
काठमाडौं । गरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठकमा विवाद भएको छ । नाउपाको केन्द्रीय समिति बैठक काठमाडौंको अनामनगरस्थित कार्यालयमा बसेको थियो । उक्त बैठकमा संस्थापक केन्द्रीय सदस्य तथा टीकापुरका मेयर रामलाल डगौरा थारू र केन्द्रीय सदस्य रमेश विकमाथि धकेलाधकेल भएको हो । नाउपाका संरक्षक रेशम चौधरीनिकट व्यक्तिहरूबाट आफूहरूमाथि हातपातको प्रयास भएको उनीहरूले बताएका छन् । हातपात प्रयास भएका दुवैजना संस्थापक अध्यक्ष रञ्जिता चौधरीनिकट हुनुहुन्छ ।
‘पार्टीभित्र केही मतभेद छ, हाम्रो पहिलो महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएन । पुरानै कमिटीलाई ब्युँताइदियो,’ उहाँले भन्नुभयोे, ‘हामीले महाधिवेशनबाट निर्वाचित कमिटीलाई वैधता दिन निर्वाचन आयोगलाई अपिल गर्ने निर्णय गरिसकेका छौँ, यसैक्रममा विवाद भएको हो ।’ उहाँले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भइसकेको बताउनुभयो । ‘त्यसबारे पनि पार्टीको एक मतको धारणा आउँछ । हामीले नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरिसकेका छौँ,’ उहाँले भन्नुभयो । संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर कार्कीले सुदूरपश्चिम सरकारलाई समर्थन दिएकै विषयमा पार्टीभित्र एकमत कायम हुन नसक्दा विवाद सिर्जना भएको बताउनुभयो । ‘नेताहरूको व्यक्तिगत झगडामा पर्दिनँ भनेर म काठमाडौं गइनँ । आज बैठक भनेर मलाई पनि पत्राचार भएको थियो,’ उहाँले भन्नुभयोे, ‘यसरी पार्टी चल्दैन । पार्टी चलाउने विधि पनि यो होइन, नयाँ शिराबाट सोच्नुपर्छ ।’
उहाँले आफू श्रीमान्-श्रीमतीको झगडामा पर्न नचाहेको बताउनुभयो । संघमा नेकपा (एमाले), माओवादी केन्द्र सहितको गठबन्धनलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा छ । त्यहाँका सातमध्ये पाँचजना सांसद मन्त्री छन् । एकजना नयाँ गठबन्धन बन्नुभन्दा अघि नै मन्त्री बनेका हुन् भने चारजना पछि थपिएका हुन् । नाउपा संस्थापक अध्यक्ष चौधरीले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन त्यहाँको संसदीय दललाई निर्देशन दिइसक्नु भएको छ । पार्टीका संरक्षक रेशम चौधरीले भने सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आउनुभएको छ ।
हत्याको धम्की दिइयो : विश्वकर्मा
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताउनुभएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उहाँले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुनसक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गर्नुभएको हो । नाउपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गर्नुभयो । रेशम चौधरी भने आइसक्नु भएको थियो । विवादको सुरुवात कुन गठबन्धनमा जाने ? भन्नेबाट सुरु भएको थियो । पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो । साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ ? भनेर प्रश्न उठेको थियो । आइतबार रेशम चौधरीले पार्टी कार्यालयमै विश्वकर्मासहित चार जनालाई भेट्नुभएको थियो । उक्त भेटमा रेशमले आफूहरूलाई हत्या गर्नेसम्मको धम्की दिएको पनि विश्वकर्माले बताउनुभयो । ‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौँ । हामी चारजना थियौँ, उहाँले सिधै भनिदिनुभयो– यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ । हिजो यस्तो भन्नुभएको थियो आज ममाथि आक्रमण भयो । असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उहाँले भन्नुभयो । ‘लोकतान्त्रिक पार्टीभित्र विचार नै राख्न नपाउने हो त ? तपाईंले पिट्ने हामीलाई ?,’ विश्वकर्माको प्रश्न थियो, ‘हिजो हत्या गर्छौं भन्नुभयो पनि भनिसकेपछि उहाँ (रेशम चौधरी) ले माफी मागेको हो । मैले आवेशमा बोलेँ भन्दै माफी माग्नुभएको हो ।’
कुटपिट प्रकरणबारे रेशमको प्रतिक्रिया-असुरक्षित त हामी छौँ
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले सरकारमा जाने कि नजाने ? विषयमा पार्टीमा विवाद भएको बताउनुभएको छ । सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको उहाँको दाबी छ । यसअघि केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गर्नुभएको थियो । ‘यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,’ उहाँले भन्नुभयो । चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने/नजाने विषयमा विवाद भएको स्वीकार गर्नुभयो । ‘केन्द्रीय कमिटी बैठक थियो, सरकारमा जाने/नजाने सम्बन्धमा वादविवाद भएको हो । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आफ्नो हैसियत खोज्नुभएकै हो । त्यसक्रममा विवाद भएकै हो,’ उहाँले भन्नुभयो । केन्द्रीय सदस्य विश्वकर्माले चौधरीबाट आफूलाई ज्यान मार्ने धम्की आएको आरोप लगाउनुभएको थियो । तर, चौधरीले आफूहरू चाहिँ असुरक्षित भएको बताउनुभयो । ‘असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,’ उहाँले भन्नुभयो । त्यस्तै, नेत्री दुर्गा पन्तले भने महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय सदस्यलाई वैधानिक नभएको बताएकाले विवाद भएको बताउनुभयो । उहाँले अर्को समूहले ‘सुटर’ ल्याउने भन्दै धम्की दिएको समेत बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच