काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिन लामो चीन भ्रमणमा निस्किनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठ आफू निकै फुर्सदमा रहेको सन्देश दिनेगरी नौ दिनका लागि चीन जानुभएको हो । नयाँ समीकरणसँगै परराष्ट्रमन्त्री श्रेष्ठको यो पहिलो विदेश भ्रमण हो । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा उहाँ आइतबार चीन प्रस्थान गर्नुभएको थियो । सत्ता गठबन्धन परिवर्तनपछि भएको उहाँको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएका श्रेष्ठको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकट सम्बन्ध रहेका कारण पनि भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको हो ।
सत्तारूढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको उत्तरी छिमेकको यात्रालाई सद्भावना भ्रमण भनिए पनि त्यहाँका विभिन्न सहरमा हुने कूटनीतिक र राजनीतिक भेटवार्ता तथा धार्मिक यात्राले महत्व राख्नेछन् ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकानुसार मन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङ यीसँग आज (मंगलबार) भेटवार्ता गर्नुहुने छ । त्यसबाहेक महत्वपूर्ण भेटघाट देखिँंदैन । मानसरोवर घुम्नेदेखि पर्यटन प्रदर्शनीमा सहभागी हुनेसम्मको तालिका छ । एजेण्डा गोप्य राखिएकाले मन्त्री श्रेष्ठ चीन नउड्दै भ्रमणबारे कतिपयले संशय व्यक्त गरेका थिए । मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना पनि छैन ।
श्रेष्ठले बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआन प्रान्तमा चीन सरकारका उच्च अधिकारीदेखि चिनियाँ कम्युनिष्ट पार्टीका महत्वपूर्ण नेतासँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री श्रेष्ठले सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको चौथो वरीयताका नेता वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको छ । यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग पनि सोमबार नै उहाँले भेटवार्ता गर्नुभएको छ । हुनिङ नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनुहुन्छ । यो निकाय चीन सरकारको सल्लाहकार निकाय हो । वाङ चिनियाँ राष्ट्रपति सी जिनपिङका अत्यन्तै निकट मानिनुहुन्छ । मंगलबार साँझ उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र÷सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने कार्यक्रम छ ।
कूटनीतिक परिपक्वता देखाउन नसकेको विश्लेषण
उहाँले भ्रमणअघि परराष्ट्रविद्हरूसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा विज्ञहरूले विदेश मामिलामा बदलिँदो विश्व घटनालाई ख्याल गरेर नेपालको कूटनीतिक परिपक्वता देखाउन आग्रह गरेका थिए । तर, उहाँले भ्रमणका क्रममा श्रेष्ठले परिपक्वता देखाउन नसकेको कूटनीतिक विश्लेषण भइरहेको छ । नेकपा (एमाले)का विदेश मामिलाका उपप्रमुख विष्णु रिजालले पनि उहाँको भ्रमणको आलोचना गर्नुभएको छ । श्रेष्ठ लामो भ्रमणमा गएको भन्दै उहाँले टिप्पणी गर्नुभएको छ । ‘कति लामो भ्रमण हो ? कति फुर्सद हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा नौ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा नौ दिन नै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’ उहाँले भन्नुभएको छ ।
तीर्थाटनमा तीन दिन
परराष्ट्रमन्त्री श्रेष्ठले नौ दिने चीन यात्रामा तीन दिन त तीर्थाटनमै बिताउनुहुने भएको छ । चैत १६, १७ र १८ मा उहाँको यात्रा तीर्थाटन क्षेत्रमा हुनेछ । चैत १६ गते शुक्रबार उहाँ ल्हासा पुग्नुहुने छ । १७ गते कैलाश मानसरोवर जान उहाँ एकदिन अगाडि ल्हासा जानुहुने छ । १८ गते उहाँले तिब्बत छोड्नु हुनेछ । गत असोज ६ देखि १३ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआनको भ्रमण गरेका थिए । यही रुटमा उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण हुनेछ । मन्त्री श्रेष्ठ चैत १९ गते नेपाल फर्किने कार्यक्रम छ ।
बिआरआई छलफलमै सीमित हुने आशंका
उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमणमा उठाउनुपर्ने विषय र आम अपेक्षा धेरै छन् । औपचारिक भ्रमणमा ठूला परियोजनामा चीनको सहयोगका साथै चिनियाँ ऋणलाई अनुदानमा रूपान्तरण गर्नेलगायत विषय प्राथकिमतामा राख्नुपर्ने धेरैको अपेक्षा छ । उद्घाटन भएर पनि सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण अनुदानमा परिणत गर्न पहल गर्नुपर्ने विषयमा नेपालमा बहस भइरहेको छ ।
चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौता भएको वर्षौंसम्म कार्यान्वयन नभएको अवस्थामा परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण भएको छ । त्यसका साथै पारवहन सम्झौता कार्यान्वयन, नेपाल चीन व्यापार घाटा र सीमा सुरक्षाका विषय भ्रमणमा छलफका विषय हुनुपर्ने हो । वैशाखमा हुने लगानी सम्मेलनमा चिनियाँ पक्षको सहभागिता र ठूला आयोजनामा चिनियाँ लगानी भित्र्याउने विषय यस भ्रमणको महत्वपूर्ण पक्ष हुन् ।
चीनले सन् २०१३ मा संसारलाई जमिन र समुद्री मार्गबाट जोड्न ‘वान बेल्ट वान रोड’को महत्वाकांक्षी अवधारणा प्रस्तुत गरेको थियो । यही अवधारणालाई सन् २०१५ मा बिआरआई नामकरण गरियो । त्यसमा मूलतः सडकलगायत विभिन्न भौतिक पूर्वाधार निर्माणमा चिनियाँ लगानीको अवधारणा रहेको छ । यही परियोजनामा नेपालमा कार्यान्वयन गर्न सन् २०१७ मा दुवै देशबीच सहमति भएको थियो । सहमति भए पनि कार्यान्वयनमा भने दुवै मुलुकले विशेष चासो राखेको देखिएन । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिआरआई परियोजनाअन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनकै अनुरोधमा तिनलाई नौ मा सीमित गरिएको थियो तर कार्यान्वयनमा हस्ताक्षर भएको छैन ।
उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण पनि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन छलफलमा सीमित हुने देखिएको छ । परराष्ट्र स्रोतका अनुसार बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा गृहकार्य भएको छैन । यसपालि पनि छलफल मात्रै अघि बढाउने तयारी रहेको मन्त्रालय स्रोत बताउँछ ।
असोज पहिलो साता चीन भ्रमण गर्दा बिआरआई सम्झौतालाई अन्तिम टुंगो दिने छलफल भएको थियो । तर, थप गृहकार्य आवश्यक रहेको भन्दै सम्झौता गरिएन ।
नयाँ गठबन्धनसँगै चिनियाँ चासो
नयाँ गठबन्धन निर्माणसँगै चिनियाँ सक्रियता पनि बढेको छ । चीनले यसपटक नयाँ गठबन्धन बनेलगत्तै प्रतिक्रिया सार्वजनिक गरेको थियो । फागुन ५ मा चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नयाँ गठबन्धनसँग काम गर्न चीन इच्छुक रहेको प्रतिक्रिया दिनुभएको थियो । ‘हामी नयाँ सरकारसँग पञ्चशीलका सिद्धान्तलाई सुदृढ गर्न, परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन र चीन-नेपाल रणनीतिक सम्बन्धलाई अझ सुदृढ गर्नका लागि काम गर्न चाहन्छौँ,’ उहाँले भन्नुभएको थियो । त्यसको दुई दिनपछि नै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्नुभएको थियो । उहाँले श्रेष्ठलाई भेटेर बधाई दिँदै दुई पक्षका बीचमा दुईपक्षीय सम्बन्ध र सहकार्यको सम्बन्धमा गहन र मैत्रीपूर्ण कुराकानी भएको बताउनुभएको थियो । फागुन २८ देखि ३० मा चिनियाँ जनमुक्ति सेनाको एक उच्चस्तरीय टोलीले नेपालको भ्रमण गरेको थियो । यद्यपि, यो भ्रमण पहिले नै तय भएको थियो । यति मात्र होइन पछिल्लो एक महिनाकै अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री सुन हाई येनले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग ब्रिफिङ दिनुभएको थियो । उपमन्त्री येनले अघिल्लो महिना नेपालको भ्रमण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच