
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता गठबन्धनविरुद्ध आक्रामक रणनीति लिने भएको छ । सहमतिको नजिक पुगेको भनिएको संसदीय छानविन समिति गठन नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको नाराबाजीका बावजुद संसद्बाट विश्वासको मत लिएपछि कांग्रेस सरकारविरुद्ध ‘सडक र सदन’ दुवै ठाउँबाट प्रतिवाद गर्ने दिशामा अग्रसर भएको छ ।
कांग्रेसले सोमबार पटक-पटक संसदीय दलको बैठक राखेर सत्ता गठबन्धनको समीक्षा गरेको छ । सोमबार नै कांग्रेसले विपक्षी दलहरूसँग पनि छलफल गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारका लागि पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आहृवान गर्नुभएको छ । बैठकले विपक्षी दलहरूबीच सहकार्य कायम गर्ने, सत्ता गठबन्धनका गतिविधिको प्रतिवाद गर्ने लगायतका विषयमा निर्णय लिने बताइएको छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्रीले संसदीय मर्यादा र परम्पराविपरीत प्रतिपक्षलाई घेराबन्दीमा राखेर विश्वासको मत लिनु खेदजनक रहेको बताउनुभयो । ‘सत्ता गठबन्धनका दलहरू आफूले गरेका अनियमितता ढाकछोप गर्ने मात्रै होइन संविधानलाई नै असफल बनाउने डिजाइनअनुसार अगाडि बढ्नुभएको पायौँ । प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोलेका कुरा आपत्तिजनक र असंसदीयसमेत छन्’, महतले भन्नुभयो । उहाँले कांग्रेसले दलभित्र पर्याप्त छलफल गर्ने र आवश्यक परे विपक्षी दलहरूको साझा मोर्चा बनाएर भए पनि सरकारका गतिविधिलाई भण्डाफोर गर्ने बताउनुभयो ।
कांग्रेस संसदीय दलले सहकारी ठगहरूलाई जोगाउन सरकारले संसद्मा संसदीय मर्यादाविपरीत बलमिच्याइँ गरेको ठहर कांग्रेसले गरेको छ ।
प्रधानमन्त्रीले मूल्य चुकाउनुपर्छ : लेखक
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेससँग सोमबार संसद्मा भएको व्यवहारको मूल्य प्रधानमन्त्री र सत्ता गठबन्धनले छिट्टै चुकाउने बताउनुभएको छ । संसदीय दल बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याउने पार्टी कांग्रेस नै भएको स्मरण गराउँदै इतिहास बिर्सेको मूल्य छिट्टै चुकाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधनकै क्रममा कांग्रेसले भोलिका दिनमा मूल्य चुकाउनुपर्ने बताउनुभएको थियो । ‘नेपाली कांग्रेसका विरुद्धमा गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने काम बन्द गर्नुहोस् । कांग्रेस तपाईंको धम्कीबाट तर्संदैन । तपाईं र तपाईंको पार्टीलाई जंगलबाट ल्याएर संसद्मा छिराउने पार्टी कांग्रेस हो भन्ने नबिर्सनुस्’, लेखकले भन्नुभयो ।
सभामुख दलको कार्यकर्ता
कांग्रेसले सभामुख देवराज घिमिरेले नेकपा एमालेको कार्यकर्तासरह भूमिका निर्वाह गरेको आरोप लगाएको छ । संसदीय दलको बैठकले नै सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको आरोप लगाएको हो । ‘सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इसारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्दछ । तसर्थ कांग्रेस संसदीय दलको बैठक सभामुखलाई संसदीय मूल्य, मान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीर रूपले ध्यानाकर्षण गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गृहमन्त्रीलाई कारबाही गर्न पत्र
कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङले अदालतको मानहानि एवं असंसदीय अभिव्यक्तिका लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानलाई कारबाही गर्न माग गर्नुभएको छ । सभामुखलाई पत्र लेख्दै उपसभापति गुरुङले प्रतिनिधिसभा नियमावली २ सय १९ मा उल्लेख सांसदले पालना गर्नुपर्ने आचरणविपरीत लामिछानेले व्यवहार गरेकोले संसद्को अवहेलनामा कारबाही गर्न माग गर्नुभएको हो । उपप्रधानमन्त्री लामिछानेले आइतबार संसद्मा बोल्ने क्रममा गुरुङप्रति लक्षित गर्दै रातो पासपोर्ट प्रकरणको प्रसंग उठाउनुभएको थियो । रातो पासपोर्टबारे सर्वोच्च अदालतबाट २०६४ मा भएको फैसला पत्रमा संलग्न गर्दै उपसभापति गुरुङले लामिछानेको अभिव्यक्तिले आफ्नो व्यक्तिगत तथा संसद् र अदालत दुवैको मानहानि भएको दाबी गर्नुभएको छ ।
विपक्षी मोर्चाको तयारी
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने विषयमा कांग्रेसको मागलाई विपक्षमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले यसअघि नै समर्थन जनाइसकेका छन् । ती दलका सांसदहरूले सोमबारको संसद् बैठकमा आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । कांग्रेसले तत्कालिक एजेण्डा मिलेका दलहरूसँग लामो समयसम्म सहकार्य हुनसक्ने संकेत गरेको छ । विपक्षी दलहरूसँग नियमित बैठक गरिरहेको कांग्रेसले विपक्षी दलहरूको लोकतान्त्रिक मोर्चा बनाउनेबारे बुधबारको बैठकबाट निर्णय लिनेछ । ‘सत्ता गठबन्धनको रवैयाविरुद्ध संसद्मा रहेका विपक्षी दलहरूबीच सहकार्य जरुरी छ । त्यसका लागि विपक्षी दलहरूको गठबन्धन बन्ने सम्भावनाको ढोका खुला छ’, कांग्रेसका एक पदाधिकारीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच