
काठमाडौं । नेकपा (एमाले)ले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमालेले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार चयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका छोरा हुनुहुन्छ । नेम्वाङको भदौ २५ गते निधन भएको थियो । उहाँको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख नेम्वाङका कान्छा छोरा सुहाङ बुबाकै निर्वाचन क्षेत्रबाट राजनीतिमा ‘डेब्यु’ गर्नुभएको छ । सुहाङ अधिवक्ता पनि हुनुहुन्छ । यसअघि फुटबल क्लब र आफ्नै वकालती फर्म चलाइसक्नु भएका सुहाङले बुवा सुवासको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राख्नुभएको हो । ३५ वर्ष पनि नपुग्दै उहाँ बुबाले निरन्तर जितेको निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सुहाङमा बुवा सुवासजस्तै धेरै स्वभाव र रुचि मिल्छन् । शक्तिशाली बुबाको निर्वाचन क्षेत्रमा एमालेले ‘हेभिवेट’ नेताका रूपमा सुहाङलाई उठाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । ‘हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ । धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ ।’
यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम-२ का लागि सुहाङसँगै नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईको नाम पनि सिफारिस गरेको थियो । तर, सुहाङले एमालेका सचिवालयका सबैको मन जित्न सफल हुनुभयो । सिफारिस भएका अरूलाई पाखा लगाउँदै सुहाङ उम्मेदवार बन्न सफल हुनुभएको हो ।
आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभा र प्रदेश सभाका एक-एक क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । प्रतिनिधि सभाको इलाम-२ र प्रदेश सभाको बझाङ प्रदेश-१ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनलाई राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिष्ठाको विषय बनाएका छन् । फेरिएको सत्ता समीकरण, नयाँ राजनीतिक दल, पहिचानवादी मुद्दा र स्वतन्त्र उम्मेदवारको चर्चाले इलामको चुनाव रोचक हुने देखिएको छ ।
बुवाको विरासत जोगाउने चुनौती
इलाम-२ विगत झण्डै साढे दुई दशकदेखि एमालेले जितिरहेको क्षेत्र हो । इलाम २ मा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आउनुभएको थियो । २४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । २०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर जित्नुभएको थियो । बुवाको निधनपछि सोही क्षेत्रबाट छोरा सुहाङ उम्मेदवार बन्नुभएको छ । सुहाङको मुख्य चुनौती भनेको बुवा (सुवास)को विरासत जोगाउनु हो ।
समर्थन जनाउन रास्वपालाई अनुरोध गर्ने
एमालेले इलाम-२ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताउनुभयो । ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौँ,’ उहाँले भन्नुभयो । रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ ।
इलामका जनताको भावना जित्छु : सुहाङ
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले बताउनुभएको छ । पार्टीको निर्णयपछि सुहाङले भन्नुभयो, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय ग¥यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छु ।’ उहाँले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिंगो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि जिकिर गर्नुभयो । ‘म सिंगो इलामका जनताको भावना समेट्ने गरी अघि बढ्ने प्रयास गर्छु’, सुहाङले भन्नुभयो, ‘सबैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र समृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’
अन्य दलको टुंगिन बाँकी
अन्य दलहरूले भने उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, शान्तिकला तामाङ (राई) र चन्द्रमाया लिम्बूको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
यता, माओवादी केन्द्रले यसबारे कुनै निर्णय लिएको छैन । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १४ गतेसम्मका लागि उम्मेदवार हुन चाहनेहरूबाट आवेदन माग गरेको छ । पार्टी सदस्यहरूबाट प्रारम्भिक मतदान गराएर उम्मेदवार छान्ने नीति लिएको रास्वपाले चैत १७ गते उम्मेदवार सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनबारे सोमबार (आज) सम्ममा उम्मेदवार उठाउने ÷नउठाउने निर्णय लिने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने ÷नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ‘उम्मेदवारीको तयारी हुँदै छ । एकपटक सत्ता गठबन्धनसँग छलफल गरेर अन्तिम निर्णय गर्छौं’, खतिवडाले भन्नुभयो, ‘विभिन्न कोणबाट सूचना संकलन गर्दै छौँ र वस्तुनिष्ठ समीक्षापछि निर्णयमा पुग्छौँ ।’ इलाममा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि २० राजनीतिक दल आयोगमा दर्ता भएका छन् ।
बझाङ प्रदेश-१ मा भण्डारी उम्मेदवार
एमालेले बझाङ प्रदेश–१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरूको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव ज्ञवालीले बताउनुभयो । बझाङ–१ बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यसरी हुँदै छ उपनिर्वाचनको तयारी
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो ।
आयोगले मागेअनुसार मन्त्रालयले सो बराबरको रकम खर्च गर्न स्वीकृति प्रदान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले मागेको रकममध्ये झण्डै आठ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो । उपनिर्वाचनमा मतगणना कार्य मतदानस्थलबाटै गर्न खोजे पनि कानुनी जटिलताका कारण गर्न नसकिएको थपलियाले जानकारी दिनुभयो । आयोगले यतिबेला मतदाता नामावली अद्यावधिक गर्ने र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको उहाँले बताउनुभयो ।
उम्मेदवारीअनुसार मतपत्र
यो उपनिर्वाचनमा उम्मेदवारी परेअनुसार मात्र मतपत्रमा चुनाव चिहृन राखिने भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कति उम्मेदवारी परेको छ, त्यति मात्रै मतपत्रमा चिन्ह राखिने प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच