
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली युवा नेता तथा महासचिव शंकर पोख्रेलले पार्टीको आन्तरिक चरित्रका विषयमा केही गम्भीर प्रश्न उठाउनु भएको छ । बहुदलीय अभ्यास गरेको तीन दशक नाघेका हरेक राजनीतिक दल हुन् वा दुई दशक वा एक दशकसमेत पूरा नभएका दलहरू हुन् सबैमा त्यो प्रश्न खरो रूपमा उठ्नसक्छ र उठ्नुपर्ने हुन्छ । उहाँले एमालेभित्र स्वेच्छाचारीता, अनुशासनहीनता जस्ता गैरलोकतान्त्रिक आचरण देखिएको स्पष्ट गर्नुभएको छ । एमालेमा जस्तै हालका दिनहरूमा सबै पार्टीमा सैद्धान्तिक विचलनको प्रश्न टड्कारो रूपमा देखापरिरहेको छ । भर्खर सम्पन्न पार्टीको सातौं पूर्णबैठकमा महासचिव पोखरेलले पेश गरेको प्रतिवेदनमा पार्टीमा स्वेच्छाचारीता, अराजकता र अवसरवाद झाँगिन खोज्दैछ भन्ने निष्कर्ष निकालिएको छ । एमालेजस्तो बलियो संगठन र कडा अनुशासन भएको पार्टीमा पनि यस प्रकारको प्रश्न उठ्नु भनेको ज्यादै गम्भीर विषय हो । तुलनात्मक रूपमा नेकपा एमालेमा अनुशासन मजबुत छ, संगठन बलियो छ भन्ने आमधारणा थियो । केही रक्तरञ्जित घटनाको इतिहास भएको भए तापनि पछिल्लो चरणमा कठोर अनुशासन देखाउँदै संसदीय प्रणालीकै अनुशरण गरी राजनीति गरिरहेको पार्टी हो यो ।
झापा विद्रदोहमा संलग्नहरूलाई झापाबाट इलाम जेल सरुवा गर्ने बाहनामा तत्कालीन व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गर्दा पनि विचलित नभएका र अनुशासन नतोडेकाहरूको पार्टीले भरिपूर्ण मानिन्थ्यो आजको एमाले । प्रजातन्त्रको पुनस्र्थापनापछि मालेबाट नेकपा माक्र्सवादी पार्टीसँग एकता गरेर आफ्नो संगठन अझै मजबुत बनाउँदै अघि बढेको एमाले हालसम्म नेपालको एउटा शक्तिशाली पार्टीका रूपमा स्थापित बन्न सफल भइरहेको छ । यस्तो अनुशासित र संगठित पार्टीमा समेत यस प्रकारको समस्या छ भने अरू पार्टीहरूमा नहुने कुरै भएन । यस्तो समस्या नेपालका सबैजसो पार्टीमा छ । नेकपा माओवादी केन्द्रलाई हेर्ने हो भने सशस्त्र विद्रोहका समयमा अगाडि सारिएका नीति र सिद्धान्तहरूलाई उसले पूर्णत छोडेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्नु जति सुखद् छ त्यो भन्दा बढी दुःखद् त्यस पार्टीभित्र फैलिएको अराजकता र अनुशासनहीनता देखिन्छ । माओवादी पार्टी संबद्ध धेरै नेताकार्यकर्ताहरू पार्टीबाट पलायन हुनुको कारण मध्ये एक यो पनि हो । पार्टी र शक्तिमा जो छन् ती मात्रै रमाइरहेका छन् ।
अर्को ठूलो पार्टी नेपाली कांग्रेसमा पनि यस्ता अनेकौं समस्या छन् । विश्वेश्वरप्रसाद कोइरालाले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोमा नेपाली कांग्रेस पनि हिँड्न सकेको छैन । यस्ता विचारहरू अब भाषण र व्यानरमा केन्द्रित हुन थालेका छन् । हालका दिनहरूमा नेपाली कांग्रेस पार्टीभित्र अनेक सैद्धान्तिक आचरणगत व्यवहारपरक यस्ता विषयमा मतैक्यता छैन, फरकफरक विचार राख्ने धारहरू छन् । सानो भए पनि नेकपा एमालेबाट पृथक भएको नेकपा एकीकृत समाजवादी पार्टीको सैद्धान्तिक विचार खास केही पनि छैन । एमाले पार्टीसँगको विमति, अझै भन्ने हो भने केपी शर्मा ओलीसँगको व्यक्तिगत झगडाले फुट्न पुगेको यस पार्टीलाई सिद्धान्त स्थापित गराउनतिर भन्दा आफ्नो पार्टीको अस्तित्व बचाउन नै गाह्रो भइरहेको अवस्था छ अहिले ।
सबै पार्टीहरू सत्ताको लक्षका साथ अगाडि बढेका कारण वर्तमानको राजनीतिक विचलनको अवस्था आएको हो । तराईमधेसवादी पार्टीहरू त विभिन्न चिराचिरा भएर विभाजित भइसकेका छन् । गान्धीवादी नेता गजेन्द्रनारायण सिंहले मधेसतराईको हितका लागि स्थापना गरेको सद्भावना पार्टी हाल अस्तित्वमै छैन । अनेकौं पार्टीहरू स्थापना भइसकेका छन् । तराईको हकहित भनेर स्थापित हुने यस्ता पार्टीहरू फुट्ने र जुट्ने काम पटकपटक भइसकेको छ । जुन पार्टी आए पनि तिनको अर्जुनदृष्टि सत्तामै केन्द्रित हुनेगरेको छ । नयाँ स्थापना भएका पार्टीहरूमा पनि छोटो समयमै देखिएको मतमतान्तर हेर्दा तिनको इतिहास पनि अरू पार्टीहरूकै जसरी धूमिल बन्दै जाने निश्चित छ ।
एमाले नेपाली कांग्रेस वा माओवादी जस्तै वास्तविक संगठित राजनीतिक पार्टी हो । गत निर्वाचनमा ठूला केही पार्टीहरूसमेत गठबन्धन गरेर गएका थिए तर एमाले एक्लै गएर पनि दोस्रो ठूलो दल बन्न सफल बन्यो । यसको कारण यसको संगठन नै हो । यस्तो अनुशासन र संगठनमा अब्बल पार्टीमा समेत स्वेच्छाचारी, अराजकता र अवसरवाद झाँगिन पुगेको कुरा महासचिवजस्तो प्रमुख पदीय हैसियतको व्यक्तिबाटै प्रतिवेदनमै उल्लेख भएर आएकाले एमालेसमेत अविचलित रहन नसकेको पुष्टि हुन आउँछ ।
कुनै पार्टीविशेषको समस्याका रूपमा यसलाई हेर्न सकिएला तर यसलाई एउटा अमूक पार्टीको समस्याका रूपमा मात्र होइन राष्ट्रिय समस्याका रूपमा लिनुपर्ने हुन्छ । कुनै एउटा पार्टी बलियो हुनु भनेको अर्को पार्टी पनि बलियो हुनु हो । त्यसको प्रभाव सबै पार्टीमा पर्छ र त्यससँगको प्रतिस्पर्धामा आपूmलाई पनि बलियो बनाउँदै लैजाने भएको कारण अन्ततः सबै पार्टी बलियो बन्न पुग्छन् । पार्टीहरू बलिया भए भने राष्ट्र बलियो बन्छ । यस अर्थमा पार्टीको संसदीय भूमिका कमजोर भयो भन्ने चिन्तालाई मनन् गर्दै एमाले पार्टी अगाडि बढ्यो भने अरू पार्टीले पनि यसको प्रभाव ग्रहण गर्नसक्छन् र समग्र संसदीय भूमिका सबल बन्न जानेछ । महासचिव पोख्रेलले भन्नु भएजस्तै पार्टीभित्र स्वेच्छाचारी देखिएको छ । त्यो प्रवृत्ति अन्त्य हुनु जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच