वातावरणीय प्रतिकुलताका कारण लोप हुँदै जलपंक्षी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका तीन ठूला जलाधार क्षेत्र (कालीगण्डकी,म्याग्दी नदी र रघुगंगा खोला) मा लजविद्युत आयोजना निर्माण हुने क्रम बढेपछि वासस्थानको अभावमा यहाँ पाइने जलपंक्षीहरु (पानीचरा)लोप हुँदै गएका छन् ।

पछिल्ला वर्षहरुमा तीब्र रुपमा निर्माण भैरहेका जलविद्युत आयोजना र मानवीय कारणले सिमसार क्षेत्रहरु नासिदा जलपंक्षीलगायत जलचर प्राणीहरुको अस्तित्व मेटिदै जान थालेको हो । जलविद्युत आयोजनाका कारण यहाँका सिमसार नासिएसँगै यहाँ पाइने जलहाँस,भुँडीफोर (गरुड), किङफिसर, टुमटुमे,सेतोथोप्ले,मलुवा लगायतका जलपंक्षीहरु लोप हुँदै गएका चरा अनुसन्धानकर्ता केशव चोखालले बताउनुभयो ।

अनुसन्धानकर्ता चोखालका अनुसार पछिल्लो समय म्याग्दीको ग्रामिण भेगहरुमा सडक र हाइड्रोपावर जस्तो भौतिक संरचना निर्माण गरिदा पानीको स्रोत सुक्दै गएका र सिमसारको क्षेत्रफल घट्दै जादा सिमसारमा पाइने चरालगायत जलचर प्राणीको अस्तित्व संकटमा पर्दै गएको हो ।

नेपालमा ४३ प्रजातिका विश्वकै दुर्लभ चराहरु पाइएका र ती चराहरुमध्ये १२ प्रजातिका चराहरु जलपंक्षी अर्थात् पानीचरा भएका चराविद् हतन चौधरीले बताउनुभयो । उहाँका अनुसार नदी, खोलाताल, पोखरी, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदानजस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने आश्रित चरालाई जलपंक्षी अर्थात् पानीचरा भनिन्छ ।

पछिल्लो समय जलवायु परिवर्तन, वातावरणीय प्रदूषण, मानवीय अतिक्रमण, सडक तथा जलविद्युतको विस्तार र सिमसार क्षेत्रको क्षयीकरणका कारण जलपंक्षी र जलचरप्राणीहरु नासिदै जान थालेका उहाँको भनाइ रहेको छ ।

त्रिभुवन विश्वविद्यालयलमा एमएससी (प्राणीशास्त्र) मा अध्ययनरत चरा अनुसन्धानकर्ता केशव चोखालले नेपालमा सङ्कटापन्न अवस्थामा रहेका एक सय ६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेको बताउनुभयो । उहाँले कालीगण्डकी र म्याग्दी नदीको बाटो हुँदै आउने तीब्वतीयन चराहरु पनि पछिल्लो समय देखिन छोडेका बताउँदै कालिगण्डकी करिडोरको निर्माण कार्य र जलविद्युत आयोजनाहरुको कारण यस क्षेत्रमा जलपंक्षी र जलचर प्राणीहरु लोप हुने अवस्थामा पुगेका जानकारी दिनुभयो ।

“म्याग्दीका मुख्य नदीहरु रघुगङ्गा, कालीगण्डकी तथा म्याग्दी नदी क्षेत्र दुर्लभ, रैथाने तथा बसाइँसराइ गरेर आउने जलपंक्षीहरुको लागि अत्यन्त उपयुक्त बासस्थान हो, तर पछिल्लो समय कमजोर वातावरणीय मूल्याकंन प्रतिवेदन (ई आई ए) तयार गरेर धमाधम हाइड्रोपावर ड्याम निर्माण गरिदैछ, जसले नदीको समग्र धार नै परिवर्तन हुँदा त्यहाँ आश्रित जलपंक्षीहहरुको वासस्थान सङ्गकटमा पर्दा जलपंक्षी लगायत जलचरप्राणी लोप हुँदै गएका हुन् ।

म्याग्दी भएर बग्ने कालीगण्डकी,म्याग्दी नदी र रघुगंगा खोला क्षेत्रमा १६ ओटा जलविद्युत आयोजनाहरु छन् । ती मध्ये १२ ओटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् भने चारओटा आयोजनाहरुको निर्माण सम्पन्न भैसकेको छ ।

जलविद्यूत आयोजनाका कारण वर्षाैंदेखि पाइने गरेका जलपंक्षीलगायत स्थानीय भुरे जातका माछा, गङ्गटा, गड्यौलालगायतका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् ।जलपंक्षी र जलचर लोप हुन थालेपछि वातावरणीय असन्तुलन उत्पन्न हुनुका साथै खोला तथा नदीवरपरका खेतीयोग्य जमीनको माटोमा उर्वराशक्ति कम हुँदै गएको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका टीका पूर्जाले बताउनुभयो ।

नारच्याङमा मात्रै १ सय ५७ मेगावाटका ५ जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । यी नदी र खोलामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेपछि यहाँका जलपंक्षी,जलचरदेखि रैथाने प्रजातिका पुतली, वनस्पति र पक्षीहरु हराउँदै जान थालेको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका लोकबहादुर फगामीले जानकारी दिनुभयो ।

जलविद्युत आयोजना निर्माण हुन थालेपछि जलपंक्षीलगायत जलचरको वासस्थन नास हुनुका साथै वातावरणीय सन्तुलनसमेत बिग्रेकाले उनीहरुको अस्तित्व सङ्कटमा परेको पाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले सन्तुलित विकासको अवधारणलाई आत्मसाथ गर्न नसक्दा वातावरणीय असन्तुलन देखिदै गएको बताउनुभयो । विकासका पूर्वाधारहरुले वातावरणलाई असर गरेको र त्यसको प्रभाव जलपंक्षी तथा जलचरप्राणीहरुमा समेत परेको उहाँको भनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?