
काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षितरूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सेवा सुरु गरेको हो ।
कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिनुभयो । तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको छ । कम्पनीद्वारा आयोजित कर्पोरेट मिट कार्यक्रममा उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी क्षमताको वेयर हाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौँ, पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५/१५ हजार मेट्रिक टन क्षमताका छन् ।’ कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमासलगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्नेछन् । वेयर हाउसमा भण्डारण गरिएको खाद्यान्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यस्तो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ ।
भण्डारणस्थल अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिने गरेकोमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको महाप्रबन्धक सत्यालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘वेयर हाउसमा सुरक्षित भण्डारण गरेको अनाज पछि राम्रो मूल्य पाएको बेला जहिलेसुकै बिक्री गर्न सकिन्छ । यसबाट आफ्नै भण्डारण पूर्वाधार नभएका किसान धेरै लाभान्वित हुनेछन् । कम्पनीले बिक्रीका लागि आएको खाद्यान्न लिलाम बढाबढ सेवा पनि उपलब्ध गराउनेछ । यसबाट पनि कृषक नै लाभान्वित हुनेछन् ।’
कम्पनीले उच्च प्रविधिबाट कृषि वस्तुको प्रशोधन, भण्डारण गरिएका उत्पादन धितोमा वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था, कृषकका लागि बिउ, मल, औषधि, उपकरण उपलब्ध गराउने लगायत सेवा दिने सत्यालले बताउनुभयो ।
कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताउनुभयो । सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजी क्षेत्रले तयार पारेका भण्डारण गृहको उपयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने उहाँको दाबी थियो । पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म खाद्यान्न खेर जाने भन्दै अग्रवालले त्यसरी खेर जाने अनाज जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच