
रुसको राजधानी मस्कोमा तीन दिन पहिले भएको आतंकवादी आक्रमणको जुन शब्दमा निन्दा गरे पनि थोरै हुन्छ । आतंकवादको सीमा हुँदैन र आतंककारीहरूको कुनै देश हुँदैन । इस्लामिक संगठनका नाममा पश्चिम एसियाबाट सुरु भएको आइएसआइएसको आतंकवादी क्रूर कृत्यले मस्कोमा एक सयभन्दा बढी निर्दोष नागरिकको ज्यान गएको छ । छ महिना पहिले इजरायलको गाँजापट्टीमा भएको एक उत्सवमा जुन प्रकारले निहत्था नागरिकमाथि आक्रमण भयो र उनीहरूको हत्या भयो त्यही दृश्य मस्कोमा दोहोरिएको छ । गाँजापट्टीमा जम्मा भएका नागरिकहरूमाथि भएको वर्वर आक्रमणले यतिखेर पश्चिम एसिया तनावग्रस्त भइरहेको छ । इजरायलले आतंकको प्रतिरोध गर्ने क्रममा प्यालेस्टाइन नियन्त्रित गाँजापट्टीलाई निसाना बनाउँदा हजारौं मानिसहरूको ज्यान गइसकेको छ । हमासले पनि धर्मकै नाममा इजरायली भूमिमाथि, इजरायली नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो । उसले दुई सयभन्दा बढीलाई बन्दी बनाउने र एक हजार बढीको ज्यान लिएको प्रतिरोधमा अनेक निर्दोष प्यालेस्टिाइनहरू बत्तीमा पुतली परेको अवस्थामा देखिन्छन् । ठीक यही शैलीको आक्रमण मस्कोमा हुन पुगेको छ ।
यतिखेर महाशक्ति रुस ठूलो देश भएर पनि सानो देशको अस्मिातामाथि धावा बोलिरहेको छ । रुसभन्दा भौगोलिक, जनसांख्यिकी, औद्योगिक, आर्थिक र सामरिक सबै प्रकारले सानो देश युक्रेनविरुद्ध विगत दुई वर्षदेखि निरन्तर आक्रमण गरिरहेको छ । प्रत्येक दिनको आक्रमणबाट सानो देश युक्रेनको अवस्था गम्भीर र नाजुक भएका समाचारहरू आइरहेका छन् । पश्चिमी सहयोगका कारण केही हदसम्म टिक्ने क्षमता देखाएको छ युक्रेनले । तर, संसारको महाशक्ति राष्ट्रको आक्रमण सामु निरीह जनताले सामना गर्ने र टिक्ने भन्ने कठीन कुरा हो । तैपनि युक्रेनी जनता र राजनीतिक नेतृत्व रुसको सामना गरिरहेको छ । नेतृत्वको अहंकारजन्य युद्धको विभीषीका झेलिरहेका रुसका निर्दोष नागरिकमाथि कुन उद्देश्यकासाथ आक्रमण आतंककारी समूहले आक्रमण गरेको हो स्पष्ट छैन ।
आतंकको कुनै अनुहार हुँदैन । इराक, सिरिया, इजरायल अनेकतिर घुम्दै यतिखेर शक्तिशाली रुसको राजधानीसम्म पुगेको छ । यो दशकको आरम्भसँगै आइएसआइएस्को संगठन खडा भएको देखिएको हो । यो संगठन इराक र सिरियामा पहिले सक्रिय भए पनि यसले आफ्नो शक्ति विस्तार गर्न नपाउँदै धराशायी भएको थियो । तर, क्रमशः यो संगठनले अफ्रिकालाई आफ्नो केन्द्र बनाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । चेचेन्याको विद्रोहका अवशेषहरू पनि यसै संगठनमा आबद्ध हुन पुगेको संभावना मानिँदै छ ।
चेचेन्याको विद्रोह दबाउन रुसले करिब एकदशक भयानक हिंसाको सामना गरेको थियो । सन् १९९० पूर्वसोभियत संघको छातामा रहेका पन्ध्र गणराज्यहरू साम्यवादी सत्ताको पतनसँगै स्वतन्त्र भएका थिए । त्यहीक्रममा चेचनहरूले पनि स्वतनत्र राज्यको माग गर्दै आन्दोलन गरेका हुन् । तर, त्यो आन्दोलन पूर्ण असफल भयो र रुसले आफ्नो पकड कायम गरेको हो ।
कतै इस्लामहरूको त्यो अपूरो सपनाको प्रत्युत्तर हो कि भन्ने आशंका पनि छ । तर, यो विषयलाई रुसले युक्रेनविरुद्ध लक्षित गरेको छ । वर्तमान राष्ट्रपति पुटिनले एकघोडे दौड जस्तो देखिने निर्वाचनमार्फत पुनः राष्ट्रपति भएको पाँचौं दिनमा मस्कोस्थित ककस सिटी हलमा निर्दोष नागरिकमाथि क्रूर, अमानवीय आक्रमणले पुटिनको व्यक्तित्व, उहाँको अहंकार र रणनीतिलाई ठाडो चुनौती दिएको छ । तर, जुन प्रयोजनकासाथ जसले आक्रमण गरेको भए पनि यो निश्चय निकृष्ट, आततायी र अमानवीय हो भन्नेमा दुईमत हुनसक्दैन । मस्कोमा भएको आक्रमणको हामी घोर निन्दा गर्दछौं ।
यही निहूँमा मस्कोले जसरी सानो राष्ट्र युक्रेनविरुद्ध जुनरुपमा थप आक्रमण सुरु गरेको छ त्यो न्यायसंगत हुनसक्दैन । जसरी इजरायलले हमासविरुद्ध कारबाहीका नाममा निर्दोष प्यालेष्टाइनहरूमाथि वर्वर आक्रमण गरिरहेको छ । हमासविरुद्धको कारबाहीलाई रोक्ने सबै अन्तर्राष्ट्रिय प्रयासहरू विफल भएका छन् । सानो देश इजरायलले आतंकवादलाई निमिट्यान्न पार्ने उद्घोष गरेको भए पनि न्यायसंगत छैन । उसले हमासका लडाकुलाई, उसको सैन्य संगठलाई वा इजरायलविरुद्ध निरन्तर चुनौती जस्तो भएको हिज्वुल्लाह समूहका ठेगाना लक्षित आक्रमण सायद इजरायली पक्षका लागि जायज ठहरिएलान् । तर, सर्वसाधारण नागरिकमाथिको आक्रमण कुनै पनि शब्दमा जायज होइन । यसैगरी पछिल्लो घटनाका निहूँमा रुसले आतंककारी समूहको वर्वरताविरुद्ध युक्रेनलाई तवाह पार्ने योजना बनाउन लागेकाप्रति सबैको समान चिन्ता र चासो हुनुपर्ने स्पष्ट छ । मस्कोमा भएको आतंकवादी आक्रमणको सर्वत्र निन्दा भएको छ । कुनै पनि सभ्य राष्ट्र, सभ्य नागरिक कसैले पनि आतंकवादको समर्थन गर्नसक्दैन ।
दक्षिण एसिया खास गरी भारत र पाकिस्तान आतंकवादी आक्रमणमा धेरै पटक परिसकेका छन् । भारतलाई निरन्तर निसाना बनाउने र आतंकवादी समूहलाई सहयोग गर्दैछ भन्ने आरोप खेपिरहेको पाकिस्तानसमेत आफ्नै घरमा आतंकवादको कहर भोगिरहेको देखिन्छ । इरान, इराक र अफगानिस्तान यतिखेर बढीभन्दा बढी आतंकवादीहरूको निसानामा परेका छन् । आतंकवादको कुनै धर्म हुँदैन । यो धर्मविहीन जत्थाले ठीक यसका विपरीत इस्लाम धर्मको आवरणमा संगठन गरिरहेको छ । के इस्लाम धर्ममा निहत्था मानिसलाई अन्धाधुन्ध गोली, वम, वारुद वा मिसाइलको निसाना बनाउन अनुमति प्राप्त छ ? संसारमा यतिखेर देखिएका सबै आतंकवादी संगठनहरू कुनै न कुनै रूपमा इस्लाम धर्मको आवरणमा छन् ।
इस्लाम धर्मले मानवताको पक्षपोषण गर्नुपर्ने हो कसरी यस्ता संगठनका आधार निर्माण भइरहेको छ ? गंभीरतापूर्वक विचार गर्नुपर्ने भएको छ । इसाईपछिको जनसंख्या इस्लामहरूको रहेको छ । बन्ध्याकरण नगर्ने, धेरै सन्तान पाउने, र खाडीको अत्यधिक पेट्रो डलरको वैभवले विशाल आकार लिएको समुदायले धर्मका नाममा, राज्यका नाममा यसरी आतंकवादको सहारा लिन लाग्यो भने संसारको अवस्था के हुन्छ ? हमास, हिज्वुल्लाह, अलकायदा, आइएस्आइएस् जस्ता अनेक संगठनहरू इस्लाम धर्मकै नाममा छन् । क्षेत्रीय र स्थानीय तहका अनेक साना ठूला संगठनहरू बनेका छन् । धर्मका आडमा नभए पनि नेपालले राजनीतिकवादका आवरणमा भयानक आतंकवाद भोगिसकेको छ । कस्तो हुन्छ आतंकवाद भन्ने कुरा नेपालीलाई थाहा छ । मस्कोमा यतिखेर धर्मका आडमा बनेको संगठनले जुन रूपमा निर्दोष नागरिकको हत्या ग¥यो सम्पूर्ण नेपालीहरू त्यसको विरुद्ध छन्, रुसी जनताप्रति सहानुभूति प्रकट गर्दछन् र यस्ता घटना नदोहोरिउन् भन्नेमा दृढ छन् । आतंकवाद मूर्दावाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच