
काठमाडौं । गत फागुन २१ गते बनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको नयाँ समीकरण दुर्घटना उन्मुख हुन थालेको छ । नेपाली कांग्रेससँगको सहयात्रा तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसँग गठबन्धन गर्न पुग्नुभएको थियो । सुरुमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) मिलेर नयाँ समीकरण बनाएका थिए । नेकपा एकीकृत समाजवादीलाई एमाले-माओवादी गठबन्धनले बेवास्ता गरेका थिए । अर्थात् नयाँ समीकरण निर्माणको लागि एकीकृत समाजवादीसँग कुनै सरसल्लाह नै गर्न आवश्यक ठानिएन । तर, गठबन्धन टुटेसँगै प्रतिपक्षमा धकेलिएको नेपाली कांग्रेसले एमाले-माओवादी गठबन्धनविरुद्ध काउण्टर गठबन्धन निर्माणको लागि नेकपा एकीकृत समाजवादीसँग औपचारिक छलफल सुरु गरेपछि बाध्य भएर नेकपा एमालेका अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समाजवादीलाई समेट्न पुग्नुभएको थियो । नेकपा एकीकृत समाजवादी पनि सशर्त नयाँ गठबन्धनमा सहभागी भयो । तर, गठबन्धन बनेको दुई महिना नपुग्दै सत्ता साझेदार दलहरू बीचको विश्वासको संकट गहिरिँदै गएको छ ।
गठबन्धन बनेदेखि नै वर्तमान राजनीतिक समीकरण परिवर्तन गर्ने प्रयास सुरु भएको थियो । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनपछि त सत्ता समीकरण परिवर्तनका लागि भइरहेको प्रयासले थप तीव्रता पाएको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्न सक्ने बहस सुरु भएपछि त्यसको काउण्टरमा पुरानै गठबन्धन ब्युँताउनेदेखि एमाले-माओवादी बेगरको वैकल्पिक गठबन्धन बनाउने सम्मका विकल्पका प्रयासले तीव्रता पाएको छ । कांग्रेस-एमाले मिल्दा भूमिकाविहीन हुने र पार्टी थप कमजोर हुने भयमा रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुरानै गठबन्धन (कांग्रेस-माओवादी) ब्युँताउन लागिपर्नु भएको छ । यस बीचमा अध्यक्ष नेपालले नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेको स्रोतको दाबी छ । कांग्रेससहित अन्य राजनीतिक दलका नेताहरूसँग छलफलको लागि अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई परिचालन गर्नुभएको छ ।
नेपालको निर्देशनअनुसार उपाध्यक्ष पाण्डेले छलफललाई तीव्रता दिनुभएको छ । अर्कोतिर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि नियमित संवादमा रहनुभएको स्रोतको भनाइ छ । नयाँ समीकरण परिवर्तनको लागि विभिन्न विकल्पमा प्रयास अगाडि बढिरहेको बेला सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच भने सार्वजनिक रूपमै आरोप प्रत्यारोपको शृंखला चल्न थालेको छ । मुख्यगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एक–अर्काप्रति कटू आलोचनाको सिलसिला नै चलेको छ ।
माधव नेपालप्रति ओलीको कटाक्ष ‘प्रधानमन्त्री खान नपाएर दमको बिरामीजस्तो हर्याक-हर्याक गर्दै छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित कडा टिप्पणी गर्नुभएको छ । नेकपा एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री खान नपाएर माधव नेपालले हर्याक-हर्याक गरिरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘हामी अहिले एउटा अभियानमा छौँ, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हर्याक-हर्याक गर्दै छन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर । मैले भनेँ- म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो ।’
पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्दा आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने सर्त राख्नुभएको थियो । गत सोमबार पार्टीनिकट अनेमसंघको शुभकामना कार्यक्रमलाई सम्बोधन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भन्नुभएको थियो, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ ।’
प्रतिपक्षको काम समीकरण भत्काउने परम्परा नै भइसक्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षमा जानेबित्तिकै सत्ता समीकरण भत्काउनका लागि विभिन्न चलखेल गर्ने परम्परा बसेको टिप्पणी गर्नुभएको छ । माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष कांग्रेसले सत्ता समीकरण भत्काउने परम्परालाई निरन्तरता दिए पनि सफल नहुने जिकिर गर्दै भन्नुभयो, ‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तर, तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन ।’ प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूभित्र देखिएका अन्तरविरोध भने गम्भीर प्रकारका रहेको स्वीकार गर्दै भन्नुभयो, ‘सत्तापक्ष र प्रतिपक्षका कतिपय पार्टीहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर प्रकारका देखिन्छन् ।’
वर्तमान सरकारको आयु लामो छैन : डा. महत
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गर्नुभएको छ । शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा प्रवक्ता महतले वर्तमान सरकारको आयु चाँडै टुंगिने दाबी गर्नुभएको हो । पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गर्दै डा.महतले भन्नुभयो, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ । र, चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ नेपालको राजनीति कांग्रेसको कारणले अन्योलग्रस्त नभएको जिकिर गर्नुभएका महतले अस्थिरता निम्त्याउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । कांग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताइरहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’
नयाँ समीकरणले पनि देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन : पोखरेल
सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ समीकरणले अहिले नै देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरूलाई नभएको बताउनुभएको छ । एमाले प्युठान काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधनका क्रममा महासचिव पोखरेलले देशको ओरालो यात्रा रोक्न एमाले गठबन्धन भत्काएको जिकिर गर्दै भन्नुभयो, ‘नेपाली समाजमा चरम अराजकताको अवस्था छ, अर्कोतिर नेपालको आर्थिक अवस्था दयनीय अवस्थामा गुज्रिरहेको छ । यही अवस्था लामो समयसम्म गयो भने सम्हाल्न नसक्ने अवस्थामा पुग्छ भन्ने मान्यताको आधारमा मिसन ०८४ भनेर पर्खिएर बस्न हुँदैन, सार्थक हस्तक्षेप गर्नुपर्छ । अहिले हाम्रो सहभागितामा नयाँ समीकरण निर्माण गर्न सफल भएका छौँ । र, यो नयाँ समीकरणले अहिले नै देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन । हाम्रो विश्वास भनेको मुलुकको ओरालो यात्रालाई रोक्न सकिन्छ भनेर सरकार सहभागी भएका छौँ ।’
विश्वासको मतका लागि आहृवान भएको बैठक फेरि स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आहृवान भएको बैठक पनि स्थगित भएको छ । नेकपा एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आहृवान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो । शनिबार पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेशसभा सचिवालयका अनुसार अर्को सूचना नभए सम्मका लागि बैठक स्थगित गरिएको छ । आफूहरूसँग सल्लाह नै नगरी बैठक आहृवान गरिएकाले विश्वासको मत दिने अवस्था नभएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको भनाइ छ । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच