जलवायु परिवर्तनको असर : समय अघि नै फुल्यो गुराँस, बेमौसममै फले मौसमी फल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । चैत वैशाखमा फुल्ने लालीगुराँस माघको अन्तिम सातादेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको छ ।

फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र जङ्गली फलहरुको मौसमीचक्र परिवर्तन हुन थालेपछि समयभन्दा अघि नै लालीगुराँस फुल्नुका साथै जंगली फलफूल फल्न थालेका वातावरणवीदहरुको भनाइरहेको छ ।

विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वन तथा वातावरणका अध्येता शिशिर काफ्लेले बताउनुभयो ।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यसवर्ष माघ दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेको स्थानीयवासी बताउँछन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

“बेनी नगरपालिका २ को गौडालाउनी जंगलमा माघ तेस्रो सातादेखि नै ढकमक्क लालिगुराँस फुलेको छ,विगतका वर्षहरुमा फागुनको अन्त्यतिर फुल्न सुरु हुने गुराँस यस वर्ष माघको दोस्रो सातादेखि नै फुलेको हो” बेनी नगरपालिका २ का हरि बहादुर घिमिरेले बताउनुभयो ।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको घिमिरेले बताउनुभयो ।

“अहिले माघमा नै काफल पाकेको र गुराँस फुलेको पाइएको छ”, वातावरणविद् सामाजिक विषयका शिक्षक विकल सेनले भन्नुभयो “माघमा नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।” विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् । त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू-भागमा पनि पाइन थालेका छन् ।

वातावरण संरक्षणकर्मी सुरेश सापकोटाका अनुसार समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा पर्छन् ।

जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गलनै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ-नयाँ रोग देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो ।

यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा छ । पृथ्वीमा वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा हुने महत्वपूर्ण परिवर्तन नै जलवायु परिवर्तन हो ।

पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने गरेको मौसमविज्ञ बताउँछन् । हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साईड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुने गर्छ । जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत गम्भीर असर देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरुले बताएका छन् ।

वेमौसममा नै लालीगुराँस फुलेर वनै राताम्यै भए पनि राम्रोसँग वर्षा र हिमपात भने हुन नसकेको स्थानीय वासिन्दाहरुले बताएका छन् । “माघ तेस्रो साता लेकाली क्षेत्रमा सामान्य हिमपात र छिटपुट वर्षा भयो, अहिले तीन दिनदेखि बाख्लो तुवाँलो लागेको छ । रुघा खोकी,ज्वरो लगाएतका बिरामीहरु बढेका छन्” मालिका गाउँपालिका ६ का टेकबहादुर सिउथानीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?