्नति÷प्रगति गर्न अहोरात्र खटिने मानिसलाई जम्मिेवारी दिनुपर्ने शैक्षिक निकायका प्रमुखहरूमा स्वयं प्रधानमन्त्री कुलपति बन्ने परम्परा पनि शिक्षा क्षेत्रको उन्नति बाधक तत्व हो भन्नेमा दुई मत नहोला । शिक्षा क्षेत्रभित्र राइट मेन राइट प्लेसको अवधारणा लागू हुनु जरुरी छ ।
अर्को प्रमुख समस्या, शैक्षिक क्यालेण्डर । विकसित राष्ट्रहरूको शैक्षिक क्यालेण्डरमा एक दिन घटबढ हँुदैन । हाम्रोमा पढ्न इच्छा लागेको विषयमा इन्ट्रान्स दिएर नाम निकाल्न गाह्रो, नाम निकाल्यो भर्ना हुन गाह्रो, बल्लबल्ल भर्ना भयो दुई वर्षको कोर्स कम्प्लिट गर्दा चार वर्ष लाग्ने त सामान्य दैनिकी जस्तै भइसकेको छ । चार वर्षे ब्याचलर डिग्रीको पढाइलाई दुई/तीन वर्षमा सकाउने हो भने विद्यार्थी ड्रप आउटजस्तो जटिल समस्यालाई केही मात्रामा भए पनि कम गर्न सकिन्छ । विश्वविद्यालयको आफ्नो प्रशासन संयन्त्र छ । कर्मचारी छन् । बेलामा प्रश्नपत्र निकालेर नियमित परीक्षा गर्ने र समयमा नतिजा प्रकाशन गरेर विद्यार्थीलाई मार्ग प्रशस्त गर्न केले रोकेको छ ? प्रक्रिया लम्बेतान बनेकाले भएको समय र पैसाको क्षति कसले व्यहोर्ने भन्ने प्रश्नको उत्तरको खोजीमा युवा पुस्ता छ ।
शिक्षा क्षेत्रको सबैभन्दा महत्वपूर्ण पाटो शिक्षक/प्राध्यापक हुन् । स्नातक तहमा प्राध्यापन गर्ने प्राध्यापक शिव सापकोटा भन्नुहुन्छ, जत्रा ठूला बिल्डिङ बनून्, जतिसुकै तालिमप्राप्त दक्ष शिक्षक/प्राध्यापक हुऊन्, स्वयं शिक्षक/प्राध्यापकले कामप्रतिको उच्च नैतिक जिम्मेवारी बहन गरेनन् भने शिक्षा क्षेत्रमा प्रगति र परिवर्तन हुन सक्दैन । शैक्षिक क्षेत्रको सुधार अभियानमा एकपटक स्वयं शिक्षकले आफूतिर फर्केर हेर्न र हामीले आफ्नो कर्तव्य कति दृढतापूर्वक निर्वाह गर्यौं भन्ने विषयमा सोच्न र आफूलाई समयको गतिसँगै पुनर्मूल्यांकन गर्ने क्षमता अभिवृद्धि गर्ने तथा आफूले आफूलाई प्रश्न गर्नुपर्ने बेला भएको छ ।
सरकारी काम कहिले जाला घाम गरेको समाचारहरू यदाकदा सुनिइरहेका छन् । त्यसको समाधानका लागि देशभरिका शिक्षक/प्राध्यापकलाई रोजीरोटी चल्ने गरी तलब सुविधाको व्यवस्था गर्ने, यदि यसो गर्न नसकेमा स्कुल र कलेजका प्राचार्यहरूलाई घर चल्ने तलब राज्यले दिने र उनीहरूलाई स्पष्ट परिवर्तन देखिने गरी पूराको पूरा काम लगाउने हो भने केही हदसम्म गुणस्तरमा कोल्टो फेर्ने थियो ।
प्राध्यापक डा.श्याम सेढाईका अनुसार हाम्रो युनिभर्सिटीको पढाइ कन्टेन्ट लोडेड भयो । त्यसलाई प्य्राक्टिस लोडेड बनाउन जरुरी छ । प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक करिकुलम निर्माण गर्न अब ढिला गर्न हँुदैन । घरको पानी चुहिएको धाराको सामान्य टुटी बदल्न र जलेको बल्ब फेर्नसमेत नजान्ने डिग्री होल्डरहरू हामीसँग यथेष्ट छन् । लम्बेतान घोकन्ती विद्यालाई भन्दा डिग्री लिएपछि समाजमा बिक्नसक्ने खालको प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर करिकुलम बनाउने हो भने विद्यार्थीलाई देशका विश्वविद्यालयहरूमा रोक्न सकिने थियो कि भन्नेतर्फ राज्यको नीति निर्माण तहमा बस्नेहरूको बेलामा ध्यान जानु जरुरी छ । परिवर्तित समयको बहावसँगै विश्व बजारका कुरा गर्ने हामीले हाम्रो शिक्षा क्षेत्रलाई मल्टी डिसिप्लिनरी बनाउनुपर्ने आजको आवश्यकता हो ।
अझ पछिल्लो समयको प्रमुख चुनौती भनेको ब्रेन ड्रेनको समस्या हो । बौद्धिक क्षेत्रका व्यक्तिहरू जसमा क्षमता छ, केही गरौं भन्ने चेत खुलेको छ, ऊ देशमा बस्न चाहेको छैन । ए लेभलका विद्यार्थी जति सबै देशबाहिर छन् । बी र सी लेबलका मानिसहरूले मात्र देशको अधिकांश क्षेत्रमा प्रतिनिधित्व गरिरहेका छन् । यसबाट हामीले हाम्रो बौद्धिकता, दक्षता र योग्यताको पूरापूरा उपयोग देशभित्र गरिरहेका छैनौं भन्ने प्रष्ट हुन्छ । समग्र परिवर्तनका लागि राजनीतिक इच्छाशक्ति प्रमुख विषय हो ।
केही समयअघि डा.गोविन्द केसीको आन्दोलनमा आमनेपालीले समर्थन जनाएका थिए । उहाँको आन्दोलनको समर्थन गर्ने ती आममध्येको म पनि एक थिए तर आजकल उहाँलाई मैले जस्तै आममानिसले भ्यालु नदिएको आभास उहाँको केही दिनअघिको अनशनबाट थाहा भइसकेको छ । हिजो एउटा सामान्य गरिब किसानकी छोरीले पनि सजिलो गरी नर्सिङ पढ्न पाएका थिए तर आज विभिन्न बाहानामा देशमा भएका नर्सिङ कलेज बन्द भए । परिणामस्वरूप हाम्रा छोरीहरू देशको रकम बोकेर गएर भारतका कलेजमा महँगोमा नर्सिङ पढ्न बाध्य भएका छन् । संसद्मा छलफलकै क्रममा रहेको मेडिकल शिक्षा विधेयकलाई छिटोभन्दा छिटो जनताका छोराछोरीले कम्तीमा सहज पढ्न पाउने वातावरण तयार गर्दै पास गर्न जाँगर चलाउनुपर्यो । समग्र देशको विकासका लागि शिक्षा क्षेत्रमा भएका अतिवादहरूको अन्त्य गर्न एकबद्ध हुन जरुरी छ ।
केही दिनअघिमात्र हालको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री स्वयंले सार्वजनिक समारोहमा र सामाजिक सञ्जालबाट समेत शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि हिजो भएका गल्तीलाई सुधार गर्दै विश्वविद्यालयका कुलपति/उपकुलपति अब दलीय भागबण्डामा नियुक्ति नभई योग्यता र क्षमताको आधारमा हुनुपर्ने प्रधानमन्त्रीलाई अनुरोध गरेको कुरा सुनेर गाउँमा बसेर स्कुल कलेज खोल्ने र तीनलाई जीवन्त राख्न निरन्तर खट्ने आममानिसमा एक तहसम्म सकारात्मक रक्तसञ्चार प्रवाह भयो र मनमा एउटा गम्भीर प्रश्न उब्जियो, के अब साँच्चै राइट मेन राइट प्लेस हुन्छ त ?
अहिले त कलेजमा मात्र विद्यार्थी अभाव छ तर विदेशिएका नेपाली देश फर्केर आउने वातावरण भएन भने अबको केही वर्षमा स्कुलमा पढ्ने बालबालिका खोज्न पनि खाडी जानु नपर्ला भन्न सकिँदैन । यसतर्फ सम्बन्धित निकायको बेलामा ध्यान पुग्नु जरुरी छ ।
विकसित राष्ट्रहरूको शैक्षिक उन्नतिका कारण खोतल्ने हो भने त्यहाँका युनिभर्सिटीहरूले रोजगारदातालाई बोलाएर वर्षेनी भेला गरेर सोध्ने गर्दछ कि, हामीले कस्तो विषय पढायौं भने तिमीले हाम्रा विद्यार्थीलाई जागिर दिन्छौं भनेर बोलाएर सोध्ने गर्दछ र त्यही अनुसारको कोर्स डेभलप गरेर पढाउने गर्दछ । फलस्वरूप पढाइ सकेका विद्यार्थीलाई त्यही कम्पनीले रोजगारी दिने गर्दछ । रोजगारी प्रदान गर्ने बेलामा त्यही स्थानीय तहमा अध्ययन गरेको विद्यार्थीलाई जागिरमा पाहिलो प्राथमिकता दिन्छ ।
यो २१औं शताब्दी हो । ग्लोबलाइजेसनको जमाना हो । यहाँ जोसँग जे छ त्यही बेच्ने हो । विश्व शिक्षा बजारले विभिन्न दार्शनिकका अंग्रेजी कथा, साइन थिटा÷कस थिटा, विभिन्न केमिकलको वैज्ञानिक रियाक्सनको बारेमा पढाइरहँदा हामीले भृकुटी, सीता र बुद्धको पवित्र भूमिमा बुद्धलाई पढ्न चाहने बुद्वत्वको बोधिसत्वको ज्ञान विश्व बजारका असंख्य विद्यार्थीलाई पढाउन केले रोकेको छ र ? सम्पूर्ण भाषाको जननी संस्कृत भाषा हो । यही भाषाको अध्ययन गराउने र विश्वलाई संस्कृत भाषाको महत्व सिकाउने विश्वविद्यालयस्तरको अध्यापन हामीले गराउन सकिन्छ । हाम्रो देश नेपाल तपोभूमि हो । यहाँको प्रकृतिमा अथाह ऊर्जा छ ।
हाम्रा ऋषिमुनिहरूले तपस्या गरेर लामो समयसम्म अन्न र पानीविना बाँचेका गाथा, हिमालयको शक्तिको बारे किन नपढाउने ? हाम्रो दर्शनसमेत हामी आफ्नो देशमा पढाउने सामथ्र्य नराखेर विद्यार्थीलाई वनारस पठाउँछौं । योग, अध्यात्मको देशमा आध्यात्मिक योग र पूर्वीय दर्शनको पढाइ गरेर डिग्री दिने व्यवस्था किन नगर्ने ? समाजशास्त्र, मानवशास्त्र, विभिन्न जातजाति, संस्कृतिको अध्ययन र जडिबुटीको अध्ययनका लागि नेपाल उर्वरभूमि हो । यही पक्षलाई आधार मानेर आयुर्वेदिक विज्ञानको विश्वविद्यालयस्तरको अध्यन गर्न विश्वबजारबाट विद्यार्थीलाई उपयुक्त अवसर र वातावरण प्रदान गर्न केले रोकेको छ ?
देश रेमिटान्सले चलेको छ भनेर हामी मक्ख छौं तर केही समय अगाडि दाङ तुल्सीपुरनगरले गरेको एउटा सर्वेक्षणनुसार नेपालमा वार्षिक ८ खर्ब २० अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ तर एउटा युवाले खाडीमा दुःख गरेर नेपाल भित्र्याएको रकम विभिन्न बाहनामा वर्षेनी शैक्षिक खर्चमात्र ६ खर्ब रकम नेपालबाट बाहिरी देशहरूमा गइरहेको छ । यही तथ्यलाई आधार मान्ने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाम्रो जनशक्तिमात्र बाहरिएको छैन यो जनशक्ति सँगसँगै शैक्षिक अध्ययनको नाममा अर्बाैं रकम बाहिरिएको छ । जुन तथ्यांक अत्यन्त डरलाग्दो छ ।
अहिले त कलेजमा मात्र विद्यार्थी अभाव छ तर विदेशिएका नेपाली देश फर्केर आउने वातावरण भएन भने केही वर्षमा स्कुलमा पढ्ने बालबालिका खोज्न पनि खाडी जानु नपर्ला भन्न सकिँदैन । यसतर्फ सम्बन्धित निकायको बेलामा ध्यान पुग्नु जरुरी छ । हामी आफूलाई पछिल्लो पुस्ताको सचेत युवा भन्न रुचाउँछौं । सचेत युवाका केही फरक सोच र कर्तव्यसँगै केही जम्मिेवारी छन् । बदलिँदो समयको पदचापलाई बुझेर बेलामै केही देखिने गरी परिवर्तन नगर्ने हो भने हाम्रा छोराछोरीले कलेजमात्र होइन स्कुले शिक्षालाई पनि नटेरर विदेश पढ्न जान्छु भनेर खुट्टा बजार्नुभन्दा अघि नै विद्यालयस्तरको पठनपाठनमा व्यापक सुधार गर्नुपर्ने देखिएको छ ।
(गौतम नेपाली कांग्रेस, बागमती प्रदेश सदस्य हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच