
काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा शुक्रबार प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नयाँपुस्तालाई कलामार्फत जोड्ने कामले समाजमा सकारात्मक परिणाम दिने विचार व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरअन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम÷कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासनुरूप यो कार्यक्रम गरिएको जिकिर गर्दै समाजमा सचेत र सकारात्मक विचार प्रवाह गर्न कलाको भूमिका विशिष्ट रहने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले कलाक्षेत्रमा मात्रै नभई रोजगारी र अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरी परिणाम दिएको धारणा व्यक्त गर्नुभयो । थुम्केलीले महानगरका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरुमा गाह्रो देखिए तापनि त्यसको नतिजा देख्दा खुशी लागेको बताउनुभयो । काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य इ.शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला राखिएको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन विद्यार्थी, प्रशिक्षक, सहप्रशिक्षक र विद्यालय परिवारलगायत सबैको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समाज रूपान्तरणमा कलाको भूमिका जहिले पनि विशिष्ट रहँदै आएको जनाए । उनले महानगरले लिएको योजनाले राम्रो परिणाम दिन सफल भएको बताउनुभयो ।
वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्नराज्य मा.वि, ज्ञानोदय मा.वि, तरुण मा.वि, गीतामाता मा.वि, कन्या मन्दिर मा.वि, शहीद शुक्र मा.वि, पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.विका विद्यार्थीले सिर्जना गरेका कलाकृति राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच