✍️ मुरारीराज मिश्र
फरक-फरक लघुकथाको स्वाद एकै पुस्तकमा लिन चाहने पाठकहरूका लागि नयाँ पुस्तक भर्खरै बजारमा आएको छ । शारदा मासिक पत्रिकाका सम्पादक एवम् वरिष्ठ साहित्यकार विमल भौकाजीको सम्पादनमा प्रकाशित यस लघुकथासङ्ग्रहको नाम छचल्का रहेको छ । लघुकथाका बारेमा हुन त धेरैका धेरै मत पाइन्छन् । कसैले यसमाथि शब्द-सीमा तोकेका छन्, कसैले उठान र समापनको तरिका बताएका छन् त कसैले यसभित्र के-के तत्व हुनुपर्छ भनेर किटान गरेका छन् । तर यस विषयमा सम्पादक भौकाजी अरूभन्दा स्पष्ट देखिए । उनको धारणा छ-
‘हामी उभिएको यही धरातलको परिवेशभित्र रहेर मान्छेको जीवनसँग सम्बन्धित जुनसुकै कोणमा केही लेखिन्छ भने, तर सशर्त त्यो लेखनीमा कथानक हुनै पर्छ र संरचनाको दृष्टिकोले त्यो पट्यारलाग्दो हुनु हुँदैन- त्यो लघुकथा हो ।’ उनको यसै धारणाको फलस्वरूप छचल्का जन्मिएको मान्न सकिन्छ । जसमा उनले स्थापितदेखि नवोदित लेखकसम्मका ९९ वटा लघुकथा समेटेका छन् ।
मानिसमा महारोग जसरी फैलिरहेको जातीयता, धार्मिकता र भूगोलप्रतिको सङ्कीर्ण सोचलाई पुस्तकभित्र कथाका माध्यमबाट दर्शाइएको छ । विदेशीभूमिमा रोजगारीका लागि गएकाहरूको पारिवारिक विखण्डनको स्थितिलाई देखाइएको छ । यसैगरी समाजमा व्याप्त अन्धविश्वास, गरिबी, भोकमरी, सम्पत्तिमोह, भाषाप्रेम, राजनीतिमा अपराधको प्रवेश, दम्भ, मानवता, भ्रष्टाचार, स्वार्थ, लोभ, शोषण, अत्याचार, छुवाछूत, आपसी बेमेल, सन्तानप्रतिको ममता, शासन र राज्यसत्तामाथिको आक्रोश, अविश्वासलगायत विविध विषय कथामा समेटिएका छन् ।
सबै कथाहरू सामाजिक र राजनीतिक सेरोफेरोमा रहेको पाइन्छ । संग्रहभित्रका रचनामा विविधता छन् । लेखन-शैली सबैले बुझ्ने र मन छुने खालको छ । समाज, देश, प्रकृति, राजनीति, सत्ता-शासन, विकृतिविसंगति, आक्रोश, प्रेम, खुशी, पीडा, जीवनजगत्, सामाजिक सरोकारलगायतलाई विषयवस्तुको रूपमा समेटिएकाले लेखनमा बेग्लै स्वाद भेटिन्छ ।
पुस्तकभित्र विभिन्न शीर्षकमा समेटिएका कथाहरू हाम्रो सामाजिक परिवेशलाई उजागर गर्ने खालका छन् । कथाहरू हाम्रै समाज वरिपरिका घटनाजस्ता भएका र राजनीतिक, सामाजिक, तथा समाजपरक पारिवारिक यथार्थतामा आधारित भएका हुनाले पढ्दै जाँदा पाठकलाई आफ्नै देखाइ–भोगाइजस्ता लाग्छन् । समग्रमा भन्नुपर्दा, लघुकथाले हाम्रो समाजको ऐनाको काम गरेको छ । विशेषगरी, सामाजिक कुरीति, ह्रास हुँदै गएको मानवता, मानवीय मूल्यमान्यता, समाजको आडम्बरीपन, आदर्शको स्खलनजस्ता विषयलाई कथाहरूमा गम्भीर रूपले उठान गरेको पाइन्छ । पढ्दै जाँदा स्थापित तथा नवलेखकका कथामा भिन्नता महसुुस हुँदैन । सबै एक से एक र सशक्त लाग्छन् । यस्ता कथाहरू एउटा कृतिमा समेट्न सम्पादकले निकै मिहिनेत गर्नुपरेको होला भन्ने अनुमान पुस्तक पढेपछि सहजै गर्न सकिन्छ ।
सङ्ग्रहभित्रको एउटा कथा ‘बाकस’मा, कमाइका लागि लोग्ने विदेशिएपछि सासू छोडेर शहर पसेकी बुहारी र छोरोको लाश बाकसभित्र आउँदा अनभिज्ञ आमाले, बाकसलाई छोराले आफ्ना लागि कमाएर पठाइदिएको उपहार ठानेको मार्मिक र पीडादायी प्रसंग छ । वनमाली निराकारको यस कथाले हाम्रो आमसमाजको यथार्थ चरित्र चित्रण गरेको छ । बाबुराम लामिछानेको कथा ‘त्याग’ ले मान्छेमा देखिएको मानवीयपनको स्खलनलाई दर्शाउँछ । गौँथलीले विजातीय पंक्षी भँगेरालाई सहजै आफ्नो गुँड छोडिदिएको तर आफू र दाइबीचको अंशबण्डामा सानो विषयमा कुरा नमिल्दा अझैसम्म मुद्दा खेप्नुपरेको कुराले च्वास्स घोच्छ ।
घरायसी समस्याको समाधानका खातिर विदेशीभूमिमा कार्यरत पतिका पीडा र तिनका पत्नीहरूमा स्वार्थवश आएको विचलन र महत्वकांक्षा रामप्रसाद पन्तको कथा ‘धोका’ मा वर्णित छ । टुप्पोबाट पलाएकाहरूको दम्भ र चुरिफुरी अन्ततः पतनको कारण बन्ने वास्तविकतालाई ‘हैसियत’ कथामार्फत अल्पविरामले राम्ररी देखाएका छन् । भने, दिव्य गिरीको कथा ‘भरेङ’ मा राजनीतिले गाँजेको देशको हरेक क्षेत्रमा अघि बढ्न कुनै न कुनै पार्टीको फेरो समात्नै पर्ने दुर्भाग्यपूर्ण अवस्थाप्रति चिन्ता प्रकट भएको छ ।
जातजाति, धर्म, संस्कृति, सम्प्रदाय र भूगोलको गोलचक्करमा विभाजित समाजको मनस्थिति र गुम्दै गएको देश र जनताको पहिचानलाई अशेष मल्लले आफ्नो कथा ‘नेपाली’मा सटिक ढंगले देखाउनुभएको छ । यस्तै, आफैंले रकम ब्यहोरेर सम्मान र पुरस्कार थाप्ने प्रवृत्तिप्रति युवराज मैनालीको कथा ‘पुरस्कार’ ले कडा व्यंग्य गरेको छ भने टीकाराम रेग्मीको ‘पाप कस्तो हुन्छ ?’ कथामा, बलि दिएका पशुपंक्षीको अवस्था देखेर मित्र रोर्बटले गरेको प्रश्न ‘तपाईंको धर्म गर्दा त यस्तो हुन्छ, पाप नै गर्दा कस्तो होला ?’ ले साँच्चै नै सोचमग्न बनाउँछ ।
किशोर पहाडीको कथा ‘अर्थबोध’ मा-‘आमा ! डाँका भनेका कस्ता हुन्छन् ? भन्ने छोराको जिज्ञासामा, हाम्रा राजनीतिक नेताजस्ता हुन्छन्, बाबू ।’ भन्ने आमा पात्रको जवाफ हाम्रो समाजको अहिलेको नकार्न नसकिने कटु यथार्थ हो । सुमन सौरभको कथा ‘भोकमरी’ मा, मानिसको दुःखदायी मृत्यु देखेर अन्नमा दाइँ गरिरहेका कीराहरूले ‘ओहोहो ! हामीभन्दा अभागी हुँदो रहेछ मान्छे त ! यहाँ यत्रोविधि अन्नपात हुँदाहुँदै भोकभोकै मर्यो, कठैबरा !’ भन्ने प्रसंगले जनताको निरीहताको अवस्थालाई स्पष्ट पारेको छ ।
यी त केही उदाहरणमात्रै हुन् । जीवनजगत् भोग्ने क्रममा आफूले हासिल गरेका यस्ता विविध अनुभवजन्य विषयलाई सबै कथाकारले कथामा ढालेर सशक्त ढंगले प्रस्तुत गरेका छन् । संग्रहभित्र कतै जीवन दर्शन छ त, कतै सुखसमृद्धिका सपना पोखिएका छन् । कतै रोष छ, कतै आक्रोश छ । कतै मासिँदै गएको मानवीय संवेदनाप्रति चिन्ता प्रकट गरिएका छन् । जीवनजगत् र मानव कल्याणका पक्षमा स्वर मुखरित भएको पाइन्छ । समग्रमा, लेखकका जीवन भोगाइ र अनुभव नै कथा बनेर प्रकट भएका देखिन्छन् ।
प्रायः सबै कथाहरू सामाजिक र राजनीतिक सेरोफेरोमा रहेको पाइन्छ । संग्रहभित्रका रचनामा विविधता छन् । लेखन-शैली सबैले बुझ्ने र मन छुने खालको छ । समाज, देश, प्रकृति, राजनीति, सत्ता-शासन, विकृतिविसंगति, आक्रोश, प्रेम, खुशी, पीडा, जीवनजगत्, सामाजिक सरोकारलगायतलाई विषयवस्तुको रूपमा समेटिएकाले लेखनमा बेग्लै स्वाद भेटिन्छ ।
लघुकथा स्वभावैले छोटा, पोटिला र चोटिला हुन्छन् । यी छरिता हुने भएकाले पढ्न र बुझ्न सहज हुन्छ । यसै पनि वर्तमान समयमा मानिस निकै व्यस्त देखिन्छ । साहित्यमा पनि लेखनशैली केही बदलिएको छ । लामा साहित्यिक रचना कम र लघुरूप बढी आउन थालेको छ । यसै परिवेशमा पुराना र नयाँपुस्ताको अनुभवजन्य, समाजलाई सकारात्मक सन्देश र मार्गनिर्देश गर्न सक्ने यसप्रकारको संयुक्त लघुकथा कृति प्रकाशित हुनु ठूलो कुरा हो । उसैमाथि ९९ मस्तिष्कको सोचाइ र सशक्त लेखनशैलीको कारण यो पुस्तकलाई नेपाली समाजको चरित्र उजागर गर्ने जीवन्त दस्तावेज मान्न सकिन्छ ।
अन्त्यमा, पुस्तकभित्र ९९ जना कथाकारमध्ये जम्मा १४ जनामात्र नारी स्रष्टा समेटिएको देख्दा भने अलिक खल्लो महसुुस हुन्छ । आगामी दिनमा यसमा सुधार हुने अपेक्षासहित पठनीय र संग्रहणीय पुस्तकका लागि सम्पादकसहित सबै लघुकथाकार र साहित्यानुरागीहरूमा बधाई !
पुस्तक : छचल्का
विधा : लघुकथा
सम्पादक : विमल भौकाजी
मूल्य : रु. ३९०/-
पृष्ठ : २०४+४
प्रकाशक : भुँडीपुराण प्रकाशन
संस्करण : प्रथम, २०८०
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच