✍️ प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ
सन् २०२१ को जनगणनाले नेपालमा १४२ जातिहरू, १२४ भाषाहरू र १० भिन्न धर्महरू भएको उल्लेख गरेको छ । ती धर्महरूमध्ये मुख्य गरेर हिन्दु ८१.२ प्रतिशत, बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३.१७ प्रतिशत र इसाई १.७६ प्रतिशत भएको जनाइएको छ । यिनै विविधतालाई स्वीकारेर नेपालको संविधान-२०७२ को धारा ३ ले नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त राष्ट्र’ को रूपमा व्याख्या गरेको छ । विविधता राष्ट्रको गहना भए तापनि विभिन्न जातीय समुदाय र धार्मिक सम्प्रदायबीच बेलाबखत हुने वाकयुद्धले कतै समाजलाई नै विभाजन गरी हिंसात्मक गतिविधिमा संलग्न त गराउँदैन भन्ने चिन्ता जनमानसमा छ ।
केही समयअघि धरानमा देखापरेको गोरु पुज्ने हिन्दु धर्मावलम्बीहरू र गोरु काटेर खाने आदिवासी जनजातिबीच झण्डै भएको मुठभेट र हिन्दु र इसाईबीच मन्दिरको छेउमा चर्च बनाएको विषयमा भएको वादविवादले झण्डै उग्र रूप लिएको थियो । आउँदा दिनहरूमा यस प्रकारका विवादहरू फेरि नआउलान् भनेर ढुक्क हुने स्थिति भने छैन । यस प्रकारको गम्भीर परिस्थितिमा उल्लेखित विविधता भएको मुलुकलाई एक सूत्रमा बाँध्ने साझा मिलन बिन्दुको खोजी हुन आवश्यक छ ।
सन् २०११ को जनागणनाले कूल २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्यामध्ये १ करोड, अठार लाख, २६ हजार ९५३ जनाले मातृभाषाको रूपमा नेपाली प्रयोग गर्ने गरेको र ८६ लाख ८२ हजार ४९९ जनाले दोस्रो भाषाको रूपमा नेपाली भाषा प्रयोग गर्ने गरेको उल्लेख गरेको थियो । उक्त जनगणनाले कूल मिलाएर जम्मा २ करोड ५० लाख ९ हजार ४५२ अर्थात् ७७.४१ प्रतिशतले नेपाली भाषा प्रयोग गरेको देखाएको थियो । सन् २०२१ को जनगणनामा नेपालीहरूको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० भएको उल्लेख छ । त्यसमध्ये १ करोड ३० लाख ८४ हजार ७५७ जनाले मातृभाषाको रूपमा र १ करोड ३४ लाख ८२ हजार ९०४ जना अर्थात् ९१.०९ प्रतिशतले दोस्रो भाषाको रूपमा नेपाली भाषाको प्रयोग गरेको उल्लेख गरिएको छ । यो तथ्यांकले नेपाली भाषाको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै जाने कुरा अनुमान गर्न सकिन्छ ।
हिजोआज छापामा देखिने गरेका शब्दहरूको प्रयोग, टिभी र रेडियोमा समाचारवाचक र कार्यक्रम सञ्चालकहरूले गर्ने गरेको शब्दका उच्चारण र शब्दकोश निर्माताले गर्ने गरेका हलन्तको प्रयोगले नेपाली भाषा कसरी शुद्ध लेख्ने र बोल्ने भन्ने समस्या विशेष गरेर दोस्रो भाषाका रूपमा नेपाली प्रयोग गर्नेहरूलाई पर्दछ ।
नेपालको संविधानको भाग १ को धारा ७ को उपधारा १ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारको कामकाजको भाषा हुनेछ’ भन्ने उल्लेख छ । शताब्दीयौं अघिदेखि सरकारी कामकाज र शिक्षणको भाषा भएको कारणले अहिले आएर यस भाषाले नेपालका हरेक जातिभित्र प्रवेश पाएको छ । त्यसैले गोरु पुज्ने हिन्दु र गोरु काट्ने जनजाति, मन्दिरको कुरा उठाउने हिन्दु र चर्चको कुरा उठाउने इसाईहरूले आपसी वादविवादमा सञ्चारको माध्यम त नेपाली भाषालाई नै बनाएको देखिन्छ : चाहे सामाजिक सञ्जालहरूमा होस् या आम्नेसाम्नेमा मौखिक रूपमा होस् । यसबाट नेपालीहरूको विविधताबीचको साझा मिलन बिन्दु नेपाली भाषा नै हुनसक्छ भन्ने आँकलन गर्न सकिन्छ । त्यसैले यस भाषालाई गैरनेपाली मातृभाषीहरूका लागि सिक्न सजिलो बनाउन जरुरी छ ।
हिजोआज छापामा देखिने गरेका शब्दहरूको प्रयोग, टिभी र रेडियोमा समाचारवाचक र कार्यक्रम सञ्चालकहरूले गर्ने गरेको शब्दका उच्चारण र शब्दकोश निर्माताले गर्ने गरेका हलन्तको प्रयोगले नेपाली भाषा कसरी शुद्ध लेख्ने र बोल्ने भन्ने समस्या विशेष गरेर दोस्रो भाषाका रूपमा नेपाली प्रयोग गर्नेहरूलाई पर्दछ । उदाहरणका लागि हामीहरूले सुन्दै आएको ‘ऐन’ लाई ‘एन’, ‘विद्यार्थी’ लाई ‘विधार्थी’ अनि ‘विद्यालय’ लाई ‘विधालय’ उच्चारण गरेको सुनिन्छ । त्यस्तै हामीले सुन्दै आएको ‘म भोलि यो काम सक्छु’ को सट्टा ‘म भोलि यो काम सकाउँछु’ प्रयोग गरेको सुनिन्छ । वास्तवमा ‘सक्नु’ अकर्मक क्रिया हो भने ‘सकाउनु’ सकर्मक क्रिया हो ।
यसको अर्थ ‘कसैलाई लगाएर काम सक्नु’ हुन्छ । त्यस्तै हामीले प्रयोग गर्दै आएको ‘त्यहाँ ३० भन्दा बढी विद्यार्थी थिए’ को सट्टा ‘त्यहाँ ३० बढी विद्यार्थी थिए’ भन्ने प्रयोग भएको देखिन्छ । वास्तवमा यी दुई वाक्यको अर्थ नै फरक छ । पहिलोले ३० भन्दा बढी विद्यार्थीको अर्थ दिन्छ । त्यो ३१, ३२, ३३ या ४० आदि हुनसक्छ तर दोस्रोको अर्थ चाहिनेभन्दा ३० जना बढी विद्यार्थी थिए भन्ने अर्थ बुझिन्छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली बृहत् शब्दकोश मा ‘बृहत्’ मा हलन्तको प्रयोग गर्नाले हलन्त नै कस्तो ठाउँमा प्रयोग गर्ने हो त्यसमा अन्यौल छाएको छ । यदि ‘बृहत’ को ‘त’ मा स्वर वर्ण उच्चारण नहुने कारणले यसो गरिएको हो भने ‘शब्दकोश’ को उच्चारण पनि हलन्त नै गरिन्छ तर त्यहाँ हलन्त चिहृन दिएको देखिँदैन । यदि ‘बृहत्’ विशेषण भएकाले हलन्तको प्रयोग गरिएको हो भन्ने ‘हाम्रो देश विशाल छ’ भन्ने वाक्यमा ‘विशाल’ भन्ने विशेषणमा हलन्त प्रयोग भएको देखिँदैन । यसको कारणको रूपमा पाइने उत्तर भनेको ‘बृहत्’ र ‘विशाल’ तत्सम शब्दहरू हुन् । संस्कृतमा अघिल्लो शब्दको उच्चारण हलन्त र पछिल्लो शब्दको उच्चारण अजन्त हुन्छ तर नेपालीमा भने ‘विशाल’ शब्दको उच्चारण हलन्त नै गरिन्छ, अजन्त गरिँदैन ।
वास्तवमा नेपालीमा उच्चार्य रूप र लेख्य रूपमा यदाकदा फरक हुने भएकाले गैरनेपाली मातृभाषीहरूका लागि शुद्धसँग लेख्न कठिनाइ पर्छ । नेपालीमा दन्त्य/स/मात्र छ तर संस्कृतबाट आयातित तत्सम शब्दहरूमा यसको अलावा मूर्धन्य/ष/र तालव्य/श/समेत प्रयोग भएको पाइन्छ । उदाहरणका लागि ‘षड्यन्त्र’, ‘शक्ति’ । यी शब्दहरूमा भएका/ष/र/श/ वर्णको उच्चारण भने/स/वर्ण जसरी नै गरिन्छ । मूर्धन्य र तालव्य वर्णका रूपमा गरिँदैन ।
मातृभाषाको प्रभावले गर्दा नेपाली भाषाको सिकाइमा केही कठिनाइ भने अवश्य पर्छ तर नेपाली भाषा सिकाइ विधिमै केही परिवर्तन ल्याउने हो भने यो अप्ठ्यारो हटाउन सकिन्छ । अंग्र्रेजी भाषामा हिज्जे याद गरेझैँ नेपाली भाषामा पनि हिज्जे याद गर्न केटाकेटीहरूलाई सुरुदेखि नै सिकाउनुपर्छ ।
नेपालीमा/ब/र/व/फरक वर्णहरू हुन् तर तत्सम शब्दहरू ‘वाक्य’ र ‘विचार’ मा भएका/व/वर्णको उच्चारण/ब/नै गरिन्छ तर लेखाइमा भने/व/वर्ण नै लेखिन्छ । तर, गैरनेपाली मातृभाषीलाई साधारण बोलीचालीमा प्रयोग हुने ‘वीर’, ‘व्यस्त’ जस्ता शब्दहरू तत्सम हुन् भन्ने पहिचान गर्न नै मुस्किल पर्छ । त्यसैले उनीहरूले यी शब्दहरूको सट्टामा ‘बिर’ र ‘व्यस्त’ लेख्त छन् ।
नेपाली भाषामा स्वर दीर्घता वर्णात्मक हुँदैन तर तत्सम शब्दहरूमा भने ह्रस्व र दीर्घको कारणले शब्दको अर्थमा परिवर्तन आउँछ । जस्तै ‘पारि’ र ‘पारी’ । अघिल्लो शब्दको अर्थ ‘उता, त्यतातिर’ हुन्छ भने पछिल्लो शब्दको अर्थ ‘धोती, सारीलाई टिकाउ बनाउन खास किसिमले बुनेको किनारा’ भन्ने हुन्छ । तर, नेपालीमा यी दुवैको उच्चारण एकै प्रकारले गरिन्छ । अतः संस्कृतका ज्ञान नभएका गैरनेपाली मातृभाषीका निम्ति उच्चारण सुनेकै आधारमा अर्थअनुसारको स्वर दीर्घता लेखाइमा उतार्नु निकै गाह्रो कुरो हो ।
सन् २०११ को जनगणना अनुसार नेपालमा भारोपेली परिवारका भाषा ८२.१० प्रतिशत, चिनियाँ-तिब्बती परिवारका भाषा १७.३१, अस्ट्रो-एसियन परिवारका भाषा ०.१९ प्रतिशत, द्रबिडियन परिवारका भाषा ०.१३ प्रतिशत र कुसुण्डा लगायत अन्य भाषा ०.२७ प्रतिशतले बोल्छन् । यी सबै भाषा परिवारहरूमध्ये भारोपेली भाषा परिवारको नेपाली भाषा सबैभन्दा ज्यादा वक्ताहरूले बोल्दछन् । यो भाषाको पहुँच हिमाल, पहाड र मधेस सबैतिर छ । मातृभाषाको प्रभावले गर्दा नेपाली भाषाको सिकाइमा केही कठिनाइ भने अवश्य पर्छ ।
तर, नेपाली भाषा सिकाइ विधिमा नै केही परिवर्तन ल्याउने हो भने यो अप्ठ्यारो हटाउन सकिन्छ । अंग्र्रेजी भाषामा हिज्जे याद गरे झैँ नेपाली भाषामा पनि हिज्जे याद गर्न केटाकेटीहरूलाई सुरुदेखि नै सिकाउनुपर्छ । एक दुई जनाको लहडबाजीमा स्थापित हिज्जे प्रणालीलाई परिवर्तवन गर्न हुँदैन । परिवर्तन गर्नाले हिज्जे प्रणालीमा अराजकता आउन सक्छ । यो अराजकताले भाषिक अराजकता निम्त्याउँछ जसले केवल अर्थहीन परिणाम मात्र भित्य्राउँछ ।
आजको आवश्यकता भनेको नेपाली भाषा हामी सबैको भाषा हो भन्ने कुरा सबै जाति-जनजाति, धर्मावलम्बी र विभिन्न भाषाहरूका वक्ताहरूमा जगाउनु नै हो । यस भाषाको माध्यमबाट मात्र चर्च र मन्दिर तथा गोरु पुज्ने र गोरु काट्ने जस्ताहरूका बीचका विवाद तथा भविष्यमा आउन सक्ने सबै प्रकारका विवादलाई वार्ताद्वारा समधान गर्न सकिन्छ । मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म छरिएर बसोबास गर्ने नेपालीहरूलाई एक सूत्रमा बाँध्ने माध्यम नै नेपाली भाषा हो । अतः यसको उन्नति र विकासमा सबै तह र तप्काबाट यथोचित योगदान पुग्न आवश्यक छ । (अंग्रेजी विषयका प्राध्यापक डा.तुम्बाहाङ कोशी प्रदेशका पूर्वप्रमुख हुनुहुन्छ ।)
gb.tumbahang@gmail.com
राम्राे लेख ।डा गाेविन्द तुम्बाहाङलाई हार्दिक धन्यवाद ।