काठमाडौं । एनआइसी एसिया बैंकको स्लोगन छ, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ।’ तर, बैंक न सबैको हुन सकेको छ न सेवा नै राम्रो छ । ऋणीहरूबाट पैसा असुल्न गुण्डा परिचालन गरेर धम्क्याउने र कहिले ऋणीलाई घरभित्रै थुन्ने लगायतका गम्भीर आरोपसमेत बैंकले खेपेको छ । पटक-पटक विभिन्न विवादमा फसिरहने बैंक पछिल्लो समय भने आफैँ संकटमा परेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने बैंकमा खराब कर्जा बढेसँगै संकटमा परेको हो । संकट यतिसम्म गहिरिएको छ कि निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकाले केही शाखासमेत बन्द गर्नुपरेको विवरणहरू आएका छन् ।
सञ्चालन खर्च उच्च भएकाले भएका शाखा र कर्मचारीको भार थेग्न बैंकलाई हम्मेहम्मे परेको बताइएको छ । शाखा संख्याअनुसार व्यापार नभएपछि करिब ५० वटा शाखा र एक्सटेन्सन काउण्टर बन्द गर्ने तयारीमा लागेको स्रोत बताउँछ । बन्द हुने शाखामा केही काठमाडौं उपत्यकाभित्रका र केही ग्रामीण क्षेत्रका रहेका छन् । हाल ७७ वटै जिल्लामा बैंकले ३६० वटा शाखा ११० वटा एक्सटेन्सन काउण्टर, ६१ वटा शाखारहित काउण्टर र ६४५ वटा एटिएम रहेका छन् ।
बैंक नियामकीयहरूको निर्देशन उल्लंघन गर्दै अगाडि बढिरहेको पाइएपछि राष्ट्र बैंकले पनि निगरानी बढाएको थियो । राष्ट्र बैंकले एनआइसी एसिया बैंकले बढी नाफा आर्जन गर्ने उद्देश्यले अनुत्पादकत्व क्षेत्र घर-जग्गामा बढी लगानी गरेको र त्यो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रहेको पाइएपछि सचेतसमेत गराउँदै आएको थियो । राष्ट्र बैंकले गरेको सुपरीवेक्षणमा बैंकले कर्जा प्रवाहका लागि प्राथमिकतामा राखेको क्षेत्रहरूमा भने कम लगानी गरेको पाइएको थियो ।
बैंकको गिर्दो शाख
एनआइसी एसिया बैंक पछिल्लो समय एकपछि अर्को समस्यामा पर्दै गएको छ । आफूलाई उत्कृष्ट दाबी गर्दै आएको बैंक व्यवस्थापनको लापरबाहीका कारण समस्यामा पर्दै गएको हो । बैंकको वित्तीय अवस्था निकै बिग्रेको छ । बैंकको वित्तीय अवस्था नकारात्मकतातर्फ गएको तथ्यांकले देखाउँछ । बैंकको आम्दानीमा उच्च गिरावट आएको छ ।
खराब कर्जा वृद्धि भएको छ भने ठूलो परिमाणमा निक्षेप फिर्ता भइरहेको छ । गैरबैंकिङ सम्पत्ति थुप्रिएर बिक्री हुन नसक्नु, केन्द्रीय बैंकको निगरानी पर्नु, ग्राहकको विश्वसनीयता गुमाउनु र सेयर मूल्यमा गिरावट हुनुलगायत सूचकले एनआइसी एसिया बैंकको ओरालो यात्राको संकेत गर्छ । बैंक समस्यामा परेको जानकारी पाएपछि निक्षेपकर्ताले धमाधम रकम निकाल्न थालेका छन् । बैंकभित्रका बदमासी थेग्नै नसक्ने गरी बाहिर आउन थालेपछि निक्षेपकर्ताले धमाधम निक्षेप निकाल्न थालेका हुन् । माघ महिनामा मात्र बचतकर्ताले १४ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेको देखिएको छ । फागुन लागेपछि त्यो क्रम झनै बढ्दै गएको छ ।
पुस महिनामा बैंकको कुल निक्षेप तीन खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ रहेकामा माघमा त्यो रकम घटेर तीन खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । बैंकको खराब कर्जा (एनपिएल) ९५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत पुस मसान्तसम्म बैंकको खराब कर्जा १ दशमलव ९० प्रतिशत कायम भएको छ । जुन गत वर्षको सोही अवधिमा शून्य दशमलव ६१ प्रतिशत मात्रै थियो । बैंकको खराब कर्जा तीन अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकद्वारा जारी दोस्रो त्रैमासिक वित्तीय विवरणमा नै उल्लेख छ ।
बैंकको खुद ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन मुनाफा २४ दशमलव १३ प्रतिशत घटेको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ नौ पैसाले घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ ।
फेक एकाउण्टबाट कमेन्ट र स्टाटस, प्रायोजित समाचार सेयर गर्न उर्दी
एनआइसी एसिया बैंक वित्तीय नीति, नियम र बैंकिङ प्रणालीबाट सञ्चालन हुनेभन्दा पनि मुख्य लगानीकर्ता विशाल गु्रपकोे लहड र उनीहरूकै इसारामा चल्ने गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेको गैरव्यावसायिक क्रियाकलापका कारण सिंगो वित्तीय क्षेत्रमाथि नै आक्षेप लाग्न पुगेको छ । सिइओ न्यौपानेले ‘बैकिङ, इथिक्स्, मोरल एण्ड इन्ट्रिग्रिटी’ लाई त्यागेर साम, दाम, दण्ड, भेद प्रयोग गर्न खोज्दा परिणाम नकारात्मक बन्दै गएको बैंकरहरूको विश्लेषण छ ।
बैंकको कमजोेरीबारे लेखिएका समाचारविरुद्ध फेक एकाउण्टबाट सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेख्न लगाउने र प्रायोजित समाचारलाई सेयर गर्नुपर्ने बैंकले आफ्नो उर्दी दिएको कर्मचारीहरूले गुनासो गर्ने गरेका छन् । अहिले बैंकको ऋण तिर्न नपर्ने आन्दोलनलाई एजेण्डा बनाएर एनआइसी एसिया बैंकको कमजोरीलाई छोप्न सकिन्छ कि भन्ने प्रयास समकक्षी बैंकरहरूले गरेका छन् ।
तल्लो तहका कर्मचारीमाथि थिचोमिचो
एनआइसी एसियामा लगभग तीन हजार कर्मचारी छन् । तीमध्ये आधाजति अर्थात् करिब एक हजार पाँच सयभन्दा बढी कर्मचारीलाई बैंक व्यवस्थापनले करारमा राखेर ६-६ महिनामा करार नवीकरण गर्ने गरेको थियो । तर, राष्ट्र बैंकका अधिकारीहरूको सिफारिसमा राखिएका कर्मचारीहरूको हकमा भने करारमा बस्नुपर्ने बाध्यता थिएन । उनीहरू हाजिर भएको अर्को महिनादेखि नै स्थायी हुने प्रक्रिया सुरु गरेको थियो । बैंकको त्यस्तो नियमविपरीतको कार्य र विभेदकारी नीति राष्ट्र बैंककै अधिकारीहरूको आडमा भइरहेको पीडित कर्मचारी बताउँछन् । पीडित कर्मचारीले आफ्ना पीडा मिडियामा पोख्न थालेपछि केहीलाई जागिरबाटै निकालिएको उनीहरूको भनाइ छ ।
अहिले पनि बैंक व्यवस्थापनले तल्लो तहका कर्मचारीमाथि व्यापक दमन र विभिन्न खाले शोषण गरिरहेको कर्मचारी बताउँछन् । तर, त्यसका विरुद्ध न कसैले मुख खोल्न सकेका छन् न त नियमनकारी निकायले हस्तक्षेप गरेको छ । राष्ट्र बैंकले एनआइसी एसियाका यस्ता कुकृत्यमा मौन समर्थन जनाउने गरेको छ । राष्ट्र बैंकका अधिकारीहरूकै आडभरोसामा बैंकले निक्षेप र कर्जाका अनेकौँ स्किमहरू सार्वजनिक गर्दै आएको छ । तर, त्यसको सफल कार्यान्वयन र नियमन भने हुने गरेको छैन ।
तथ्यांकमा बैंकको बिग्रँदो स्थिति
- चालु आवमा बैंकको नाफा करिब ४२ प्रतिशतले गिरावट ।
- खराब कर्जा ९५ प्रतिशत बढीले वृद्धि ।
- गैरबैंकिङ धितो साढे तीन अर्बभन्दा बढी ।
- ऋण नउठ्दा पाँच अर्ब ६२ करोड रुपैयाँ ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य ।
- ८० भन्दा बढी ऋणीसँग एक अर्ब रुपैयाँ ऋण असुली गर्न न्यायाधिकरणमा मुद्दा ।
- ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन नाफा २४ दशमलव १३ प्रतिशत घट्यो ।
- वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक ।
- प्रतिशेयर आम्दानी ३१ रुपैयाँ नौ पैसा घट्यो ।
- एक महिनामै १४ अर्ब निक्षेप फिर्ता ।
समग्र वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले वृद्धि हुँदा एनआइसी एसियाको भने घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार माघ महिनामा मात्रै एनआइसी एसिया बैंकको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ । बैंकले पुँजीकोष मिलान गर्न बासेल रिपोर्टमा एक खर्ब ३४ अर्ब फर्जी कर्जा देखाएको छ । बैंकको दुई खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको छ । जबकि आवासीय कर्जामा अधिकतम् २५ प्रतिशत प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकको छ । तर, बैंक व्यवस्थापन भने समस्या लुकाउन अनेकन प्रचारबाजी गरिरहेको छ । बैंकले कन्टेन्ट एडको सहारामा सामाजिक सञ्जालमार्फत प्रचारबाजी गरिरहेको छ । समस्या समाधान गर्नुको साटो बैंकले फेसबुके प्रचारको सहारा लिएको हो । एनआइसी एसिया बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०मा सूचीकृत संगठित संघ संस्थाहरूको वर्गीकरणमा समेत तल परेको छ । अरू आठवटा बैंक ‘ए’ समूहमा पर्दा आफूलाई ‘उत्कृष्ट’ स्वघोषणा गर्दै आएको एनआइसी एसिया भने ‘बी’ समूहमा सूचीकृत भएको छ । यसले पनि एनआइसीको समस्या उजागर गर्छ ।
ब्याज सहुलियतको दुरुपयोग
मैतीदेवीस्थित एक ऋणीको ६ करोड चलनचल्तीको धितो दुई करोडमा बैंकले कब्जा गरेको घटना बाहिरिएको छ । पीडितको पीडा सामाजिक सञ्जालभर यत्रतत्र छ । पीडित महिलाले आफूलाई घर न घाटको बनाएको बताउनुभएको छ । यस्तै, कपिलवस्तुको शाखाका म्यानेजर राजेश रावलले जाँड खाएर कर्मचारी पिटेको घटना पनि त्यत्तिकै भाइरल छ ।
बेलाबखत ऋणीहरूले एनआइसी एसिया बैंकका कुकृत्यविरुद्ध विरोधमा जुलुस र नाराबाजी गर्दै आएका घटनाहरू पनि सार्वजनिक हुँदै आएका छन् । एनआइसी एसिया बैंकले अधिकांश लगानी घरजग्गामा गर्दै आएको छ । घरजग्गामा पाइने ब्याज सहुलियतमा समेत बैंकले दुरुपयोग गरेको आशंका अन्तर्राष्ट्रिय मुद्रा कोषको छ । कोषकै दबाबमा राष्ट्र बैंकले अडिट गर्नुपर्ने अवस्था आएको छ ।
एनआइसी एसियाले किस्ता नतिर्ने ऋणीलाई सहुलियत दिने र किस्ता तिर्ने ऋणीलाई सहुलियत नदिने विभेदकारी नीति लिँदै आएको छ । एक खर्बभन्दा बढी किस्ता नतिरेका घरजग्गा कर्जाको फर्जी ऋणीहरूको विवरण बनाएर सहुलियत दुरुपयोग गरेको आशंकामा आइएमएफले इन्टरनेसनल अडिटको दबाब दिएको हो ।
यी र यस्ता कुकृत्यको प्रपञ्च मिलाउने जिम्मा बैंकको एमजी अर्जुन खनियाँले लिँदै आउनुभएको छ । उहाँले नै राष्ट्र बैंकका अधिकारीहरूलाई व्यवस्थापन गर्दै आएको स्रोत बताउँछ । पछिल्लो समय बैंकमा भएका बदमासी एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गएपछि एनआइसीका सकुनी भनेर कर्मचारीमा चिनिनुभएका खनियाँ बिरामी भएको बहानामा अस्पताल गएको जवाफ दिएर उम्किने प्रयास गरिरहनु भएको छ । डिसिइओ सन्तोष राठी मौनता साँधेर पन्छिँदै आउनुभएको छ ।
त्यहाँभित्र खनियाँ र सिइओ रोशन न्यौपानेले सञ्चालकको निर्देशनमा गरेको कुकृत्यको साक्षी बन्न अस्वीकार गर्दै अवकाशको मुखमा पुग्नुभएका सुधीर पाण्डेले राजीनामा दिनुभएको छ । तर, स्वयम् सिइओ न्यौपाने अब विस्तारै अप्ठेरो अवस्थामा पुग्नुभएको छ । बैंकको गिर्दो अवस्था सिइओ न्यौपानेले रोक्नसक्ने अवस्था देखिएको छैन । खनियाँसमेत लुक्ने बाटो खोज्न थाल्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच