काठमाडौं । स्वस्थ लघुवित्त, समृद्ध सदस्य भन्ने नाराका साथ काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले स्वस्थ लघुवित्त, समृद्ध सदस्य नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुका साथै तेस्रो सम्मेलनले अघि सारेको ‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ अभियानलाई मूर्तरूप दिने जनाएको छ ।
लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउन युवा परिचालन गर्ने, वातावरण अनुकूलता प्रवद्र्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्य सक्रिय बनाउन अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।
समापन समारोहमा सांसद लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेको अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लघुवित्त क्षेत्रले प्रत्यक्षरूपमा समुदायमा रहेर काम गर्दै आएका छन्, यस क्षेत्रले वित्तीय अनुशासन पालना गर्दै सदस्यको हितमा रहेर काम गरेको अवस्थामा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ, अहिले यस क्षेत्रमा आएका विचलन रोक्न गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्य जवाफदेही बन्नुपर्छ ।’
सांसद श्रेष्ठले लघुवित्तलाई राजनीतीकरण गरेर यसकै नाममा आन्दोलन गर्ने क्रम बढेकाले त्यस्ता प्रवृत्ति रोक्न सबै पक्ष सजग रहनुपर्नेमा जोड दिँदै वित्तीय संस्था डुब्नु भनेको आमनागरिकको बचत डुब्नु भएकाले त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झण्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । गरिबी न्यूनीकरणमा लघुवित्त क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै उहाँले लघुवित्तले विपन्नको सारथि बनेर काम गर्नुपर्ने बताउनुभयो । लघुवित्तको अवधारणामा विपन्न नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था सुधारलाई प्राथमिकता दिएकाले त्यस्ता संस्था लगानीकर्ताको नाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्व बहन गर्न सचेत हुनुपर्ने उहाँको सुझाव थियो ।
सांसद चौधरीले भन्नुभयो, ‘अहिले लघुवित्त क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसको कारण लघुवित्त क्षेत्र विपन्नको हित र सामाजिक उत्तरदायित्वबाट बाहिर आउन खोज्दा आएको हो, लघुवित्तको संख्या आवश्यकभन्दा बढी हुनु, अधिक कर्जा प्रवाह हुनु, कर्जा लगेका सदस्यले कर्जा फिर्ताको दायित्व नसम्झनु लगायतका समस्याले हो, त्यसमाथि लघुवित्त क्षेत्रमा अधिक बेथिति देखिए, यस क्षेत्रलाई मिटरब्याजीका रूपमा हेर्न थालिएको छ, यसको कारण के हो, खोजिनुपर्छ । कतिपय कानुनी प्रक्रिया नै कमजोर छन्, राष्ट्र बैंक आफंैले नियमन गर्न सकेको छैन, सरकारले नियन्त्रण गर्न सकेको छैन ।’
खराब आचरण भएका वित्तीय संस्थालाई कारबाही गर्नुपर्नेमा समग्र वित्तीय क्षेत्रको अवस्था एउटै भएको दुष्प्रचार गर्ने अभियान नै चलाइएको भन्दै त्यस्ता पक्षलाई सरकारले कारबाही गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
इनरुवा नगरपालिकाकी उपप्रमुख विनिता मेहताले लघुवित्तले महिलाको आर्थिक हैसियतदेखि नेतृत्व विकासमा समेतमा सहयोग गर्ने बताउनुभयो । आफू २०६२ सालदेखि लघुवित्तको अभियानमा लागेको र आफू जोडिएका संस्थाले उत्कृष्ट काम गर्दै आएको उहाँको दाबी थियो । मेहताले भन्नुभयो, ‘विशेषगरी महिलालाई लघुवित्तले गर्दै आएको सहयोग महत्वपूर्ण छ, मैले आज जुन उचाइ हासिल गरेको छु, त्यसमा पनि लघुवित्तको भूमिका छ ।’
आयोजक समिति अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको भन्दै घोषणापत्रमा उल्लेखित विषय समुदायस्तरमा गएर लागू गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा उत्कृष्ट लघुवित्तकर्मी तथा लघुवित्त संस्थालाई पुरस्कृत गरिएको थियो । यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था पुरस्कृत भएको छ । जीवन विकासले एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।
त्यस्तै, तीन शून्य क्लब प्रवद्र्धन गर्ने विभिन्न क्लब, कर्मचारी तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ । ‘घर-घरमा उद्यमशीलता विकास’ अभियानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने संस्था तथा कर्मचारी, अति विपन्नको उत्थानमा सहयोग गर्ने कर्मचारी तथा संस्था, उत्कृष्ट केन्द्र प्रमुखलाई सम्मान गरिएको थियो । फागुन ५ र ६ गते दुर्ई दिनसम्म सञ्चालन भएको सम्मेलनमा आठ सय महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच