काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । सोमबार साँझ बसेको बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले राखेको विश्वासको मत प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका हुन् । उहाँलाई सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन आवश्यक थियो । सोमबारको प्रदेश सभामा १०८ जना सदस्य उपस्थित थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ बसेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एकजना सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेका थिए भने राप्रपा तटस्थ बसेको थियो । पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले सोमबार फेरि विश्वासको मत लिनुभएको हो ।
गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । २०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिनुभएको हो । यसअघि उहाँले पहिलोपटक २०७९ माघ ३ गते र दोस्रोपटक २०७९ चैत १० गते विश्वासको मत लिनुभएको थियो ।
सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । बागमती प्रदेशमा पनि आलोपालाको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने भएका छन् । हाल बागमतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र बागमतीको नेतृत्व दिने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । ‘सुदूरपश्चिममा तत्काल र बागमतीमा दोस्रो चरणमा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति सात, एकीकृत समाजवादी चार र राप्रपा र स्वतन्त्र एक, एक सांसद छन् । यसअघि सत्ता गठबन्धनले सुदूरमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने तयारी गरेको थियो । उन्मुक्तिमा चरम विवाद भएका कारण बहुमत पु¥याउने दाबीसहित एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय भएको एक नेताले बताउनुभयो । गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुर्याउने कसरत भएको छ । हाल कांग्रेसका कमलबहादुर शाहले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच