काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुनेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभई प्रमाणका आधारमा बनाउन पनि निर्देशन दिनुभएको हो । उहाँले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिनुभयो । ‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिनेछ । र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नुहोला । कानुनअन्तर्गत रहेर तपाईंहरूले गर्ने हरेक कामको जिम्मेवारी लिन्छु । परेको चुनौती पनि व्यहोर्छु,’ उहाँले भन्नुभयो, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।’
उहाँले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा-बढुवाका लागि शक्ति केन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको पनि उहाँले बताउनुभयो । आफू पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरुवाका गरेको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभयो । ‘कुनै कर्मचारी सरुवा-बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी-के गर्नुपर्छ, गर्नेछु,’ उहाँले भन्नुभयोे, ‘म कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन । केही फरक गर्ने चाहना, नीति-विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढ संकल्प बोकेर आएको हुँ । त्यसमा तपाईंहरूको सहयोग मिल्नेछ भन्ने ठानेको छु ।’ उहाँले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन पनि अनुरोध गर्नुभयो । निर्धक्क भएर आफ्नो अधिकारको प्रयोग गर्न र आफूले हस्तक्षेप नगर्ने पनि बताउनुभयो । तर, अन्य व्यक्तिहरूले नै संगठन चलाउने अवस्था आएमा भने आफूले हस्तक्षेप गर्ने बताउनुभयो । त्यसैगरी, ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पु¥याउने उहाँको भनाइ थियो । यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपांगता भएकाहरूको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो ।
मिटरब्याजपीडित, सहकारी पीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गर्नुभयो । त्यसक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
सुन तस्करीमा जोडिएकाहरू माथि अनुसन्धान गर्न निर्देशन
गृहमन्त्री लामिछानेले सुन तस्करीमा जोडिएका पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दीपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । पूर्व–उपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको प्रमाणसहितको सामग्री सार्वजनिक भएको थियो । गृहमन्त्री लामिछानेले यससम्बन्धी घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच